मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
राजनीति

३५ वर्षकै उमेरमा महामन्त्री भएका प्रचण्ड ७० वर्ष पुग्दा पनि नेतृत्वमा निर्विकल्प !

‘नेतृत्वलाई प्रतिस्थापन गर्न युवाहरूले दुस्साहस गर्नुपर्छ’
आइतबार, १६ असार २०८१, १९ : ०५
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३५ वर्षको उमेरमै ०४६ सालमा नेकपा (मशाल)का महामन्त्री बनेका थिए । बहालवाला प्रधानमन्त्रीसमेत रहेका उनी अहिले ७० वर्षका भए । लगातार ३५ वर्ष नेतृत्वमा रहेका प्रचण्ड आगामी विशेष महाधिवेशनबाट आफूलाई पार्टीभित्र निर्विकल्प अध्यक्षमा उभ्याउने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रको ४११ सदस्यीय जम्बो केन्द्रीय समितिमा उनलाई टक्कर दिने हिम्मत कसैको देखिँदैन । यद्यपि विभिन्न कालखण्डमा नेतृत्वको वैचारिक क्षमता, सांगठनिक पद्धति र पुस्तान्तरणको विषयमा बहस पैरवी नभएको होइन । तर त्यसले मूर्तरूप लिएको पाइँदैन ।

आफू नेतृत्वमा आउनुअघि प्रचण्डले शास्त्रीय कम्युनिस्ट नेता मोहन विक्रम सिंह र मोहन वैद्यबाट पार्टी अगाडि बढ्न नसक्नेभन्दै नेतृत्व हस्तान्तरणको विषयमा चर्को बहस गरेका थिए । सोही ढंगले विद्रोह गरी उनले पार्टी विघटन र पुनर्गठन गर्दै माओवादी केन्द्र बनाए । तथापि पार्टी नेतृत्वमा ३५ वर्ष रहँदासमेत वैचारिक स्पष्टता र पुस्तान्तरणका लागि उनी चुकेको नेताहरूले टिप्पणी गरेका छन् ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्तै कमजोर हुँदा पछिल्लो समय पार्टी लुलो हुँदै गएको माओवादी उच्च नेताहरूको बुझाइ छ । सशस्त्र युद्धदेखि नै कहिले वैद्य, कहिले बाबुराम भट्टराईसँग मिलेर नेतृत्वमा टिकिराखेका प्रचण्ड सत्ता राजनीतिमा पनि सोही नीतिअनुसार फाइदा लिन सफल देखिएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको माओवादी ०७० देखि निरन्तर ओरालो यात्रामा छ । यस अवधिमा जनाधार गुमाउँदै पार्टी संगठन निकै कमजोर अवस्थामा पुगे पनि प्रचण्डका लागि फाइदैफाइदा भएको राजनीतिक वृत्तमा चर्चा छ । पार्टीभित्रै पनि नीति र नेतृत्वको विषयमा बेलाबेला आलोचनात्मक बहस भएका छन् ।

पार्टीभित्र विधि, विधान र पद्धतिको प्रश्न उठाउनेमाथि नेतृत्व तहबाटै अनुदार व्यवहार हुने गरेको उपमहासचिव जनार्दन शर्माले केही दिनअघि दिएको अभिव्यक्तिबाट प्रस्ट झल्किन्छ । असार ७ गते काठमाडौँमा भएको पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनमा शर्माले भनेका थिए, ‘पार्टीभित्र विधि, प्रद्धतिको प्रश्न कसैले उठायो भने त्यसलाई पार्टी फोड्दै छ भनेर होहल्ला मच्चाइन्छ, कस्तो बिडम्बना ! प्रश्न गर्नै नसक्ने बनाइदिने जो संस्कार छ, यो संस्कार गलत हो । यदि पार्टीमा विधि स्थापित गर्न प्रश्न गर्न नपाउने, कमीकमजोरीबारे प्रश्न उठाउने होइन भने यो पार्टी जीवित रहन सक्छ ? यो पार्टीलाई जीवित राख्ने, सवल बनाउने, निर्माण गर्ने उद्देश्यका साथ गरिएको छलफल र बहसहरूलाई अर्कोतिर मोड्दै पार्टी विभाजन गर्दैछ भन्ने हल्ला पिटाइँदैछ । त्यसमा मेरो घोर आपत्ति छ । मूल्याङ्कनको माग गर्न मिल्ने कि नमिल्ने ? विधिको माग गर्न मिल्ने कि नमिल्ने ? विचार पुगेन भन्न मिल्ने कि नमिल्ने ? संगठनमा ह्रास आइरहेको छ भन्न मिल्ने कि नमिल्ने ? जनतासँगको सम्बन्धमा पछि परेका छौँ भन्न मिल्ने कि नमिल्ने ? त्यसकारण प्रश्न गर्न नपाउने भन्ने हुँदैन ।’

फागुनको पहिलो साता प्रज्ञा भवन कमलादीमा भएको प्रथम विधान अधिवेशनमा शर्माले पार्टीलाई विधि, पद्धति र नेतृत्व विकासका लागि सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । साथै विधानमा सबै तहका पदाधिकारीहरूको कार्यकाल र उमेर तोक्नु पर्ने लगायत ९ बुँदे पूरक प्रस्ताव उनले राखेका थिए ।

जनवर्गीय संगठन अहिले माओवादीको पोपेड (कठपुतली) जस्ता भएको भन्दै उनले जनवर्गीय संगठन प्रमुखहरूको समन्वय समिति बनाएर पार्टीले गाइड गर्ने तर पूर्ण स्वायत्तता दिनुपर्नेमा जोड दिएका थिए । बन्दसत्रमा शर्मामात्र होइन, अधिकांश प्रतिनिधिले पार्टीलाई बलियो बनाउन पदाधिकारीदेखि तल्ला समिति सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग गरेका थिए ।

त्यतिबेला हलको दबाबमा परेका प्रचण्ड पदाधिकारीबाहेक सबै तहका समिति प्रत्यक्ष निर्वाचित गर्ने निर्णय मान्न बाध्य भएका थिए । गत साउनको तेस्रो साता सम्पन्न केन्द्रीय समिति बैठकमा शर्मासहित अर्का उपमहासचिव वर्षमान पुनले पार्टीभित्रको समस्या विचारभन्दा पनि विधि भएकाले विधान अधिवेशनबाट हल खोज्नुपर्ने बताएका थिए । त्यतिबेला उपमहासचिवद्वय शर्मा र पुनले तत्काल प्रचण्डको विकल्प नखोजिएको भन्दै उत्तराधिकारी तयार पार्ने विधिमा जानुपर्नेमा जोड दिएका थिए ।

२०७८ साल पुस तेस्रो साता प्रज्ञा भवनमै सम्पन्न आठौँ महाधिवेशनमा प्रचण्डले नयाँ परिस्थिति अनुसार पार्टीलाई अगाडि बढाउन ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ राजनीतिक दस्तावेज अनुमोदन गराएका थिए । तथापि आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख कारण विचारको विकास र स्पष्टताको अभाव हो भनेर उनले स्वीकारेका थिए ।

प्रचण्डको कमाजोरी केलाउँदै गर्दा नेपालमा माओवादी आन्दोलनलाई यहाँसम्म ल्याउन उनको नेतृत्वदायी भूमिकालाई अवमूल्यन गर्न नसकिने अर्को पक्षको मत छ ।

‘केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी, अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनौँ । यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तत् अनुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ’, प्रचण्डको दस्तावेजको प्रस्तावनामै उल्लेख छ ।

तर विशेष महाधिवेशन नभएसम्म पार्टीको नीति, विधान अधिवेशनले अनुमोदन गरेको सांगठनिक विधि र पद्धतिको प्रावधान कार्यान्वयन हुन सक्ने स्थिति छैन । यद्यपि असार ८ गते राजधानीमा भएको पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले विशेष महाधिवेशनको तयारीका लागि छिटै केन्द्रीय समितिको बैठक बोलाउने घोषणा गरेका थिए ।

प्रचण्डको कमाजोरी केलाउँदै गर्दा नेपालमा माओवादी आन्दोलनलाई यहाँसम्म ल्याउन उनको नेतृत्वदायी भूमिकालाई अवमूल्यन गर्न नसकिने अर्को पक्षको मत छ । खासगरी तेस्रो महाधिवेशनपछि टुटफुट र विभाजनबाट थङथिलो भएको कम्युनिस्ट आन्दोलनमा उनी नेतृत्वमा आएपछि माओवादी धारलाई धु्रवीकृत गर्ने काम गरे । २०४८ सालमा स–साना माओवादी घटकहरूलाई मिलाएर एकता केन्द्र बनाए । २०५२ सालमा नेकपा माओवादी गठन गरी १० वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरे ।

