मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
पूर्वानुमान

मौसम विभागले यसरी गर्छ बाढी पूर्वानुमान, दैनिक पठाउँछ लाखौँलाई एसएमएस (भिडियो)

आइतबार, १६ असार २०८१, १९ : ००
आइतबार, १६ असार २०८१

काठमाडौँ । मनसुन सुरु भएसँगै देशभरका नदी तथा खोलामा बाढीको तह बढिरहेको छ । यसरी नदी तथा खोलामा जल सतह बढ्दा किनारका बस्तीमा जोखिम बढ्ने र क्षति हुने सम्भावना बढ्ने गर्छ । जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश गरेसँगै जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले २४ सै घण्टा जोखिमको अवस्था आउने बित्तिकै ती क्षेत्रमा रहेका बासिन्दालाई एसएमएस गरेर अलर्ट जारी गर्ने काम गरिरहेको छ ।

विभागले मनसुन अवधिमा बाढी पहिरोको जोखिम बढ्ने भएकाले वर्षाको अवस्था कस्तो छ, नदीहरूको अवस्था के छ भन्नेजस्ता जानकारी सङ्कलन तथा विश्लेषण गरी कतै जोखिमको अवस्था आएमा पूर्वसूचना जारी गर्ने गरेको हो ।

देशभरका विभिन्न खोला तथा नदीमा ३ सय वटा स्वचालित वर्षा मापन केन्द्र र २ सय वटा जति नदीमा पानीको सतह जाँच गर्ने स्वचालित उपकरणहरूबाट आएको विवरणका आधारमा त्यस क्षेत्रमा रहेका बासिन्दालाई मोबाइलमा एसएमएस पठाएर अर्लट जारी गर्ने गरिएको बाढी पूर्वानुमान शाखाका हाइडो इन्जिनियर सुमित अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

स्वचालित वर्षा मापन र जल मापन उपकरणहरूले दश–दश मिनेटको फरकमा त्यहाँ परेको पानीको मात्रा र नदी तथा खोलामा जल सतह कुन अवस्थामा छ, त्यसको अवस्थाको विवरण डाटा सर्भरमा पठाउने गर्दछ ।

बाढीले खोलाको सतह पार गर्ने अवस्थामा नेपाल टेलिकम र एनसेल मोबाइल नम्बरमा ती निकायको सहयोगमा तत्काल ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको मोबाइलमा पूर्वसूचना (अलर्ट) एसएमएस पठाउने अधिकारीले जानकारी दिए ।

vlcsnap-2024-06-28-17h32m44s894उनले भने, ‘वर्षाको कारण हुने आकस्मिक बहाव र पहिरोजन्य जोखिम थाहा पाउन हामीले वर्षाको पनि थ्रेसहोल्ड निर्धारण गरेका छौँ । जस्तै १ घण्टामा ६० मिलिमिटर पानी प¥यो भने आकस्मिक बहाव र पहिरोको जोखिम हुने गर्दछ । हाम्रो वर्षा मापन केन्द्रमा १ घण्टामा ६० मिलिमिटर भन्दा बढी पानी परेको छ भने त्यस्तो अवस्थामा ती क्षेत्रमा पनि हामीले एसएमएस पठाउने गरेका छौँ ।’

देशभरका विभिन्न क्षेत्रमा खतराको अवस्था देखिने बित्तिकै एसएमएस गर्दा दैनिक औसतमा ५ लाखसम्म एसएमएस पठाउने गरिएको इन्जिनियर सुमित अधिकारीले बताए । आधा घण्टाभित्र १ लाख एसएमएस पठाउने क्षमता रहेको उनको भनाइ छ ।

पछिल्लो २४ घण्टामा बाढी वा भारी वर्षा भएको क्षेत्रमा जो जो मोबाइल भएका व्यक्ति छन्, ती व्यक्तिको मोबाइल नम्बर जल तथा मौसम विज्ञान विभागले एनसेल र टेलिकमबाट लिन सक्ने व्यवस्था गरिएको पनि उनले बताए । प्राप्त नम्बरमा तत्काल एसएमएस पठाउने गरिएको उनको भनाइ छ ।

स्वचालित जल सहत मापन यन्त्रबाट आएको डाटा सिधै जल तथा मौसम विभागको वेबसाइटमा अपडेट हुने व्यवस्था गरिएको छ । ती स्वचालित उपकरणमा एनसेल र एनटीसीको सिम जोडिएको हुन्छ । मोबाइल नेटवर्क नपुगेको स्थानमा भने स्याटेलाइट प्रविधिबाट हरेक दश–दश मिनेटमा केन्द्रीय डाटाबेस सर्भरमा आउने व्यवस्था गरिएको उनले बताए ।

दैनिक झण्डै ५ लाख जनालाई एसएमएस अलर्ट

भारी वर्षा भएको स्थानबाट त्यहाँको उपकरणले पठाएको आँकडाको आधारमा विभागले नेपाल टेलिकम र एनसेलको नम्बरमा पूर्वसतर्कताका लागि जुनसुकै समयमा एसएमएस पठाउने गरेको छ ।

देशभरका विभिन्न क्षेत्रमा खतराको अवस्था देखिने बित्तिकै एसएमएस गर्दा दैनिक औसतमा ५ लाखसम्म एसएमएस पठाउने गरिएको इन्जिनियर अधिकारीले बताए । आधा घण्टाभित्र १ लाख एसएमएस पठाउने क्षमता रहेको उनको भनाइ छ ।

एसएमएसका साथै फेसबुक पेज, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट पनि जानकारी दिने गरिएको छ । यस्तै जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि आफू बस्ने क्षेत्रमा बाढी र वर्षाको अवस्थाबारे सर्वसाधारणले फोन गरेर जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।

२०७४ सालदेखि नै यसरी एसएमएस पठाउने प्रणालीको विकास सुरु गरे पनि पछिल्लो समय भने निकै प्रभावकारी भएको उनले बताए ।

अघिकारीले भने, ‘एसएमएस पठाउन थालेपछि मानवीय क्षति धेरै नै न्यूनीकरण भएको छ । मानिसको ज्यान जोगाउनका लागि एसएमएस प्रणाली निकै प्रभावकारी भएको छ । डाटाहरू हेर्दा बाढीबाट बर्सेनि डेढ–दुई सयको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या तीस–पचासको हाराहारीमा आएको छ ।’

मौसम विभागले यो वर्ष कोशी र मधेस प्रदेशमा ३७ वटा जल सतह मापन केन्द्र र २५ स्थानमा वर्षा मापन केन्द्र स्थापना गरेको छ ।

मनसुन प्रणाली थप सक्रिय हुँदै

गत असार १० गतेदेखि देशभर मनसुन फैलिएको बताइए पनि सबै भूभागमा राम्रोसँग वर्षा भइरहेको छैन । मनसुन सक्रिय भएको ५ दिन सम्म पनि मनसुन कमजोर भएकाले पर्याप्त पानी नपरेको मौसमविदको भनाइ छ ।

शुक्रबार रातिदेखि भने मनसुनको प्रणाली अझै सक्रिय र बलियो भएर गएकाे वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीलाई जानकारी दिइन् । देशभर बढी मात्रामा बादल लागेको र दिउँसोभन्दा रातको समयमा पानी बढी पर्ने अवस्था रहेको उनले बताइन् । केही दिनका लागि यो प्रक्रिया जारी रहने उनको भनाइ छ ।

उनले भनिन्, ‘यसअघिका दिनमा अलि मनसुन पूर्णरूपमा सक्रिय नभएका कारण पानी कम परेको हो । मनसुन भित्रिएर पनि पूर्ण सक्रिय नभएका कारण काठमाडौँ लगायतका विभिन्न भूभागमा पूर्ण रूपमा पानी पर्न नसकेको हो ।’

IMG_8430

बिहीबारदेखि बादल लाग्ने प्रणालीको विकास बढेको मानन्धरले बताइन् । ‘पानी पार्ने मनसुनी वायु बलियो खालको हुनुपर्ने हुन्छ । मनसुन भित्रिएपछि देशको पूर्वी भागमा भारी मात्रामा वर्षा भइरहेको छ, उनले भनिन्, ‘पूर्वबाट अन्यत्र फैलिनका लागि पनि समय लाग्यो । जेठ २८ देखि असार १० सम्म नेपालमा मनसुन भित्रिने क्रममा यसको गति कमजोर थियो, तर हिजो अस्तिको तुलनामा आजदेखि देशभरि नै मनसुन अलि बढी सक्रिय हुने देखिन्छ ।’

देशभरि नै बादल पनि लाग्ने, सबै भूभागमा एकछिन पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ । आगामी केही दिनमा देशभरि नै भारी वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद मानन्धरले बताइन् । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप