मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पशुचौपायामा भ्यागुते रोगको जोखिम, सतर्कता अपनाउन किसानलाई सुझाव

आइतबार, १६ असार २०८१, १४ : ०१
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्न सक्ने अनुमान गरेको छ । यो सातामा देशभर नै पानी पर्ने सम्भावना रहेकाले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्ने परिषद्ले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत जनाएको हो । 

सो रोगबाट पशुवस्तुलाई जोगाउन प्राविधिकको सल्लाह अनुसार सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधी प्रयोग गर्न आग्रह गरिएको छ । 

साताभरलाई कृषिमौसम सल्लाह बुलेटिन यस्तो छ 

  • साताभरि नै देशैभर मनसुन सक्रिय रहने सम्भावना रहेकोले भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्नुहोस् ।
  • वर्षे धानवालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउ उपचार गरी ब्याड राख्नुहोस् ।
  • मनसुनको समयमा बालीहरुमा विषादीको प्रयोग सकेसम्म नगर्नुहोस् । अति आवश्यक परेमा पानी नपरेको समयमा स्टिकर मिसाएर मात्र छर्कनुहोस् । 
  •  आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग शुरु गर्नुहोस् ।
  • स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफूलहरूको नर्सरीको नियमित अनुगमन गरी सकरहरूलाई समयमा नै हटाउनुहोस् ।
  • स्याउको बोटमा लाग्ने टेन्ट क्याटरपिलर कीराको लागि अनुकूल मौसम भएकोले यसको व्यवस्थापनको लागि टेन्ट समेतको हाँगालाई काटेर जलाउनुहोस्। कीराको प्रकोप बढी भएमा क्लोरानट्रानिलिप्रोल १८.५ % एस.सी. वा स्पिनोसाड ४५४ एस. सी. १ एम. एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्।
  • खुर्सानीको बोट ओइलाउने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी (जस्तैः ब्लाईटोक्स, ५०%, धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई १०–१२ दिनको फरकमा २–३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस् ।
  • आगामी केही दिन गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।
  • मौसम सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौबिसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर – ११५५ मा फोन गर्नुहोस् ।
  • कृषि र पशु सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप