सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजी

चुनाव हार्ने डरले प्रेस युनियन भागेको आरोप
शनिबार, १५ असार २०८१, १७ : ५५
शनिबार, १५ असार २०८१

काठमाडौँ । निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा माग गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरूको संघ, संगठनले काठमाडौँको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।

महासंघले निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरूले मनोनयन गर्ने कार्यतालिका थियो । तर कांग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका संगठनहरुले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेको हो । 

उम्मेदवारी दर्ता गर्ने महासंघको हरेक सदस्यको अधिकार सुरक्षित गराउनका लागि आफूहरूले महासंघको नेतृत्वको ध्यानाकर्षण गराएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताए। उनले निर्वाचन कार्यतालिका अनुसार मनोनयनको काम अघि नबढाएर निर्वाचन समिति र महासंघको नेतृत्व चुनाव हार्ने डरले भागेको भन्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष बस्नेतले निर्वाचनबाटै निर्वाचित महासंघको अध्यक्ष पोखरेलले निर्वाचनबाट भाग्ने खालको गतिविधि गर्न नहुने पनि बताए ।

उनले भने, ‘निर्वाचनमा हारजित हुनसक्छ । तर जे भएपनि निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्छ भनेर प्रेस चौतारी नेपालको तर्फबाट हामीले नोमिनेशन दर्ता गर्न म अध्यक्षको उम्मेदवारसहित यहाँ लिएर आएको थिएँ । तर यहाँ आउँदा ताला लागेको रहेछ । साथीहरू जम्मा हुनुभएको छ । निर्वाचन समितिका पदाधिकारीहरू कहाँ हुनुहुन्छ ? हामीले थाहा पाएका छैनौँ । नेपाल पत्रकार महासंघका अध्यक्षज्यू भाग्नु भएको भन्ने जानकारी मैले पाएको छु । उहाँहरू कता भाग्नु भएको हो ? थाहा छैन । उहाँहरूले निर्वाचन प्रक्रिया अनुसार मनोनयनका लागि तयार हुनुहुन्छ भन्ने विश्वासका साथ यहाँ बसिराखेका छौँ । अहिले हामी उम्मेदवारी मनोनयनका लागि आएका हौँ । उम्मेदवारी मनोनयन गर्न आएका साथीहरूले मनोनयन गर्ने ठाउँ नपाएपछि गर्नु भएको होला नाराबाजी । नेपाल पत्रकार महासंघका जति सदस्य साथीहरू हुनुहुन्छ । हरेक सदस्यलाई उम्मेदवारी मनोनयन गर्ने अधिकार छ । उहाँहरू स्वतःस्फूर्त रूपमा उम्मेदवारी मनोनयन गर्न आउनु भयो । अव मनोनयन गर्न यहाँ आउँदा के भयो । नोमिनेशनका लागि साथीहरू आउनु भएको छ । र अध्यक्षज्यू यसरी भाग्नु हुन्नथ्यो भन्ने मलाई लाग्छ । यद्यपि हामी खोजिराखेका छौँ । उहाँ भाग्नु हुन्न । किनभने मतदानबाटै उहाँ निर्वाचित हुनुभएको हो । उहाँ नेपाल पत्रकार महासंघको सदस्यबाट नै निर्वाचित भएको अध्यक्ष हो भने पक्कै यहाँ आउनु हुन्छ । र, स्थिति सम्हाल्नु हुन्छ भन्ने मेरो विश्वास हो ।’

नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिएको छ । त्यसका लागि असार १५ गते (आज) मनोनयन कार्यतालिका तय गरिएको थियो । तर नेपाल प्रेस युनियनबाट निर्वाचित महासंघको नेतृत्वले निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ । अध्यक्ष गणेश बस्नेतले महासंघलाई वैधानिक रूपमा अघि बढाउन पनि यसको निर्वाचन प्रक्रियालाई अघि बढाउनुको विकल्प नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप