मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नेविसंघ नेतृत्वको बन्दी कि गन्तव्य भुलेको संगठन ?

आइतबार, १६ असार २०८१, १३ : ३०
आइतबार, १६ असार २०८१

२०७८ चैतमा दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष मनोनीत गरेको एक वर्षपछि ७५२ जनालाई केन्द्रीय सदस्यहरूमा मनोनीत गरियो । ०७९ को आम निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र महाधिवेशन गर्नका लागि दुजाङ मनोनीत भएका थिए । उनले यत्रो समय गुजार्दा पनि नेविसंघको १२औँ महाधिवेश अन्योलपूर्ण छ । महाधिवेशनका लागि तीनपटक थप गरिएको म्याद  असार १५ मा सकिएको छ । 

नेविसंघ यस्तो अभिशप्त भुमरीमा पर्नुको पछाडि आखिर के छ कारण ? नेविसंघकै खेलाडीको समस्याका कारण हो या पार्टीका नेताहरूको बदनियतका कारण हो ? गएको फागुनमा बोलाइएको कार्यसमितिको बैठक सम्पन्न गर्न ३७ दिन लाग्ने कौशल बोकेको हालको नेविसंघ नेतृत्वले तालिकाभित्र अधिवेशन सम्पन्न गर्ने कुरा पहाडजस्तो देखिन्छ । 

३७ दिनसम्मको प्रयत्नमा सम्पन्न भएको बैठकले मोटामोटी आउने पुसमा अधिवेशन गर्ने भन्ने समझदारी गरे पनि त्यसपश्चात् तालिका नबन्नु, विभिन्न विभागहरू नबन्नु र न्यायोचित रूपमा जिम्मेवारीको बाँडफाँड नहुनु उदेकलाग्दो छ । माउ पार्टी कांग्रेसले यी न्यूनतम कार्य पनि नगरेको नेविसंघलाई एक प्रश्न धरि नसोधी समय थप्नतिर लम्कनु झनै लज्जास्पद छ । पार्टीले बोलाएर तिम्रो जिम्मेवारी के हो ? किन तिमीलाई नेतृत्व दिइएको थियो ? यो बिचमा गरेका महत्त्वपूर्ण कार्यको दस्ताबेज बुझाऊ र अब अगाडि गम्भीर भई काम गर्ने कुराको वाचा गर भनेर औपचारिक रूपमा पार्टीले भन्नुपर्ने हो । 

तदर्थवादको परिपाटीले नेविसंघको निर्माण प्रक्रियामा अवरोध भएको लामो इतिहास भइसकेको छ । नेतृत्व चयनमा पार्टीको यो शैलीले नेविसंघले गति र मति दुवै हराएको छ । उत्साह र ऊर्जा बोकेको गतिशील नेविसंघ नहुनुमा प्रमुख कारण यही हो । हिजोको अग्रज पुस्ताको जस्तो सौर्य आज नेविसंघमा नहुनुले अन्ततोगत्वा पार्टी निर्माणको प्रक्रियामा पनि क्षति पुग्छ नै । यस्तो गम्भीर सवालमा नेविसंघभित्र या पार्टीमा छलफल नहुँदा माउ र नर्सरी दुवैमाथि बराबरी औँला उठाउने ठाउँ छ । नेविसंघको गतिहीनता वर्तमान र भविष्यका लागि सुखद सङ्केत होइन । यो यथार्थले हामी सबैलाई तिखो गरी घोच्न जरुरी छ । 

अहिलेको नेविसंघ भन्नु भोलिको कांग्रेस हो । कांग्रेसको शक्ति निर्माण होस् वा गतिशीलता, विचार निर्माण होस् वा क्रान्तिकारिता— यसका लागि नेविसंघ नै कांग्रेसको वर्तमान तागत हो, वर्तमानको सारथि हो ।

देशको राजनीतिमा बहुध्रुवहरूको निर्माण भएको छ । नयाँ पार्टीको उदयको सङ्केत के हो ? किन जनतामा पुराना पार्टीप्रति निराशा छ ? पार्टीहरूप्रतिको आकर्षण र औचित्यमा प्रश्न किन उठ्न सकिरहेको छैन ? हजार गल्ती, हजार खेलाँची, हजार मनोमानीले आखिर दियो के ? पार्टीलाई बदल्ने, बनाउने र चुस्त गर्ने अठोट पार्टी नेतृत्वसँग कहाँ छ आज ? जनताको निराशा फगत बातचितको कुरा हो कि पार्टीहरूको असफलताको सूचक हो ? नयाँ पार्टीहरूको निर्माण हुनु, जनताको ऐनामा पुराना पार्टीहरूको अयोग्यताको चित्र देखिनु होइन र ? नेविसंघको घरमा तालाचाबी ठोकेर कसरी पार्टीले यो असफलता र अयोग्यता चिर्न सक्ने तागत राख्छ ? 

अहिलेको नेविसंघ भन्नु भोलिको कांग्रेस हो । कांग्रेसको शक्ति निर्माण होस् वा गतिशीलता, विचार निर्माण होस् वा क्रान्तिकारिता— यसका लागि नेविसंघ नै कांग्रेसको वर्तमान तागत हो, वर्तमानको सारथि हो । पार्टीको जीवनमा गतिशील नेविसंघ हुँदा के माने हुन्छ र तदर्थवादको नेविसंघ हुँदा के अर्थ हुन्छ ? त्यसको भिन्नतामा बहस र समीक्षा होस् । 

पार्टीलाई समय सान्दर्भिक बनाई जनताको मन खिच्ने प्रयत्नको पहिलो खुड्किलोका रूपमा नेविसंघको सुधारबाट खोजिनुपर्छ । ऊर्जा र उत्साह बोकेको गतिशील नेविसंघको घरबाट पार्टीले यसको यात्रा तय गर्नुपर्छ । बोक्नुपर्ने नेविसंघ लिएर कांग्रेस कहिलेसम्म थिचिने ? गतिशील नेविसंघको निर्माण गरेर यसलाई आफैँ दौडन दिएर कांग्रेसले आफ्नो काँध हलुका गरेका दिन नेविसंघ र कांग्रेस दुवैमा नयाँ र सुखद बदलाव आउनेछ । 

स्वतन्त्र र नयाँ दलमा जनमत किन गयो ? के बाध्यता छ, आजका दिनमा पार्टीमा यो बहस रोक्न ? किन पार्टीमा भ्रातृ संघ–संगठनहरूको चुस्तता खोजिँदैन ? पार्टीको आन्तरिक जीवन कमजोर हुनुका कारणमा किन चिन्तन हुँदैन ? यही हालतमा कसरी जनमतलाई कांग्रेससँग जोड्ने आधार बन्छ ? किन जनमत कांग्रेसको पक्षमा उभिने ? के कारण हो, जनताले आफ्नो भविष्य कांग्रेसको भविष्यमा निर्भर ठान्ने ? यो सबैका लागि कांग्रेस नेतृत्वले एकतासहित हस्तक्षेपकारी पहल सुरु गरोस्, पार्टी र संघ–संगठनको सुदृढीकरणका लागि ।

चुस्त–दुरुस्त कांग्रेसले राष्ट्रिय राजनीतिलाई बाटो दिने काम इतिहासमा कहिले पो नभएको छ र ? अहिलेको गोलमाल राजनीतिको ‘एग्जिट’ कांग्रेसको योग्यतामा मात्र सम्भव छ । कांग्रेसले ओरालोलाग्दो राष्ट्रिय राजनीतिका सबै पक्षमा अभिभावक हुनुपर्छ र बाटो देखाउनुपर्छ । 

जनतामा राजनीतिप्रतिको बढ्दो निराशाले जन्माएको अहिलेको ठुलो चुनौती भनेको योग्यताहीन, स्टन्टबाज, राजनीतिक चेतविहीन र कति अवस्थामा कानुनले दण्डित हुनुपर्नेहरूको हातमा राजनीतिक शक्ति जान थाल्नु हो । सामाजिक सञ्जालको सस्तो र निराधार सूचनाले जनतामा पार्ने जबर्जस्त प्रभाव अहिलेको प्रमुख राष्ट्रिय रोग हो । राजनीतिक दलबाट आजित जनता सामाजिक सञ्जालको जालमा बन्धक छन् । सत्य र असत्यको पर्वाहै नगरी पत्यार गरेका छन् । यसैको जगमा अर्बौँ हिनामिना गर्ने र तीनका मतियारले आज विकल्पको हुङ्कार दिँदा समेत त्यो तमासा टुलुटुलु हेर्नुपरेको छ । यो विडम्बनाबाट देशको राजनीतिलाई झिक्नु छ । जनतालाई सही बाटोमा डोर्‍याउनु छ । कांग्रेस नेतृत्वले दिग्भ्रमित समाजलाई रोक्नुछ । 

पार्टीको जीवनमा गतिशील नेविसंघ हुँदा के माने हुन्छ र तदर्थवादको नेविसंघ हुँदा के अर्थ हुन्छ ? त्यसको भिन्नतामा बहस र समीक्षा होस् ।

पार्टीको चुनाव अगाडिको गठबन्धन गर्ने निर्णय चुनावलगत्तै गलत थियो भन्ने प्रमाणित भयो । पार्टीको केन्द्रीय समितिभित्र महामन्त्री गगन थापाको गठबन्धन हुनुहुन्न भन्ने मतले पराजित हुनुनपरेको भए कांग्रेसको पोजिसन अर्कै हुन सक्थ्यो आज । जीवनभरि सर्वस्व गुमाएर राजनीति गरेका कतिपय उम्मेदवार हुन चाहेका छन् तर कैयौँलाई उम्मेदवार हुनबाट विमुख गर्नु र २०औँ लाख कांग्रेसी मतदातालाई मतदानबाट वञ्चित गराइनु कांग्रेसका लागि अपूरणीय क्षति भएको छ । यसको दीर्घकालीन असर रहनेछ । 

नेविसंघको मैदानबाट गएका दुईजना आज कांग्रेस महामन्त्री हुनुहुन्छ । नेविसंघको इतिहासमा उहाँहरूको नाम गौरवपूर्ण अक्षरमा कोरिएका छन् । पार्टीमा उहाँहरूको उपस्थितिले के फरक पर्‍यो ? सभापतिको तहबाट हुने गलत निर्णयहरूमा उहाँहरूको भूमिकाले के कति रोकथामको भूमिका रह्यो ? गठबन्धन गर्न हुने र नहुनेमै दुई महामन्त्रीहरू नै किन विभाजित हुन पुग्नुभयो ? 

अबका दिन सभापति र त्यो तहका नेतालाई भन्दा दुई महामन्त्रीहरूलाई प्रश्न ज्यादा अर्थपूर्ण होला । नेविसंघको इतिहाससँग जोडिएको र पार्टी नेतृत्वमा पुगिदिए हुन्थ्यो भन्ने हाम्रो चाहनाका कारण हुनुपर्छ, हाम्रा लागि दुई महामन्त्रीहरू आशा र आलोचना दुवैको केन्द्रमा हुनुहुन्छ । पार्टीलाई बदल्ने कुरामा होस् वा नेविसंघको निर्माण प्रक्रियामा; उहाँहरूको भूमिकाको अपेक्षा रहन्छ । नेविसंघको अवरुद्ध भएको वा भनौँ गराइएको अधिवेशनका लागि उहाँहरूको भूमिकाले बाटो दिनुपर्ने होइन र ? नेविसंघलाई विभिन्न गुट र फुटमा इङ्गेज गरेर कांग्रेसले जित्ने केही छ र ? कम्तीमा नेविसंघलाई गति र मति दिनका लागि दुई महामन्त्रीहरूको भूमिका हस्तक्षेपकारी रहनुपर्ने थियो । ऊर्जा मरेको र मारिएको नेविसंघबाट कांग्रेसले आगामी दिनका राष्ट्रिय राजनीतिमा फुकाउनुपर्ने धेरै गाँठाहरूबाट वञ्चित रहनुपर्नेछ । 

कांग्रेसको सशक्त हैसियत निर्माण नै नेविसंघको अन्तिम लक्ष्य हो । पार्टी नेताहरूले नेविसंघको यो मन र मर्मलाई बुझे धेरै कुराको हल निस्कन्छ । हामी नेविसंघका साथीहरू गतिशील संगठन चाहन्छौँ । हाम्रै अक्षमता संगठनमा हुँदा वा रहँदाका कमजोरीले समयमा अधिवेशन हुन नसक्नुका कारणहरूको जिम्मा र जवाफको कठघराबाट उम्कन पाउँदैनौँ । यत्रो ७५२ सदस्यीय समितिले काम गर्न नसक्नुको जवाफ त हामीले दिनैपर्छ । कुरा रह्यो— आजको दिन यो कार्यसमितिको नेविसंघले आयु गुमाइसकेको कुरा, पार्टीले अनिवार्य अधिवेशन गराउने परिस्थितिले बाँधेर काम नगरे दण्ड दिने सर्तमा मात्र यो कार्य समितिलाई थप जिम्मेवारीको सुविधा दिइनुपर्छ । 

(लेखक नेविसंघ केन्द्रीय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार बस्नेत
राजकुमार बस्नेत
लेखकबाट थप