२०६२ सालमा संसदवादी सात दलसँग १२ बुँदे सम्झौता गरी द्वन्द्व व्यवस्थापनमा उनले भूमिका खेले । माओवादी विद्रोह र जनआन्दोलनको बलमा २०६२÷६३ मा राजतन्त्र ढलेर संघीय गणतन्त्र स्थापना गर्न सम्भव भयो । २०७२ सालमा नयाँ संविधान बनाएर गणतन्त्रलाई संस्थागत गर्न पनि उनको सक्रिया भूमिका रह्यो । तर तीन पटक प्रधानमन्त्री हुँदासमेत सामाजिक न्याय, सुशासन, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम गर्न उनी सफल देखिएका छैनन् । यिनै विषयले पार्टी निर्माणको काम निकै पेचिलो बनेको छ ।

अन्य पार्टीको तुलनामा माओवादीभित्र आन्तरिक लोकतन्त्र निकै कमजोर भएकाले विधि र पद्धतिको थिति बसाल्न निकै सकस परेको वैचारिक नेता तथा सचिव राम कार्कीको बुझाइ छ । नेतृत्वलाई विस्थापित गर्न नयाँ पुस्ताले दुस्साहस गर्नुपर्ने उनी बताउँछन् ।

‘अहिलेको युवाले आत्मविश्वास नै जुटाउन सकिराखेको छैन । हामीलाई प्रतिस्थापन गर्ने आँट गरिराखेका छैनन् । उनीहरू डराइराखेका छन् । सबैभन्दा बढी युवाहरूको भूमिका हुनुपर्छ । युवा भनेको विचार र आँट हुनुपर्छ । साहसी हुनुपर्छ । एक हदसम्मको दुस्साहस नै गर्ने आँट हुनुपर्छ’, उनले भने ।

प्रचण्डलाई आफू नभइ पार्टी चल्दैनजस्तो लाग्ने, अन्यले आँट नगर्ने अवस्था नै समस्याका रूपमा रहेको उनले औँल्याए । कांग्रेस, एमालेमा केही नयाँ पुस्ता आए पनि माओवादीमा नयाँ पुस्ताको उपस्थिति कमजोर रहेको वैचारिक नेता लेखनाथ न्यौपाने भनाइ छ ।

नेकपाका पहिलो पुस्ता पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीले बनाएको विधिविधान आफूहरूले भत्काएर नयाँ बनाएको भन्दै उनले अब आफूहरूले बनाएको विधान नयाँ पुस्ताले भत्काउनुपर्ने बताए ।

अर्का वैचारिक नेता लेखनाथ न्यौपानेले पार्टीभित्र विचार र पुस्तान्तरण दुवै कमजोर रहेकाले समस्या आएको बताए । ‘पुस्तान्तरणको कुरा गरेर पनि समस्याको समाधान हुुँदैन । समग्र विचार र सही दृष्टिकोण सहितको कुरो हो । तर हाम्रो पार्टीमा व्यवस्थित रूपमा बहस भएको पाइँदैन । हाम्रो पार्टीमा पद्धति नै भएन । संगठनात्मक पद्धतिले ती विषयको विकास गर्ने हो । त्यसले गर्दा वैकल्पिक नेतृत्व त्यतैबाट बन्छ । करेक्सन गर्ने वा आलोचना गर्ने त्यहीँभित्रबाट गर्ने ठाउँ पाइन्छ । एकल नेतृत्वजस्तो भयो ।’

प्रचण्डलाई आफू नभइ पार्टी चल्दैनजस्तो लाग्ने, अन्यले आँट नगर्ने अवस्था नै समस्याका रूपमा रहेको उनले औँल्याए । कांग्रेस, एमालेमा केही नयाँ पुस्ता आए पनि माओवादीमा नयाँ पुस्ताको उपस्थिति कमजोर रहेको उनको भनाइ छ ।

युवाले हामीलाई प्रतिस्थापन गर्ने आँट गरेका छैनन : राम कार्की

मार्क्सवाद ‘कम्प्लिट’ छैन । वैचारिक रूपमा एक ठाउँमा पुग्ने कुरा हो । अहिलेको परिस्थितिमा नेतृत्वदायी भूमिका खेल्ने विचार अगाडि आइराखेको छैन । सबैको विचार समान देखिनु भनेको भुत्ते हुनु हो । अहिले एमाले, माओवादी, समाजवादी यी सबैको टड्कारो रूपमा देखिने फरक के छ ? केही छैन । यसको अर्थ कसैसँग पनि अग्रगामी विचार छैन अहिले । त्यसकारण अग्रगामी विचार ल्याउन सबैले प्रयत्न गर्नुपर्छ ।

सबैभन्दा बढी आँट युवाहरूले गर्ने हो । गल्ती नगरी अगाडि बढ्न सकिँदैन । लडिन्छ भनेर बामे सर्न छोडियो भने बच्चाले फेरि उठ्न सिक्दैन । अहिलेको युवाले आत्मविश्वास नै जुटाउन सकिराखेको छैन । हामीलाई प्रतिस्थापन गर्ने आँट गरिराखेका छैनन् । उनीहरू डराइराखेका छन् । सबैभन्दा बढी युवाहरूको भूमिका हुनुपर्छ । युवा भनेको दाह्रीजुँगा नआएको युवा होइन कि विचार र आँट हुनुपर्छ, साहसी हुनुपर्छ । एक हदसम्मको दुस्साहस नै गर्ने आँट हुनुपर्छ ।

पार्टी सिस्टममा पुरानाले नयाँलाई छेक्छन् । पहिला पुष्पलाल, मनमोहनले बनाएको विधि विधानले छेकेका थिए । त्यसलाई भत्काएर हामीले आफ्नो बनायौँ । अब हामीले बनाएको विधान नयाँलाई कहाँ काम लाग्छ र ?

निश्चय नै विज्ञान भनेको शङ्का हो । हामी विश्वासमा गयौँ । नेताहरूले पनि मलाई विश्वास गर भन्ने, विश्वासले कतै पनि लैजादैन । अहिलेसम्म त्यस्तो देखिएको छैन । कतैबाट कसैले नयाँ विचार ल्याउने आँट ग¥यो भने त्यसलाई स्वागत गर्नुपर्छ । नेतृत्वप्रति प्रश्न गरिराखेका छन् । गरेपछि स्वाभाविक रूपमा त्यसको फाइदा पाइराखेका छन् ।

प्रचण्डलाई आफू नभइ पार्टी चल्दैन लाग्ने, अन्यले आँट नगर्ने समस्या छ : लेखनाथ न्यौपाने

पुस्तान्तरणको कुरा गरेर पनि समस्याको समाधान हुुँदैन । समग्र विचार र सही दृष्टिकोण सहितको कुरो हो । तर हाम्रो पार्टीमा व्यवस्थित रूपमा बहस भएको पाइँदैन । हाम्रो पार्टीमा पद्धति नै भएन । संगठनात्मक पद्धतिले ती विषयको विकास गर्ने हो । त्यसले गर्दा वैकल्पिक नेतृत्व त्यतैबाट बन्छ । करेक्सन गर्ने वा आलोचना गर्ने त्यहीँभित्रबाट गर्ने ठाउँ पाइन्छ । तर हाम्रोमा त्यो पद्धति नै विकास भएन । एकल नेतृत्व जस्तो भयो । प्रचण्डलाई आफू नभइ पार्टी चल्दैन लाग्ने, अन्यले आँट नगर्ने ।

पद्धतिले नगरेपछि स्वाभाविक रूपमा व्यक्तिले गरेर हुँदैन रहेछ । पद्धति नै नबसेर समस्या भएको हो । विचार एउटा अध्ययन अनुसन्धान हो, अर्को आन्दोलन हो । हामीसँग अहिले आन्दोलन पनि छैन, अध्ययन अनुसन्धान पनि छैन । त्यसकारण विचारको विकासमा अवरोध आइरहेको छ । अध्ययन अनुसन्धान नेपाली समाजको स्वरुपमा गर्ने हो । अहिलेको नेपाली समाज विद्यमान पूँजीवाद, अन्तर्राष्ट्रिय विभिन्न आयाम हो । अर्को आन्दोलन भयो भने त्यसले विचारको जग बसाल्छ । अहिले यी दुवै विषयबस्तु कमजोर भएकाले विचार अगाडि बढ्ने धरातल बनेको छैन ।

पुस्तान्तरणको कुरा मैले छोडेँ, तिमीहरू आऊ वा हामी तयार छौँ, छोड भन्ने कुरा होइन । यो पार्टी संगठनभित्र पद्धतिले सम्बोधन गर्ने विषय हो । पार्टीमा आवधिक अधिवेशन हुन्छ । आवधिक लोकतन्त्रको प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाले नेतृत्व स्थापित गर्छ । यो पद्धति नै बनाउन सकेनौँ । यो पद्धतिमा प्रवेश गर्न पाए जो आए पनि हुन्छ । कांग्रेस, एमालेमा केही नयाँ पुस्ता आएका छन् । सबैभन्दा कमजोर माओवादीमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप