डा. रजनी ढकालका तीन कविता
१) सारी लगाउँदैमा पढाउन आउँछ ?
सारीकै फेरबाट खसेर
सारीकै आँचलमा हुर्केर
दम्भ र अभिमानको टोपी मिलाउँदै
कुशासनको कोट भिरेर
रुढ सत्ता कुर्लिन्छ
‘सारी लगाउँदैमा पढाउन आउँछ ?’
तिमीझैँ कक्षाकोठाभित्र
दमनको पदचाप पड्काउँदै
अहङ्कारको औँलो ठड्याउँदै
वैयक्तिक रिसरागका पागलपन गाउँदैनौँ हामी
वर्चस्वको हतियारले काट्दैनौँ
विद्यार्थीका सिर्जनशीलता
र
भाषणमा बाल्दैनौँ हीनताको क्रोधाग्नि ।
हामी त बजाइरहन्छौँ
कर्मको सङ्गीत र चेतनाको महागान
अनि घन्काइरहन्छौँ ज्ञानको सारेगम ।
हो, महोदय
मजाले आउँछ हामीलाई
सारी लगाएरै पढाउन
सारी लगाएरै गाडी चलाउन
साइकल, स्कुटी र बाइक गुडाउन
अनि सारी लगाएरै प्लेन र हेली उडाउन
सारी लगाएरै प्रेम गर्न अनि सारी लगाएर नेतृत्व गर्न ।
सारी लगाएर रणभूमिमा उभिएका हौँ
सारी लगाएरै उच्च शिक्षा लिएका हौँ
सारी लगाएरै नासाको वैज्ञानिक पनि बनेका हौँ
मेरो शरीर मेरो चयन
मेरो पहिरन मेरै पहिचान ।
होसियार महोदय
नगर अभिमान
हामी सारी लगाएरै
लगाउन सक्छौँ तिमीलाई ठेगान !
२) सुदखोरको तस्बिर
सहयोगका नाउँमा
मिजासिलो अनुहार भिरेर
तमसुकका नाउँमा
जाली कागज बुनेर
निश्चित अङ्कपछाडि
शून्य
हो, शून्य थपेर
ब्याजको स्याज उठाउँदै
सर्वस्व जुलुम गराउने
सुदखोरको तस्बिर हो यो !
सुन सरकार,
सुदखोरले दबाएको सीमान्त आवाज
विवशताको फाइदा उठाउँदै
कृषकलाई नै भूमिहीन बनाई
जसले बुन्यो यो लुटको जाल
सास फेर्दाफेर्दै मरेसरि बनाउने
अज्ञान र अशिक्षाको अन्धकार
मसँग छ कि सुदखोरसँग ?
भन न सरकार,
सुखसँग मर्न पनि नदिने
यो पीडक
सुदखोरको तस्बिर
छाती छातीमा टाँसेर
किन नाप्नु परिरहेछ यो सडक ?
न्याय देऊ सरकार
म खुशबुन निशा
नवपरासीको सडकबाट
नाघिरहेछु काठमाडौँको रापिलो सडक
अन्यायमा छु
र
गवाहीमा पेस गरिरहेछु
यी दुई सागर नयनहरू अनि
जगैदेखि चिथोरिएको एक घर हृदय !
३) सत्ता नाटक
तिम्रो फरक मत
रोकावटको आग्लो हो कि
साँझबत्तीको उज्यालो ?
बगिरहने समयको गति
किन छेकी बस्छौ महोदय ?
अँध्यारोको खोल ओढेर
उज्यालोलाई छोप्न खोज्दै
विमतिका नाउँमा कुतर्क बोकेर
नौटङ्की शब्दझेलमा
रोप्न खोज्दैछौ कुन अवतार ?
सत्ता नाटकको बदलिरहने दृश्य
पटक–पटक मञ्चन गरिरहेछ कथित बौद्धिकता
जसरी चियाका कप कपबाट उडिरहेछ समय
उसैगरी उपवेशमा बाझिरहेछन् प्रज्ञावान् विचारहरू ।
प्रिय मित्रहरू,
स्वीकार गर्नै नचाहने सत्यसँग
बुझेर पनि बुझ पचाइरहने
आवेगी आडम्बरका कृत्रिम सूक्तिहरू
सुनाइरहनू गाँठो परेको निकासहीन भिडलाई
जहाँ रहनेछैनन् मातृजातिको कुनै अस्तित्व ।
ठोकिरहनू आफ्नै शक्तिको डम्फू
बोकिरहनू पुरुषसत्ताको सपना
बुनिरहनू सुन्दरी भोगको चाहना
अनि सम्भोग गरिरहनू मृत समयसँग ।
बनाइरहनू लिलिपुटे विचारको साम्राज्य
र बनिदिनू
कठपुतला समयको बादशाह ।
सत्ताको बैसाखी आडमा
ढुलमुल ढुलमुल गर्दै
आवाजमा पाइन चढाइरहने पौरखी मित्रहरू
पखेटा लागेका सपनासँग उडिरहेछन् तिम्रा सन्तानहरू ।
शिक्षण गर रित्ता कक्षाकोठाहरूलाई
भाषणमा गर प्रज्ञामन्दिरको विकास
अनि शासन गरिरहनू
अनन्त कालसम्म
उनै महान् सहिदहरूलाई ।
समयको बन्दी पर्खालभित्र
सत्ता, शक्ति र भोगको एकोहोरो लिप्सा
गाँजिइरहेको ऐँजेरुझैँ विषाक्त छ
खिल पल्टेको समयले
विकल्प खोजिरहेछ
दृष्टिकोणहीन गठबन्धनका विरुद्ध उदाउन ।
फालेर ऐँठन
च्यातरे हठी पर्दाहरू
नेतृत्वमा लाम लागिरहेको
उही पुरानो परिचयलाई
च्वाट्ट च्वाट्ट काटेर
निकास खोजिरहेछ प्राकृतिक प्रवाह ।
आऊ फरक शक्तिहरू
लडौँ यो ज्यादतीका विरुद्ध
खोजौँ नयाँ उज्यालो
जहाँ भेटिन्छ न्यायको सुन्दर सन्देश
र भोग्नुपर्दैन कुनै पनि विभेदका आभासहरू
तोड, भत्काऊ यी बेमेल पर्खालहरू
ठुन्क्याऊ औपनिवेशिक नेलहरू ।
उठ, जाग र बनाऊ
एउटा सुन्दर संसार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट एघार करोडको चिया निर्यात
-
‘कर्णालीका सडकको मर्मत र सुरक्षालाई ध्यानमा राखेर काम गर्छौं’
-
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा वसन्त खत्री
-
आईपीएलको मेगा अक्सनमा फेरि थपियो जोफरा आर्चरको नाम
-
आगामी सिजनको आईपीएल मार्च १४ मा सुरु हुने
-
कर्णालीको दुर्भाग्य : जथाभावी खनिन्छ सडक, दुर्घटना बढेको बढ्यै