मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा कर्णाली सभ्यताबारे चर्चा

आइतबार, १६ असार २०८१, ०६ : ५५
आइतबार, १६ असार २०८१

सुर्खेत । भाषा तथा संस्कृतिविद्हरूले आधुनिक नेपालको आधार नै कर्णालीले दिएको दाबी गरेका छन् । वीरेन्द्रनगरमा जारी ‘प्रथम सांस्कृतिक सम्मेलन’ मा ‘प्राकृत नेपाली भाषा र कर्णाली सभ्यता’ विषयक बहसका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं साहित्यकार डा.महेन्द्रकुमार मल्लले कर्णाली सभ्यताले आधुनिक नेपाललाई मुख्य रूपमा भाषा दिएको बताए । ‘गर्वका साथ भन्न सक्नुपर्छ, नेपाली भाषा दियो । डेढ करोड मान्छेले अहिले बोल्ने भाषाको जननी खस भाषा हो,’ मल्लले भने, ‘त्यो कर्णालीले दिएको हो । भाषिक कोणबाट हामी समृद्ध छौँ ।’

अहिले सबैले जेलाई माध्यम बनाइरहेका छन्, जे बोलिरहेका छन्, त्यसको जननी खस भाषा भएको उनले बताए । कर्णाली सभ्यताले आधुनिक नेपाललाई आधुनिक नेपालको आधार पनि दिएको उनको तर्क छ । उनले भने, ‘यदि खस राजाहरूले कुनै पनि हालतमा आफ्नो साम्राज्य छाड्न नचाहेको भए आधुनिक नेपाल सम्भव हुने थिएन ।’

‘तेस्रो कुरा, मौलिक संस्कृति हो । यहाँ मागल लगायतका मौलिक नाच, रोपाइँ, चोपाइँ मनाउँछौँ, हामीले मष्ठो संस्कृति दियौँ,’ उनले भने, ‘जो वैदिक संस्कृतिभन्दा पुरानो छ । मौलिक संस्कृतिहरू कतै मेटिएर जाने र प्रभाव अन्य संस्कृतिको पर्छ कि भन्ने चिन्ता अहिलेको हो ।’

उनको विचारमा संस्कृति नै राष्ट्र«को मुल परिचय हो । त्यसलाई जगेर्ना गर्न नसके हाम्रो संस्कृति नामेट हुने चिन्ता उनले व्यक्त गरे ।

उनका अनुसार नागराजले विस्तार गरेको खस साम्राज्य काठमाडौँ उपत्यकामा समेत पुग्यो । तर खस राजाहरूले काठमाडौँ उपत्यकालाई आफ्नो बनाउन चाहेनन् । काठमाडौँ उपत्यकाबाट कर समेत लिए । सम्भवतः त्यसमा केही रहस्य लुकेको उनको अनुमान छ ।

भाषा र साहित्यका अध्येता प्राध्यापक डा. जीवेन्द्र देव गिरीले खस भाषा कर्णालीमै जन्मिएको र यो ११ औँ शताब्दीमा उत्पत्ति भएको बताए । ‘दामुपालको अभिलेख हेर्ने हो भने ११ औँ शताब्दीमा जन्मिएको बुझिन्छ,’ उनले भने, ‘अहिले पनि विभिन्न अभिलेख पढ्न पाइन्छ । थुप्रै अभिलेखले नै नेपाली भाषा ११ औँ शताब्दीमा जन्मिएको देखिन्छ ।’

कैयन नेपाली भाषाका नखुलेका गाँठाहरू कर्णालीले खोल्न सक्ने गिरीको भनाइ छ । ‘खस भाषालाई सम्पदाको भाषाको रुपमा विकास गर्नुपर्छ भनेर हामीले काम पनि गरेको हो,’ उनले भने, ‘यद्यपि त्यो काम अघि बढ्न सकेको छैन । नरहरिनाथले कर्णालीबारे लेखेका, संरक्षण गरेका कुराहरूले अहिले धेरैलाई खुराक दिएको छ ।’

पूर्वीय दर्शनका अध्याता पण्डित तिलक रिजाल भन्छन्, ‘भाषाविना दर्शनको उत्पत्ति हुँदैन । यदि भाषा नभएको भए मानव समाज यो अवस्थासम्म पुग्ने थिएन । कर्णाली खस सभ्यताले पनि आधुनिक नेपाललाई धेरै कुरा दिएको छ ।’

भाषाका अध्येता खडानन्द चौलागाइँले कर्णाली सभ्यताबारे देउडा गीत मार्फत यसरी भनेः

कर्णाली सभ्यता पिता नागराज र बली

सम्भताको मलजल गरौँ कठै गलीगली ।

माथि छन् मिलेका बस्ती तल स्याउका फारम

व्यापार गर्छु, पोको लाउँछु, जीवन छ है आराम ।

उल्लिखित देउडा शब्दहरूले कर्णालीको खस साम्राज्य र मानव बस्तीलाई समावेश गरेको छ । यद्यपि कर्णाली सभ्यताको सम्मान नभएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप