मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको नकआउट चरण

बलियो इंग्ल्यान्ड र गौरवशाली इतिहास बोकेको स्लोभाकियाबिच भिडन्त

आइतबार, १६ असार २०८१, १५ : २५
आइतबार, १६ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा आइतबार स्लोभाकियाले बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई चुनौती दिँदैछ । युरोकपको १७औँ संस्करण अन्तर्गतको उक्त खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

यो खेलबाट युरोकपको क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोलीको टुङ्गो लाग्नेछ । स्विट्जरल्यान्ड र आयोजक  जर्मनी क्वार्टरफाइनलमा पुगिसकेका छन् । स्विट्जरल्यान्ड उपाधिको बलियो दाबेदार मानिएको साबिक विजेता इटालीलाई र जर्मनी डेनमार्कलाई समान २–० गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन् । इंग्ल्यान्ड र स्लोभाकियाले फरक तरिकाले समूहगत चरण पार गरेका थिए । इंग्ल्यान्ड आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्लोभाकिया भने तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो । 

यस आधारमा जारी युरोकपमा स्लोभाकियाभन्दा इंग्ल्यान्ड बलियो देखिन्छ । इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि हो । जारी युरोकपको प्रारम्भिक चरणमा इंग्ल्यान्ड समूह ‘सी’ मा थियो । इंग्ल्यान्डले आफूले खेलेका तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नजिता निकाल्यो ।

इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डको टोली डेनमार्कसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा स्लोभानियाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । 

england-euro-2024-team-photo

स्लोभाकिया भने समूह ‘ई’ मा परेको थियो । त्यो समूहबाट चार अङ्कसहित रोमानिया पहिलो र समान अङ्क जोडेको बेल्जियम दोस्रो हुँदै नकआउट चरणमा पुगेका थिए । चार अङ्कसहित स्लोभाकिया तेस्रो र समान अङ्क बटुलेको युक्रेन चौथो स्थानमा थिए । 

इंग्ल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । इंग्ल्यान्डले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन । रमाइलो पक्ष के हो भने, स्लोभाकिया (चेकोस्लोभाकिया) ले सन् १९६० मा सम्पन्न युरोकपको पहिलो संस्करणमै भाग लिएको थियो । स्लोभाकिया (चेकोस्लोभाकिया) ले सन् १९७६ मा युरोकपको उपाधि पनि जितिसकेको छ ।

तर, तेस्रो हुने उत्कृष्ट चारवटा टोलीभित्र पर्दै स्लोभाकिया नकआउट चरणमा पुग्न सफल भयो । स्लोभाकियाले एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो । स्लोभाकियाले बलियो बेल्जियमलाई १–० गोलले हराएको थियो । 

दोस्रो खेलमा स्लोभाकियाको टोली युक्रेनसँग १–२ गोलले पराजित भएको थियो । तेस्रो खेलमा स्लोभाकिया र रोमानियाले १–१ गोलको बराबरी खेलेका थिए । विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पनि स्लोभाकियाभन्दा इंग्ल्यान्ड निकै अगाडि छ । वरीयतामा इंग्ल्यान्ड पाँचौँ र स्लोभाकिया ४५औँ स्थानमा छन् । 

2024-06-08T074906Z_2012246551_RC2I63A0DCI3_RTRMADP_3_SOCCER-EURO

युरोकप फुटबलमा इंग्ल्यान्डको यो ११औँ सहभागिता हो । इंग्ल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । पहिलो सहभागितामा इंग्ल्यान्ड तेस्रो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि पनि भिडन्त गराइन्थ्यो । तेस्रो स्थानमा लागि भएको खेलमा इंग्ल्यान्डले तत्कालीन सोभियत संघलाई २–० गोलले हराएको थियो । 

इंग्ल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । इंग्ल्यान्ड सन् २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । स्लोभाकियाको भने युरोकपमा यो छैटौँ सहभागिता हो । 

रमाइलो पक्ष के हो भने, स्लोभाकिया (चेकोस्लोभाकिया) ले सन् १९६० मा सम्पन्न युरोकपको पहिलो संस्करणमै भाग लिएको थियो । स्लोभाकियाले एकपटक युरोकपको उपाधि पनि चुमिसकेको छ । स्लोभाकियाले सन् १९७६ मा युरोकप जितेको थियो ।

त्यतिबेला फाइनलमा स्लोभाकिया (चेकोस्लोभाकिया) ले तत्कालीन पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो । यसदेखि वाहेक स्लोभाकिया (चेकोस्लोभाकिया) सन् १९६० र सन् १९८० मा तेस्रो पनि भएको थियो । सन् १९८० पछि नै युरोकपमा तेस्रो स्थानका लागि भिडन्त गराउन छाडिएको हो । यो पक्षमा भने इंग्ल्यान्डभन्दा स्लोभाकियाको इतिहास गौरवशाली देखिन्छ ।

तर, जारी युरोकपको छनोट प्रतियोगितामा इंग्ल्यान्डको प्रदर्शन उत्कृष्ट थियो । छनोट प्रतियोगितामा इंग्ल्यान्ड अपराजित रहँदै आफ्नो समूहको विजेता बनेर युरोकपमा उपस्थित भएको हो । इंग्ल्यान्डले आठमध्ये ६ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । इटाली समेही समूहको उप–विजेता बन्दै युरोकपमा छनोट भएको हो । 

skynews-england-euro-2024_6590974

अर्कोतिर, स्लोभाकिया आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा छनोट भएको थियो । छनोट प्रतियोगितामा स्लोभाकियाले आफूले खेलको १० मध्ये सात खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो । पोर्चुगल सोही समूहको विजेता बन्दै युरोकपमा पुगेको हो ।

इंग्ल्यान्ड र स्लोभाकियाबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा ६ पटक आपसमा भिडन्त भएको छ । त्यसमध्ये पाँच खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई हराएको छ । यी दुई टोलीबिचको बाँकी एक खेल भने बराबरीमा सकिएको छ । 

5a01f712-5be6-48eb-8fa5-7f1360f4902a_slovakia-v-ukraine-group-e-uefa-euro-2024

जारी युरोकपमा इंग्ल्यान्ड गारेथ साउथगेटको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । इंग्ल्यान्डको टोलीमा एभर्टनका जोर्डन पिकफोर्ड (गोलरक्षक), म्यानचेस्टर सिटीकी कायले वाल्कर, जोन स्टोन्स र फिल फोडेन, म्यानचेस्टर युनाइटेका लुक स, आर्सनलका बुकायो साका, लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बायर्न म्युनिखका ह्यारी केन (कप्तान), रियल म्याड्रिडका जुड बेलिङ्घमलगायतका प्रभावशाली खेलाडी छन् ।  

यसैगरी १७औँ युरोकपमा स्लोभाकिया फ्रान्सेस्को कल्जोनाको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । स्लोभाकियाको टोलीमा न्युक्यासल युनाइटेडका मार्टिन दुब्राभका (गोलरक्षक), हेर्था बर्लिनका पिटर पेकारिक, कोपनहेगनका डेनिस भाभरो, काल्गिआरीका एडम ओबर्ट, फुलहामका मारेक रोडक, पेरिस सेन्ट जर्मनका मिलान स्क्रिनियर (कप्तान), नापोलीका स्टानिस्लाभ लोवोत्कालगायतका प्रभावशाली खेलाडी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप