मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भानु जयन्तीमा खुला कविता र रामायणवाचन प्रतियोगिता हुने

शनिबार, १५ असार २०८१, २२ : २३
शनिबार, १५ असार २०८१

दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा जन्मभूमि तनहुँको भानुमा खुला कविता, विद्यालयस्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुने भएको छ । 

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु जयन्तीका अवसरमा असार २८ गते भानु नगरपालिका–४ चुँदीरम्घामा खुला कविता र रामायणवाचन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले असार २६ गतेभित्र कार्यालय वा इमेलमा कविता पठाउनुपर्ने विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

खुला कविता प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने दुई जनालाई जनही रु एक हजार पाँच सय प्रदान गरिने रानाभाटले जानकारी दिए । 
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ । 

रामायण वाचनमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीय हुनेलाई रु एक हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच सय प्रदान गरिनेछ ।

भानु जयन्तीका अवसरमा असार २७ गते स्थानीय मठ मन्दिरमा पूजाअर्चना, यही असार २८ गते खुल्ला कविता, विद्यालय स्तरीय कविता र रामायण वाचन प्रतियोगिता हुनेछ । असार २९ गते बिहान ७ बजे बाजागाजासहित समितिको कार्यालयबाट भानु प्रतिमास्थल रम्घासम्म प्रभातफेरी, भानु प्रतिमामा पूजाअर्चना, ११ बजेदेखि चुँदीरम्घामा विभिन्न झाँकी प्रदर्शन, कविगोष्ठी, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम हुनेछ । 

भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप