बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
सङ्घर्ष

क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति

बारीभरि लटरम्म तरकारी, वार्षिक लाखौँ आम्दानी
आइतबार, १६ असार २०८१, ०७ : २४
आइतबार, १६ असार २०८१

कालिकोट (तेस्रो बजार) । ३३ वर्षीय भीमबहादुर कार्कीलाई ०७५ सालतिर आन्द्राको क्यान्सर भयो । कमजोर आर्थिक अवस्था भएका उनले ऋण झिकेर चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गरे । भाग्यले उनी बाँचे ।

परिवारको जेठो छोरा, बुबाको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा । त्यसपछि अठोट लिए– अब कालापहाड (भारत) गएर काम गर्न गाह्रै हुन्छ । गाउँकै परिवारसँग मिलेर कृषि क्रान्ति गर्नुपर्छ ।

क्यान्सर पीडित भीमबहादुरले उक्त अठोट व्यवहारमा लागु गर्दै पहाडको खोंचमुनिको गाउँमा व्यावसायिक कृषि खेती गरी हराभरा बनाएका छन् । उनी गाउँकै अगुवा कृषक कहलिएका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका–५, स्थित गारुवाँ गाउँ सदरमुका मान्मभन्दा थोरै उत्तरतर्फ, सुर्खेत–जुम्ला राजमार्गको किनारमा (तल्लो साइड) पर्छ । तल तिला कर्णाली नदी, त्यसभन्दा माथि अग्लो पहाड पहिरोले चिराचिरा परेको छ । त्यही पहिरोभन्दा माथि खोंचमा छ उक्त गाउँ । गाउँ भन्दामाथि सडक किनारामा तेस्रो बजार छ । त्यहाँ तरकारी सङ्कलन केन्द्र रहेछ, जहाँ गाउँभरिको तरकारी जम्मा हुन्छ । त्यहाँबाट व्यापारीले तरकारी खरिद गरी विभिन्न बजारमा लग्छन् ।

केही दिनअघि हामी उक्त ठाउँ पुग्दा भीमबहादुर डोकोभरी काँक्रा बोकेर आएका थिए । उनीसहित अन्य सदस्य पनि थिए । भीमबहादुरले भने, ‘३५ क्वीन्टल जति काँक्रा बेचिसकेँ, अझै ५० क्वीन्टल जति बारीमै छ, फल्ने क्रम पनि जारी छ ।’

सबै काँक्रा र तरकारीबाट कम्तीमा पनि चार लाखभन्दा बढी आम्दानी हुने अनुमान भीमबहादुर कार्की छ । उनले टमाटर पनि ५० हजार रुपैयाँभन्दा बढीको बिक्री भइसकेको र अझै केही बाँकी रहेको बताए । काँक्रा बाहेक पाँच वटा तरकारी टनेल बनाएका छन्, त्यहाँभित्र तरकारी फलाइरहेका छन् ।

जेठदेखि अहिलेसम्म १ लाख ७० हजार रुपैयाँ बराबरको काँक्रा बेचिसकेका रहेछन् कार्कीले । बारीमा भएको र फल्दै गरेको गरी यो पटक काँक्राबाट मात्रै तीन लाख आम्दानी हुने अनुमान उनको छ ।

कार्कीले आफ्नो बारी पनि देखाए । उनको बारीभरि तरकारी उब्जिएका छन् । काँक्राका अतिरिक्त टमाटर, खुर्सानी, भान्टा, करेला, चिचिन्डा पनि टन्नै फलेको छ । भीमबहादुरले तरकारी बारी देखाउँदै भने, ‘चार रोपनीबाट व्यावसायिक तरकारी खेती सुरु गरेको हुँ, अहिले १२ रोपनीमा छ ।’

उनका अनुसार ५ रोपनीमा काँक्रा छ भने दुई रोपनी जतिमा खुर्सानी र बाँकीमा टमाटर, भान्टा, करेला लगायतका तरकारी छन् ।

vimbahadur (4)

सबै काँक्रा र तरकारीबाट कम्तीमा पनि चार लाखभन्दा बढी आम्दानी हुने अनुमान कार्कीको छ । उनले टमाटर पनि ५० हजार रुपैयाँभन्दा बढीको बिक्री भइसकेको र अझै केही बाँकी रहेको बताए । काँक्रा बाहेक पाँच वटा तरकारी टनेल बनाएका छन्, त्यहाँभित्र तरकारी फलाइरहेका छन् ।

सुक्खा डाँडामा कसरी सफल भयो तरकारी खेती ?

गारुवाँ गाउँको भू–बनोट हेर्दा त्यहाँ तरकारी खेती त के, मान्छे बस्न लायक पनि छैन । भिरालो जमिन, तलमाथि पहाड, सुक्खा डाँडा । भीमबहादुर कार्की यही डाँडामा तरकारी खेती गरेर मालामाल भइरहेका छन् । तरकारी खेती गर्नुभन्दा पहिला यहाँ परम्परागत रूपमा धान, मकै, गहुँको खेती गरिन्थ्यो, जो आकाशे पानीमा निर्भर थियो ।

vimbahadur (3)

भीमबहादुरका अनुसार चितवनबाट उपचार गरेर फर्किएपछि कसरी तरकार खेती गर्ने, पानीको समस्या छ भन्ने विषयमा परिवारबिच छलफल भयो । त्यही बेला नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले किसानहरूलाई सहयोग गर्ने कार्यक्रम आयो ।

आफू अध्यक्ष रहेर उनले २७ सदस्यीय नैनेलदेव कृषक समूह गठन गरे । उक्त कार्यक्रमबाट सिँचाइ कुलो, बिउ बिजनदेखि वित्तीय साक्षरता सम्बन्धी तालिममा सहयोग भयो । तरकारी खेतीका लागि टनेलमा पनि कार्यक्रमले सहयोग गर्यो । ८ लाख ६० हजार रुपैयाँ बराबरको कार्यक्रमबाट लगानी भयो भने बाँकी कृषकको सह–लगानीमा भएको उक्त कार्यक्रमले निकै सहजता दिएको कार्की बताउँछन् ।

क्यान्सरको उपचार गर्दा लागेको १२ लाख ऋण पनि तरकारी खेतीबाट नै चुक्ता गरिसकेको उनले बताए । उनले तरकारी बेचेर नै सडक नजिकै पक्की घर ठड्याइसकेका छन् । उक्त घर बनाउन १६ लाख खर्च भएको र अझै बनाउन बाँकी नै रहेको उनले बताए ।

‘तालिमबाट ममात्र होइन, यहाँका धेरै महिलालाई सहजता भयो । पहिला आफ्नो सामान्य हिसाब राख्न नजान्ने महिलाहरू अहिले उत्पादनमा अग्रसर भइ आफ्नै खुट्टामा उभिने भएका छन्,’ कार्कीले भने ।

तालिमबाट पाएको ज्ञानले नै अहिले आफू व्यावसायिक कृषक बनेको उनले सुनाए । त्यसमा उनको मेहनत पनि कम छैन । कार्कीले थपे, ‘त्यसभन्दा पहिले निर्वाहमुखी खेती गर्थें । धान, मकै लगाउँथेँ । त्यसबाट उत्पादन भएको अन्नले केही महिना पनि पुग्थेन । अर्कातर्फ सिँचाइको अभाव थियो । तरकारीहरू बारीमा लगाउँथेँ तर, आफ्नोलागि मात्र ।’

कार्यक्रमबाट सिँचाइ कुलो बन्यो, पानी सिधै डाँडामा आयो । चार रोपनीबाट व्यावसायिक रूपमा तरकारी खेती गरेका उनले खेतीको विस्तार गर्दै १२ रोपनीमा पु¥याएका छन् ।

vimbahadur (5)

कुराकानीको क्रममा उनले कुनै बेला आफू कालापहाड गएको कुरा पनि सुनाए । ‘६ कक्षासम्म गाउँकै पढेँ, त्यसपछि वीरेन्द्रनगरको लाटिकोइलीमा गई पढेँ । आर्थिक अवस्था कमजोर भएपछि फेरि गाउँमै फर्कें,’ उनले भने, ‘कक्षा १० सम्म गाउँमै पढेँ । त्यहीबेला बुबाको मृत्यु भएपछि घरको जिम्मेवारी सबै काँधमा आयो । १२ सम्म अध्ययन गरेर छाडेँ ।’

बुबाको निधनपछि कमाउने कोही नभएकाले कालापहाड गइ घरको गर्जो टार्ने गरेको उनले सुनाए । भारतको गढवाल क्षेत्रमा गइ रोजगारी गरेको बिर्सेका छैनन् उनले । त्यसपछि नै रहेछ, उनी बिरामी भएको ।

लाखौँ आम्दानी, पक्की घरदेखि अटोरिक्सा खरिदसम्म

भीमबहादुरका सुखका दिन तब सुरु भए, जब उनले तरकारी खेतीमा गरेको मेहनतले प्रतिफल दिन थाल्यो । गत वर्षसम्म तरकारी खेतीबाट वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गरेको उनले सुनाए । यो वर्ष अझ बढ्ने उनको अनुमान छ । ‘यो घरखर्च सबै तिरोतारो गरेर बच्ने रकम हो,’ उनले भने, ‘घरपरिवार सबैलाई खान पनि यही बारीबाट पुग्छ ।’

घरमा बुढाबुढी, छोराछोरी, आमा, भाइका बुढाबुढी गरी ९ जनाको परिवार छ उनको । क्यान्सरको उपचार गर्दा लागेको १२ लाख ऋण पनि तरकारी खेतीबाट नै चुक्ता गरिसकेको उनले बताए । उनले तरकारी बेचेर नै सडक नजिकै पक्की घर ठड्याइसकेका छन् । उक्त घर बनाउन १६ लाख खर्च भएको र अझै बनाउन बाँकी नै रहेको उनले बताए ।

उनले ६ लाखमा अटोरिक्सासमेत खरिद गरेका छन् । उक्त रिक्सा उनका भाइ ज्ञानेन्द्र कार्कीले चलाउँछन् । अटो खरिद गरेको तीन वर्ष भयो । सुरुसुरुमा अटोमै डुलाएर उनी तरकारी बिक्री गर्थे । तर अहिले तरकारी खरिद गर्ने व्यापारी गाउँमै आउन थालेपछि भाइलाई अटोरिक्सा रोजगारीको माध्यम भएको उनले बताए । अटोरिक्सा कर्णाली सुर्खेत–जुम्ला राजमार्गमा सञ्चालन हुन्छ ।

vimbahadur (7)

कार्की भन्छन्, ‘अहिले पनि ६–५ महिनाको फरकमा क्यान्सरको फलोअपका लागि भरतपुर गइरहन्छु । अर्कातिर आमा दमको रोगी छिन् ।’

यद्यपि तरकारी खेतीको आम्दानीबाट सहज रुपमा जीवन चलिरहेको उनले बताए । अहिले उनको कृषि क्रान्ति हेर्न आसपासका गाउँबाट पनि प्रशस्त मानिस आउँछन् ।

क्यान्सर भएको मान्छे कसरी आत्मविश्वास आयो नि ? भन्ने प्रश्नमा उनले मुस्कुराउँदै जवाफ दिए, ‘बिरामी हो भन्ने सोचियो भने त झन् बिरामी हुन्छ नि ! रोगलाई जित्छु भन्ने आत्मविश्वासका साथ हिँड्नुपर्छ । अहिले म धेरै तौलको सामान उठाउन नसके पनि अधिकांश काम आफैँ गर्छु ।’

vimbahadur (2)

भीमबहादुरको मेहनतप्रति उनकी श्रीमती कमला महतरा कार्की गौरव गर्छिन् । उनले भीमबहादुरलाई सघाएकी पनि छन् । बारीको अधिकांश काम परिवार मिलेरै गर्ने गरेको र धेरै काम भएको समयमा मात्रै गाउँमा मान्छेहरू लगाउने गरेको कमला बताउँछिन् ।

कुनै बेला एउटै बाली पनि राम्रोसँग उब्जनी नहुने गारुवाँ डाँडामा अहिले चार पटकसम्म मौसमी, बैमौसमी तरकारी खेती हुन्छ । कमलाका अनुसार भदौपछि काउली, बन्दा, फेरि टमाटर लगाइन्छ भने कार्तिकपछि फेरि बन्दा, काउलीको सिजन आउँछ ।

कार्की दम्पतीको अबको लक्ष्य थप दुई रोपनीमा तरकारी खेती बढाउने हो । उनीहरूले बारीमा बजारको मल प्रयोग गर्दैनन् । चार वटा गाई–गोरुसमेत पालेकाले गोठे मलकै प्रयोग गर्दा पनि उत्पादन राम्रो भइरहेको उनीहरूको भनाइ छ ।

बजारको छैन समस्या

यहाँ तरकारीको बजारका लागि कुनै समस्या छैन । अहिले पनि कालिकोट सदरमुकाममा भारतको तरकारी आएको हुन्छ, जसमा विषादी प्रयोग भएको हुन्छ ।

भीमबहादुर भन्छन्, ‘आफैँ उत्पादनमा लागेपछि एकातिर घरमा खान पनि पुग्ने, अर्को बिक्री गरेर आम्दानी पनि हुने ।’

कार्कीको तरकारी अहिले कालिकोटको सदरमुकाम, उक्त सडक आसपासका साना बजार र जुम्ला सदरमुकामसम्म पुग्ने गरेको छ ।

उत्पादन भएको तरकारी खेर जाने अवस्था अहिलेसम्म नआएको उनले बताए । उक्त गाउँको तरकारी अहिले मान्म बजारका तरकारी व्यापारी ठम्म प्रसाद आचार्यले लिन्छन् । गाउँभन्दा माथिको तेस्रो बजारमा टेकबहादुर कार्कीको सङ्कलन केन्द्र छ, जहाँ गाउँको तरकारी हरेक बिहान जम्मा हुन्छ ।

आचार्य तरकारी मण्डीका साहु आचार्य त्यहाँबाट तरकारी उठाई जुम्ला सदरमुकाम र मान्म बजार लान्छन् । ठम्म प्रसादले तेस्रो बजारबाट मात्रै दैनिक ९ क्वीन्टल तरकारी उठाउँछन् र अन्य बजारहरूमा लगेर बिक्री गर्ने गर्दछन् ।

उनले भने, ‘आधा तरकारी मान्म बजारमा खपत हुन्छ, आधा जुम्ला बजारमा । बजारको खासै समस्या छैन । कहिले त बजारमा तरकारीको अभाव हुन्छ ।’

उनका अनुसार स्थानीय तरकारीले अझै पनि बजारको माग धान्न सकेको छैन । कुनै बेलाका कृषक आचार्य ०७५ सालबाट व्यापारी बनेका रहेछन् । उनी तेस्रो बजारको मात्र होइन, अन्त थुप्रै गाउँको तरकारी खरिद गरी बजारीकरण गर्छन् । उनका अनुसार केही वर्षअघिसम्म ८० प्रतिशत सुर्खेत (भारतबाट आएको) बाट आएको तरकारीमा बजार निर्भर हुन्थ्यो । अहिले ४० प्रतिशत स्थानीय तरकारीले धानेको छ भने बाँकी सुर्खेतबाटै आउँछन् । कृषकहरू व्यावसायिक उत्पादनमा लाग्नु सकरात्मक पक्ष हो, अझै उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।

गारुवाँ गाउँमा अहिले तरकारी सङ्कलनका लागि स्थानीय तहको सहयोगमा भवन पनि बनिरहेको छ । त्यसले अझ सहजता दिने अगुवा कृषक भीमबहादुर बताउँछन् । भन्छन्, ‘अब यो गाउँ कृषि गाउँका रूपमा चिनिने छ । उनी आफूमात्र होइन, उनको गाउँका सबैलाई व्यावसायिक तरकारी खेतीमा अग्रसर हुन भनिरहेका हुन्छन् ।

‘मैले अहिले सबैलाई धान, मकैभन्दा तरकारी खेती गर भनेर भन्छु, किनकि यसबाट फाइदा छ,’ उनी भन्छन्, ‘एक रोपनीमा उत्पादन हुने धानभन्दा तरकारी लगायो र केही मेहनत गर्यो भने त्यसले डबल फाइदा दिन्छ ।’

भीमबहादुरको भनाइ छ, ‘हाम्रा युवाहरू देशमा कामै छैन भन्छन्, खाडी मुलुक र भारत गइ दिनभर खटिएर काम गर्दा पनि हेपाइ खानुपर्छ । त्यही मेहनत आफ्नो ठाउँमा गरेर यहाँ सुन फल्छ । परिवारसँगै बस्न पाइन्छ ।’

vimbahadur (1)

कार्की अध्यक्ष रहेको नैनलदेव कृषि समुहका अधिकांश सदस्य कार्कीकै प्रेरणाले व्यावसायिक कृषितर्फ उन्मुख देखिन्छन् । कार्की दम्पतीको दैनिकी बिहान पाँच बजेदेखि सुरु हुन्छ । उनी भन्छन्, ‘गोडमेल गर्नुपर्ने गर्छौं, अनि बिक्री गर्ने भएको तरकारी टिपेर माथि तेस्रो बजारसम्म लग्छौँ । ११ बजेपछि खाना खाएपछि केही समय आराम गरिन्छ । त्यसपछि आवश्यकता अनुसार काम भइरहन्छ ।’

कार्की दम्पतीको उदारणीय कर्मबाट प्रेरित भइ अन्य कृषक पनि परम्परागत खेतीभन्दा आधुनिक खेतीतर्फ अग्रसर भइरहेको कृषि क्षेत्र विकास कार्यक्रमकी सहजकर्ता सपना विष्ट कार्की बताउँछिन् ।

कालापहाड जानेको सङ्ख्या घट्यो

गारुवाँ गाउँका ३५ घरधुरी छन् । कार्की समुदायको बाहुल्यता रहेको यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्थे । यद्यपि अहिले कालापहाड जानेको सङ्ख्या शून्यमा झरेको सहजकर्ता विष्ट बताउँछिन् । यो वर्ष दुई जना गए पनि फर्किहाले ।

अधिकांश थोरै जमिनमा भए पनि व्यावसायिक खेतीतर्फ अग्रसरमात्रै भएका छैनन्, घरमा खान पुगेर पनि बिक्री गर्ने भएका छन् । धेरैले छोराछोरी सहरतिर पढाउन पठाएका छन् भने गाउँका तीन जना सरकारी जागिरे छन् । सहजकर्ता विष्ट भन्छिन्, ‘एउटाको प्रेरणाले गाउँमा धेरै परिवर्तन आउने रहेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप