मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकप फाइनल : अन्तिम पाँच ओभरमा भारतले यसरी आफ्नो पक्षमा पार्‍यो नतिजा

आइतबार, १६ असार २०८१, १० : २५
आइतबार, १६ असार २०८१

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले कुम्ल्यायो । भारतले शनिबार राति खेलिएको फाइनलमा दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि चुमेको थियो ।

फाइनल खेल निकै रोमाञ्चक थियो । जितको अत्यन्तै नजिक पुगेर दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पार्ने योजना असफल भयो । दक्षिण अफ्रिकाले हालसम्म एकदिवसीय विश्वकपको उपाधि पनि जित्न सकेको छैन ।

एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका कुनै समय जिततर्फ अग्रसर थियो । तर, अन्तिम समयमा आएर दक्षिण अफ्रिका उपाधिबाट विमुख हुनु पग्यो । दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रनमात्र बनाउन सक्यो ।

अन्तिम पाँच ओभरमा ३० बलमा ३० रन आवश्यक
खासगरी फाइनल खेलको अन्तिम पाँच ओभर निकै महत्वपूर्ण थियो । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो । त्यतिबेलासम्म दक्षिण अफ्रिकाका ६ ब्याट्सम्यान बाँकी नै थिए ।

१६औँ ओभरमा हेनरिक क्लासेन र डेभिड मिल्लर उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । क्लोसेन २२ बलमा ४९ रन र मिल्लर सात बलमा १४ रन बनाउँदै दक्षिण अफ्रिकालाई जिततर्फ डो¥याउन अग्रसर थिए । समग्रमा १५औँ ओभरको खेल सकिँदासम्म दक्षिण अफ्रिका बलियो स्थितिमा देखिन्थ्यो ।

david miller

तर, अन्तिम पाँच ओभरमा खेलमा नाटकीय परिवर्तन देखियो । जिततर्फ अग्रसर दक्षिण अफ्रिका एकाएक दबाबमा पर्यो । अन्ततः यही पाँच ओभरभित्र भारतीय बलर र फिल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको उपाधि उचाल्नबाट चुक्यो ।

१६औँ ओभरमा बुमराहले केवल चार रन दिए
१५औँ ओभरको समाप्तिमा दक्षिण अफ्रिकी टोलीको स्कोर चार विकेटको नोक्सानीमा एक सय ४७ रन थियो । क्लासेन ४९ र मिल्लर १४ रनमा क्रिजमा थिए । यी दुबै टोलीका अनुभवी खेलाडी हुन् । भारतीय टोलीका कप्तान रोहित शर्माले १६औँ ओभर बलिङ गर्ने जिम्मा जसप्रित बुमराहलाई दिए ।

बुमराहले पनि १६औँ ओभरमा निकै किफायती बलिङ गरे । उनले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई दबाबमा राख्दै केवल चार रन खर्चिएका थिए । बुमराहले त्यो ओभरमा तीनवटा बलमा त एक रन पनि दिएनन् ।

त्यसपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यानमाथि दबाब बढ्न थाल्यो । त्योभन्दा अघिल्लो ओभरमा भारतीय बलर अक्षर पटेलले २४ रन खर्चिएका थिए । १६औँ ओभरमा बुमराहले उत्कृष्ट बलिङ गरेपछि नै भारतीय टोलीमा जितको आशा पलाएको थियो ।

१७औँ ओभरमा हार्दिक पाण्ड्याले क्लासेनलाई पेभेलियन फर्काए
भारतीय टोलीका लागि १७औँ ओभर पनि महत्वपूर्ण रह्यो । कप्तान रोहितले १७औँ ओभर बलिङ गर्ने जिम्मा हार्दिक पाण्ड्यालाई दिएका थिए । रोहितको त्यो निर्णय सफल पनि सावित भयो । हार्दिकले आफ्नो पहिलो बलमै मैदानमा जमिसकेका ब्याट्सम्यान हेनरिक क्लासेनलाई पेभेलियन फर्काए ।

classen

हार्दिकले त्यो बल ‘अफ साइड’मा ब्याट्सम्यानभन्दा केही पर फालेका थिए । क्लासेनले त्यो बललाई खेल्ने प्रयास गरे । ब्याट्को छेउमा थोरै ठोक्किएर बल विकेटकिपर ऋषभ पन्तको हातमा पुग्यो । भारतका लागि त्यो निकै महत्वपूर्ण सफलता थियो ।

क्लासेन आउट भएपछि मार्को जानसेन क्रिजमा आएका थिए । हार्दिकले दोस्रो बलमा पनि रन बनाउन दिएनन् । बाँकी चार बलमा पनि हार्दिकले केवल चार रन खर्चिएका थिए । १७औँ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकालाई जितका लागि ११ बलमा २२ रन आवश्यक थियो ।

१८औँ ओभरमा बुमराहले केवल दुई रन दिएर एक विकेट लिए
भारतीय टोलीका कप्तान रोहितले १८औँ ओभर बलिङ गर्ने जिम्मा बुमराहलाई दिएका थिए । बुमराहको यो ओभरपछि त खेलमा भारतको पकड निकै बलियो बनेको थियो । बुमराहले अघिल्लो दुई बलमा एक रन पनि दिएनन् ।

तेस्रो बलमा मिल्लरले एक रन बनाउँदै मार्को जानसेनलाई स्ट्राइक दिएका थिए । चौथो बलमा बुमराहले जानसेनलाई बोल्ड गरे । बुमराहले १८औँ ओभरमा केवल दुई रन खर्चिएका थिए । १८औँ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । दक्षिण अफ्रिकालाई जितका लागि १२ बलमा २० रन आवश्यक थियो ।

१९औँ ओभरमा अर्शदीपले भारतलाई जितको नजिक पुर्याए
कप्तान रोहितले १९औँ ओभर बलिङ गर्ने जिम्मा तिब्रगतिका बलर अर्शदीप सिंहलाई दिएका थिए । त्यतिबेला दक्षिण अफ्रिकी ब्याट्सम्यान मिल्लर र केशव महाराज क्रिजमा थिए । अर्शदीपले यो ओभरमा तीन बलमा एक रन पनि दिएनन् । यो ओभरमा दक्षिण अफ्रिकाले केवल चार रनमात्र बनाउन सक्यो ।

asradeep

त्यसपछि दक्षिण अफ्रिकालार्य अन्तिम ६ बलमा जितका लागि १६ रन आवश्यक थियो । दक्षिण अफ्रिकाका मिल्लर १६ बलमा २१ रन बनाउँदै क्रिजमा थिए । अन्तिम ओभरमा पनि भारतका लागि सबैभन्दा ठुलो खतरा मिल्लर नै थिए ।

अन्तिम ओभरमा सूर्यकुमारको क्याचले भारतलाई जितायो
भारतीय कप्तान रोहितले अन्तिम ओभर बलिङ गर्ने जिम्मा हार्दिक पाण्ड्यालाई दिएका थिए । हार्दिकको पहिलो बलमा मिल्लरले छक्का हिर्काउने प्रयास गरे । तर, बाउन्ड्री लाइननजिकै फिल्डिङ गरिरहेका सूर्यकुमार यादबले उत्कृष्ट क्याच लिँदै मिल्लरलाई पेभेलियन फर्काए ।

खासमा सूर्यकुमारको यो क्याचले नतिजा भारतको पक्षमा मोडन निकै ठुलो योगदान पु¥याएको थियो । उनले बाउन्ड्री लाइन भित्रैबाट क्याच समाएका थिए । त्यसपछि उनले आफू बाउन्ड्री लाइनभन्दा बाहिर जानुअघि बललाई बाउन्ड्री लाइनभित्र फाले । त्यसपछि उनी फेरि बाउन्ड्री लाइनभित्र आएर र त्यही बललाई पुनः क्याच लिए । यसरी उनले मिल्लरलाई आउट गराएका थिए ।

मिल्लर आउट भएपछि कागिसो राबडा क्रिज समाल्न आएका थिए । क्रिज समाल्न आउनुसाथ उनले चौका प्रहार गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम चार बलमा १२ रन आवश्यक थियो ।

पाँचौँ बलमा हार्दिकले राबडालाई पनि सूर्यकुमार यादबमार्फत नै क्याच गराएका थिए । त्यसपछि अन्तिम बलमा दक्षिण अफ्रिकाले एक रनमात्र बनाउन सक्यो । हार्दिकले अन्तिम चार ओभरमा तीन महत्वपूर्ण विकेट लिए ।

यसरी सात रनले खेल जित्दै भारतले उपाधिमाथि कब्जा जमाएको थियो । भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो । सन् २००७ मा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला पनि भारतले फाइनलमा पाकिस्तानमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

south africa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप