मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपाभित्र असन्तुष्टहरूको आवाज : पार्टी विधान उल्लंघन गर्ने विश्वविद्यालय बन्यो

शनिबार, १५ असार २०८१, २१ : ३३
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेतृत्वको आत्मकेन्द्रीत कार्यशैली भएको जिकिर गर्दै राप्रपाभित्र असन्तुष्टि देखिएको छ । ‘नयाँ नेतृत्व आएपछि विगतका गल्ती कमजोरी अन्त्य हुन्छ, राप्रपा सुशासनको उदाहरण बन्छ भन्ने अपेक्षा थियो । तर, चरण चरणमा विधान उल्लंघन भएको छ । नयाँ नेतृत्वबाटै तेरो र मेरोको अवस्था सिर्जना गरिएको छ, गुटबन्दी चुलिएको छ,’ राप्रपाका निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले भने ।

उनको भनाइमा, पार्टी संस्थापनको एकलौटी, हस्तक्षेप र अपरिपक्वताका कारण देशभरिका जिल्ला सङ्गठनहरू विवादै विवादमा अल्झिएका छन् । जसको प्रतिफल पार्टी सङ्गठन कमजोर बनेको छ भने कार्यकर्ता पंक्ति चिन्तित छन् ।

‘सबै तह र समितिहरूमा ७५ प्रतिशत सदस्य निर्वाचित हुने वैधानिक व्यवस्था भए पनि, विधानको मर्म र भावना विपरीत, केन्द्रीय समिति र कार्यसम्पादन समितिमा समेत महाधिवेशनमा पराजित भएका, मनोनितहरुको बहुमत छ । राप्रपाको इतिहासमा यस प्रकारको गुटबन्दी, पक्षधरता कहिले देखिएको थिएन,’ कार्कीले भने ।

विधान मिचेर केन्द्रीय निर्वाचन समिति गठन गरेको भन्ने अध्यक्ष राजेन्द्र लिङ्देनमाथि अर्को आरोप छ भने जसले केन्द्रीय तहमै असन्तुष्टि छ ।

एक पदाधिकारीले भने, ‘विधानको अवहेलना गरेर, केन्द्रीय समितिलाई छलेर अध्यक्षले खल्तीबाट निर्वाचन समिति बनाएका छन् । अध्यक्षकै कारण राप्रपा विधान उल्लंघन गर्ने विश्वविद्यालय र गुटबन्दीको कारखाना बनेको छ । नयाँ पुस्ताका अध्यक्षबाट यस्तो अप्रजातान्त्रिक काम कारबाही सपनामा पनि कल्पना गरिएको थिएन ।’

राप्रपा विधानको धारा ५१ (२) मा भनिएको छ, ‘अध्यक्षले केन्द्रीय कार्य समितिको सहमतिमा आवश्यक सङ्ख्यामा पदाधिकारी र सदस्यहरू रहेको केन्द्रीय निर्वाचन समिति गठन गर्नेछ ।’

उत्साह र प्रेरणाको साटो पार्टी नेतृत्वबाट ह्यारासमेन्ट भएको भन्दै महिला संगठनकी अध्यक्ष अंजना शाह रावलले यस अघि राजीनामा गरेकी थिइन् । काम गर्ने वातावरण सिर्जना गरेर उनलाई पार्टीमा फर्काउनुपर्ने असन्तुष्ट पक्षको भनाइ छ । तर संस्थापनले भने पार्टीमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ।

rpp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप