मृगतृष्णा
परार ठुलो एकादशीको दिन, हामी राम्दीमा नुहाउन जाँदा बिहानको ७ बजिसकेको थियो । त्यहाँ जात्राको अघिल्लो दिनदेखि नै राम्दीमा नुहाउन र सिद्धबाबाको पूजा गर्न टाढा–टाढा गाउँघरबाट भेला भएका भक्तजन र स–साना व्यापारीका जमघट हुन्छ रे भनेको सुनेकी थिएँ । त्यस दिन भने आफ्नै आँखाले प्रत्यक्ष देख्ने सुअवसर पाएकी थिएँ ।
हुन पनि साँच्चै रहेछ, हामी त्यहाँ पुग्दा राम्दीको फराकिलो ढुङ्गे बगरमा, गण्डकीको किनारमा, पुलवारि–पुलपारि जम्मै ठाउँमा मानिस डफ्फा–डफ्फा भएर कोही नुहाउँदै थिए, कोही व्यापार गर्न बसेका थिए । कोही पूजा गर्न भनी सिद्धबाबाको मन्दिरमा जाने भर्याङ उक्लिँंदै गरेका देखिन्थे । जताततै मिठाई पसल थिए, घरीका घरी केरा अनि डोका भरि–भरि सुन्तला बेच्न राखिएका थिए ।
चुरा पसलहरूमा गाउँबाट आएका तरुनीहरूको जमात रङ्गी–विरङ्गी फरिया, चोलो लाएर गालामा लालीगुँरास फुलाउँदै गाजलु आँखामा इन्द्रधनु उमार्दै झुम्मिएको थियो । साँच्चै नै त्यसबेला राम्दीको छातीमा एउटा कुनै अदृश्य तुलिकाले आफ्नो पवित्र गाथा अङ्कित गरिरहेझैँ भान हुन्थ्यो । त्यहाँ त्यस घडी मानिसको उन्मुक्त आचरण र ईश्वरप्रति विश्वास देख्दा मलाई आफ्नो सहरिया जीवन अनायासै खोक्रो लाग्न थालेको थियो ।
पुलदेखि अलि परको एउटा भर्याङ ओर्लेपछि नुहाउनका निम्ति कुनै सुरक्षित ठाउँ खोज्दै हामी निकै पर बगरमा पुगेका थियौँ । जहाँ मानिसको घुइँचो अलि कम देखिन्थ्यो । एउटा ठुलो ढुङ्गाको आडमा नदीको किनारमा हामी नुहाउन लागेका थियौँ । त्यसबेला अरु भक्तजन कोही नुहाउँदै गरेका, कोही जप गर्दै गरेका, कोही सूर्यलाई जल अर्पण गर्दै गरेका र कोही नुहाईवरि त्यही किनारमा ढुङ्गालाई ईश्वरको प्रतिमूर्ति बनाई धुप फूलले पूजा गरिरहेका थिए ।
मेरो स्वर सुन्नासाथ क्षणभरका निम्ति उनी स्तब्ध भएझैँ देखिन्थिन् । त्यसपछि उनी झस्किएर चारैतिर आँखा घुमाएपछि फनक्क फर्केर मेरो आह्वानको कुनै प्रत्युत्तर नदिएर लमक–लमक उँभोतिर लागिन् ।
नुहाउँदा नुहाउँदै अनायासै मेरा आँखा अलिपर माथि ढिस्कोमा बसेकी संन्यासिनीमाथि पर्यो । गेरु वस्त्रमा सजिएकी उनको एउटा हातमा त्रिशूल र अर्को हातमा भिक्षापात्र थियो । उनले आफ्नो कैलो केशलाई जटाका रूपमा सोहोरेर तालुमाथि जुरो बनाई त्यसलाई रुद्राक्ष मालाले बेरेकी थिइन् । अनि, निधारभरि खरानीका धर्सा भएकी उनले मतिर निर्निमेष एकोहोरिएर हेरिरहेकी थिइन् । केहीबेरका निम्ति उनका र मेरा आँखा जुधेका पनि थिए । त्यस आँखाको नीलोपनलाई मैले पहिले पनि कता–कता देखेझैँ लाग्न थालेको थियो । म मेरो मस्तिष्कमा उठेको प्रश्नको उत्तर स्वयंसँग खोज्न थालेकी थिएँ । ‘कहाँ देखेकी हुँ मैले यी आँखालाई ! कहाँ ?’ मेरो अन्तरात्मालाई यही प्रश्नले घोँचिरहेको थियो । अनि अनायास मैले चिच्याएँ– ‘सानी मुमाऽऽ !’
मेरो स्वर सुन्नासाथ क्षणभरका निम्ति उनी स्तब्ध भएझैँ देखिन्थिन् । त्यसपछि उनी झस्किएर चारैतिर आँखा घुमाएपछि फनक्क फर्केर मेरो आह्वानको कुनै प्रत्युत्तर नदिएर लमक–लमक उँभोतिर लागिन् । ‘सानी मुमा, सानी मुमा !’ भन्दै म अत्तालिँदै रुझेको शरीर लिएर बगरमा दौडन खोजेँ ।
‘के भयो हँ ? कसलाई डाक्नुभएको यस्तरी ..?’ मसँगै गएका साथीहरूले प्रश्न गर्दा मात्र मलाई आफ्नो स्थितिको बोध भयो ।
‘होइन होइन, चिनेजस्तो लाग्यो र !’ मैले खिन्न भएर उत्तर दिएँ ।
त्यसपछि त्यस दिन राम्दीबाट घर नफर्कुन्जेलसम्म मेरो मन छटपटिरह्यो । सँगै गएका साथीहरू स्याङ्जाको सुन्तला र केरा किन्नमा व्यस्त देखिन्थे । मेरा नजर भने काली गण्डकीको तीरमा, त्यहाँको फराकिलो बगरमा, भक्तजनहरूको भिडमा, नदीमाथि तोरण बाँध्न आउनेहरूको हुलमा, जताततै उनै संन्यासीरूपी सानी मुमाको खोजीमा लागिरहेको थियो, उनलाई पछिल्ला २० वर्षदेखि हामीले मृत सम्झिरहेका थियौँ ।
हो, देखेको सत्य हो भने मैले त्यस दिन राम्दीमा सानी मुमालाई नै देखेकी हुँ । आज वर्षौं बितेर गए पनि मैले उनको कैलो केश र नीलो आँखालाई कसै गरी पनि बिर्सन सकेकी छैन ।
हुन त आज म स्वयं पनि यौवनलाई टाढा छाडेर प्रौढतातिर लम्किरहेकी छु, तर पनि मेरो बाल्यकालको कलिलो स्मृतिपटमा अङ्कित त्यस गाथालाई आजसम्म पनि बिर्सन सकेकी छैन, जसमा कुनै न कुनै रूपमा म पनि सहभागी रहेकी थिएँ । सानी मुमाको वैभवपूर्ण विलासी जीवन र कठोर अन्त्यको साक्षीमा म पनि एक थिएँ ।
जसको अस्तित्वसम्मलाई आज उनकै सन्तानले धरि बिर्सिसकेका छन् । तिनलाई त्यस दिन अचानक संन्यासिनीका रूपमा देख्दा म अवाक् भएकी थिएँ । उनले मेरो स्वर सुनिदिएको भए ! उनले केहीबेर मात्र अडिएर मेरा कुरा सुनिदिएको भए ! ऋतु र बिशुको सफल वैवाहिक जीवनको कुरा, अजयको सफल जीवनको कुरा, सानो बुवाको असहनीय रोगको कुरा— सबै सबै कुरा मैले उनलाई सुनाउने थिएँ ।
साँच्चै उनी अत्यन्तै सुन्दरी थिइन्, तर प्रत्येक सुन्दर वस्तुमा कुनै न कुनै खोट हुन्छ भनेझैँ उनीमा पनि एउटा खोट थियो, जुन खोटले गर्दा उनले जीवनमा कसैको चोखो प्रेम पाएर पनि अन्त्यमा त्यसैबाट अपमानित भएर गृहत्याग गर्न बाध्य भइन् ।
सानी मुमा जसबाट प्रताडीत भएर, जसको व्यङ्ग्यबाण र अत्याचारले आजित भएर आफ्ना कोखको सन्तानसम्मलाई त्यागेर आज तपाईं संन्यासिनी भएर देश–देशान्तर हिँडिरहनुभएको छ; यता उनी तपाईंबाट टाढिएदेखि नै तपाईंकै स्मृतिलाई छातीमा टाँसेर पल प्रतिपल आत्मदाहमा जलिरहेका छन्, गलेर टुक्रिरहेका छन् । परिवारको माझमा बसेर पनि उनी एक्लो निरीह जीवन बिताइरहेका छन् । अतीतलाई सम्झँदा–सम्झँदा थाकेर हतास भई अब त उनले वर्तमानलाई समेत बिर्सिसकेका छन् । हो, सानो बुवा विक्षिप्त भइसकेका छन् ।
तर के सानी मुमाले मेरो कुरामा विश्वास गर्ने थिइन् होला र ! कारण जुन पुरुषको प्रेमपासोमा परेर उनले वैभवपूर्ण जीवनको ऐश्वर्य गुमाइन्, जुन पुरुषको चाहनामा उनले हजारौँ धनवान, सुदर्शन पुरुषहरूको विवाहको प्रस्तावलाई अस्वीकार गरिन् । जुन पुरुषको साहचर्यका निम्ति उनले हजारौँ तृषित हृदयलाई लत्याएर उनलाई अपनाइन्, अन्त्यमा तिनै पुरुषको उपेक्षा, घृणा र व्यंग्यवाणबाट छुटकारा पाउनको निम्ति उनले आफ्नो कोखको सन्तानसम्मलाई पनि परित्याग गर्नुपर्यो तर तिनै पुरुष आज उनैको स्मृतिमा पल प्रतिपल पश्चातापको आगोमा जलेर विक्षिप्त भई एकान्त कोठाको शून्यताभित्र छटपटाइरहेका छन् भन्दा के उनले विश्वास गर्थिन् होला र ?
त्यसताका तुषारमल्लिकाको नाम घरघरै चर्चित भएको थियो । हुन पनि किन नहोस्, गोरो छरितो शरीर र सागरजस्तै नीला दुई स्वप्निल आँखाकी स्वामिनी थिइन् उनी, जसको केश सुनौला र देह नौनीजस्तै कोमल थियो । त्यस्ती नर्तकीलाई झिलिमिली सितारा जडेको पोसाक लाएर सोह्र शृङ्गार गरी मनमोहक कटाक्ष र भावपूर्ण गतिमा रङ्गी–विरङ्गी प्रकाशको ज्योतिमा मञ्चमा नृत्य गरेको देख्दा कसको मनको पक्षीझैँ फटफटाएर उड्न तम्सेन होला र ?
साँच्चै उनी अत्यन्तै सुन्दरी थिइन्, तर प्रत्येक सुन्दर वस्तुमा कुनै न कुनै खोट हुन्छ भनेझैँ उनीमा पनि एउटा खोट थियो, जुन खोटले गर्दा उनले जीवनमा कसैको चोखो प्रेम पाएर पनि अन्त्यमा त्यसैबाट अपमानित भएर गृहत्याग गर्न बाध्य भइन् ।
उनको विषयमा हाम्रो टोलमा अनेकौँ प्रकारका कुरा सुनिन्थे । जस्तै : उनी सानै बालिका छँदा कसैले कलकत्ता लगेर बेचेको र त्यहाँ त्यस्तै नराम्रो गल्लीमा हुर्किएर पछि युवती भएपछि वेश्यावृत्ति गरेर बस्थिन् रे, आदि–इत्यादि । सत्य के थियो, कसैलाई थाहा थिएन । यहाँसम्म कि उनैका दिदीभिनाजु जो हाम्रो टोलमा किराना पसल गरेर बसेका थिए र जसकी छोरी कविता मेरी सहपाठिनी थिई, उनीहरूले समेत भन्थे, ‘यो सानै ११–१२ वर्षकी छँदा शिवरात्रिको जात्रामा हराएकी थिई । हामीले त माया मारिसकेका थियौँ । यसको पीरले बाआमा दुवै असमयमै स्वर्गे भएका हुन् । आज यत्तिका वर्षपछि यसले हामीलाई सम्झेर आएकी छ । घरमा बास नदिऊँ भने मन मान्दैन, दुई दिनको निम्ति भेट्न आएकी छ । मानिसहरू चाहिँ भए नभएका कुरा जथाभावी बोल्छन् ।’
हुन पनि मान्छेको मुख कसले थुन्न सक्छ र ? कतिले उनको नृत्य हेरेपछि हृदयको आक्रोश यसरी पोख्थे, ‘बडो नर्तकी भई टोपल्छे । कलकत्ताको कुनचाहिँ गल्लीमा ग्राहक पर्खेर बस्थी होली ।’ यस्तै थियो मानिसहरूको उनीप्रतिको धारणा ।
तर पनि हाम्रो टोलका समाजसेवकहरूले उनको नृत्यको विषयमा सुनेर विद्यालय कोषका निम्ति उनलाई दुई–चारवटा नृत्य देखाएर सहयोग गर्ने अनुरोध गरेकाले उनले सहर्ष त्यस प्रस्तावलाई स्विकारेकी थिइन् ।
प्रथम दिनको उनको नृत्य कार्यक्रम हुनासाथ अनेकौँ संघ–संस्थाबाट अनुरोधका पत्र पाएकी थिइन् उनले र तिनै अनुरोधका सिलसिलामा घन्टौँ रिहर्सल र विभिन्न सहयोगका निम्ति अनेकौँ ठाउँमा नृत्य प्रदर्शन गर्थिन् । जेहोस् म कविताकी निकटकी साथी हुनाले उनको पनि धेरै नजिक पुग्ने मौका पाएकी थिएँ । उनले कतै जानुअघि शृङ्गार गरिरहेका बेला, उनले नृत्य रिहर्सल गरिरहेका बेला, उनले मिठा–मिठा गफ सुनाएका बेला म र कविता मन्त्रमुग्ध भएर उनलाई हेरिरहन्थ्यौँ ।
मलाई उनको सुनौलो लामो केश र सागरझैँ गहिरा नीला आँखा अति मनपथ्र्यो । मैले त्यसरी एक टक लाएर हेरेको देखेपछि पातला गुलाबी ओठभरि स्नेहको मुस्कान लिई उनी भन्थिन्, ‘बिन्दुलाई त मोहनी लाएछु क्यारे मैले होइन ?’
म लाजले आरक्त भएर कुनै उत्तर दिन सक्दिनथेँ ।
एक दिन सानो बुवाले सदाका निम्ति भनेर घर छाड्नुभयो र केही पर डेरा गरेर बस्नु थाल्नुभयो । ठिक भयो जुन दिन मति सुध्रेला त्यसैदिन घर सम्झेर फर्केला— ठुलो बुवाले मानौँ केही नभएझैँ गरेर भन्नुभएको थियो ।
त्यसरी नै उनको अपरिमित सौन्दर्य र चित्ताकर्षक नृत्य अनि व्यक्तिगत जीवनका रहस्यात्मक घटनाबारे चर्चा चल्दाचल्दै कुन मुर्र्हूतमा उनको र हाम्रो सानो बुवामाझ प्रणयको गाँठो पर्न गयो, त्यो हामीलाई पत्तै भएन । एकाएक घरमा मलाई कविताकहाँ जानबाट रोकियो । उनको विषय लिएर सानो बुवालाई घरमा चेतावनी दिँदा मात्र सबै कुरा छर्लङ्ग भएको थियो ।
‘हाम्रो घरको श्रीसम्पति र शिक्षित युवक देखेर कान्छा बाबुलाई आफ्नो जालमा पार्न खोजेकी हो सर्पिणीले, दाँत गाडिसकेजस्तो छ !’ ठुली मुमाले मेरी मुमासँग भन्नुभएको थियो ।
त्यसपछि सानो बुवाले प्राय आधा रातमा मातेर ढलमलिँदै घरको संघार टेक्न थाल्नुभएको थियो । मानिसहरूले हाम्रो घरमा सानो बुवाका अनेक कुरा लिएर आउन लागेका थिए— तुषारमल्लिकासँग रातभरि क्सिी पिएर बिताए रे, उसलाई हजारौँ रुपैयाँका गहनाहरू किनेर दिए रे, दिनभरि ट्याक्सीमा तुषारमल्लिकासँग डुली रहे रे, उसको निम्ति मानिसहरूसँग कुटपिट गरे रे... !
एक दिन सानो बुवाले सदाका निम्ति भनेर घर छाड्नुभयो र केही पर डेरा गरेर बस्नु थाल्नुभयो । ठिक भयो जुन दिन मति सुध्रेला त्यसैदिन घर सम्झेर फर्केला— ठुलो बुवाले मानौँ केही नभएझैँ गरेर भन्नुभएको थियो ।
सानो बुवा घर–परिवारमा सबैको प्यारो हुनुहुन्थ्यो, उहाँले हामी सबैलाई अति माया गर्नुहुन्थ्यो, त्यसैले उहाँले घर छाडेर जाँदा धेरै दिनसम्म मलाई नियास्रो लागेको थियो । म लुकेर भए पनि सानो बुवालाई भेट्न चाहन्थेँ, त्यसैले एक दिन कविता र म सल्लाह गरेर सुटुक्क सानो बुवाहरू बसेको डेरामा पुगेका थियौँ ।
उहाँहरू बसेको डेरा निकै ठुलो कम्पाउन्डभित्र थियो । बाहिर धुपीका बोट र फूलबारी थियो । हामी दैलोमा पुग्दा नपुग्दै एउटा नारी कण्ठको उन्मुक्त हाँसोले हामीलाई चञ्चल तुल्यायो ।
‘आन्टी !’ कविताले बाहिरबाटै ठुलो स्वरले डाकी ।
‘को हो हँ ?’ सुनौलो केशको माझमा सिउँदोभरि रातो सिन्दुर र निधारमा लतपतिएको सिन्दुर लिएर हाँस्दै बाहिरिएकी हुन्छिन् उनी । उनको पछिपछि सानो बुवा पनि सेतो मलमलको कुर्ता र सेतै पाइजामा लाएर ठुलो निधारभरि मोतीजस्तै पसिनाका कण चम्काउँदै निस्कनुभयो ।
हामीलाई देखेपछि दुवै निकै खुसी हुनुभयो र दुवैले हामी दुवैलाई अँगाल्नुभयो । मैले ढोग चढाएपछि सानो बुवाले भन्नुभएको थियो, ‘बिन्दु छोरी ! तिम्री सानी मुमालाई पनि ढोग !’
विवाह गरेपछि सानी मुमाको नृत्य केवल सानो बुवाका निम्ति सीमित रहेको थियो, कारण सानो बुवाले उनलाई कुनै पनि बाहिरी कार्यक्रममा भाग लिन दिँदैनथे ।
त्यस दिन मैले प्रथमपटक सानी मुमालाई ढोगेकी थिएँ । सायद हाम्रो परिवारमा सर्वप्रथम उनलाई स्वीकार गर्नेमा म नै भएकीले होला, उनले भावावेशमा आएर मलाई अँगालो हालिन्, आँसुले मेरा काँध चिसा भएका थिए ।
त्यसपछि परिवारको आँखा छलेर म सानी मुमाकहाँ गइरहन्थे । त्यसताका सानो बुवा र सानी मुमाको सुखमय जीवन देख्दा चलचित्र हेरेझैँ लाग्थ्यो मलाई । साँच्चै नै उनीहरू एकअर्कामा यति डुबेका थिए कि मानौँ संसारसँग उनीहरूलाई कुनै वास्ता थिएन ।
विवाह गरेपछि सानी मुमाको नृत्य केवल सानो बुवाका निम्ति सीमित रहेको थियो, कारण सानो बुवाले उनलाई कुनै पनि बाहिरी कार्यक्रममा भाग लिन दिँदैनथे । सानी मुमा प्रायजसो कोठामा रेकर्डको धुनमा नृत्य गर्ने गर्थिन् र सानो बुवाचाहिँ उनको नृत्यमा मुग्ध भएर अलपक हेरिरहन्थे ।
त्यसरी नै दिन प्रतिदिन समयरूपी छारोका प्वाँखहरू उम्रिरहेका थिए र सानी मुमा र सानो बुवाको उन्मुक्त जीवन पनि खुसीको सागरमा पौडँदै बितिरहेको थियो ।
उनीहरूले मप्रति गरेको माया र स्नेहले प्रेरित भएर हो अथवा एउटी किशोरीको जिज्ञासापूर्ण हृदयबाट विवश भएर हो, मचाहिँ प्रायः मौका पाउनासाथ सानी मुमाकहाँ पुगिहाल्थेँ, उनले पनि मलाई अति माया गर्थिन् । एकाएक घरकाले म त्यहाँ गएको कुरो चाल पाएपछि मलाई अन्तै पठाउने निश्चय गरे ।
मुमा, बुवा, भाइबहिनीहरूदेखि टाढिएर टाढा मावलमा गएर पढ्ने मलाई कदापि मन थिएन तर ठुलाहरूको निर्णयका अघि मेरो कमलो प्रतिवादको केही लागेन ।
त्यसपछि केही समय त कविताद्वारा मैले सानी मुमा र सानो बुवाको खबर पाइरहेकी थिएँ र एक–दुईपटक सानी मुमाले पनि मलाई चिठी पठाएकी थिइन् । क्रमशः दिन बित्दै गएपछि हामीमाझ चिठीको आदान–प्रदान रोकियो ।
सात वर्षजति मावलमा बसेर पढेपछि म घर गएँ । त्यति लामो अवधिसम्म छोरीलाई आफूदेखि टाढा राखेर मुमाबुवा निश्चिन्त भइसक्नुभएको जस्तो देखिन्थ्यो । साँच्चै भन्ने हो भने मलाई त्यहाँ त्यस ठाउँमा पुग्नासाथ सर्वप्रथम सानो बुवा र सानी मुमाको खबर सुन्ने तीव्र उत्सुकता जागेको थियो ।
दुई वर्षअघि कविता विवाह भएर गएको कुरा मलाई थाहा थियो तर पनि म एक दिन उसकी आमालाई भेट्न गएकी थिएँ । केहीबेरसम्म यताउतिका कुराकानी भएपछि कविताकी आमाले भनेकी थिइन्, ‘के गर्ने मानिसले कर्मै उस्तो लिएर आएको छ भने जति नै राम्रो होस् भने पनि नहुँदो रहेछ । तिम्रो सानो बुवा र सानी मुमाको कुरा त सुनेकै हौली !’
‘सानी मुमा,’ मैले आफ्नो रोदनलाई रोक्न सकेकी थिइनँ । उनले पनि मलाई चिन्नासाथ मेरो सारा शरीरलाई अँगालेर बेस्सरी रोएकी थिइन् । हामी दुईको त्यस मिलनको दृश्यलाई खिनौरे शरीर भएका उनका दुई बच्चाहरूले छक्क परेर गलाभरि आँसुका डाम लिएर टुलुटुलु हेरिरहेका थिए ।
‘किन के भो र ?’ मैले सशंकित हुँदै सोधेँ ।
‘के हुन्थ्यो र !’ उनले दीर्घ निःश्वास लिएर भनिन्, ‘साथमा गरगहना र मालसामान हुँदासम्म दुवैले मोजा गरेर उडाए । भएको श्रीसम्पति सकियो । खाने मुख पनि थपियो । अहिले चाहिँ तिम्री सानी मुमाको विगति छ । रात दिन मातेर आएर चुट्छन् रे । भएन कुरैपिच्छे रन्डी, वेश्या, मेरो जिन्दगी बर्बाद गरिस्, मलाई मेरो घर–परिवारबाट छुट्टयाइस्, दुनियाँको कुरा सुन्नुपर्ने बनाइस् भनेर भन्नु नभन्नु भन्छन् रे ! एक छाक खान घरमा धौ धौ छ, भएन सुत्केरी भएर कुनामा बसेको बेला धरि लात्ती–लात्ताले कुटेर... । धन्नकी रहिछे, त्यतिबिधि सहेर बस्न सक्ने । हामीले पनि कति सघाउने— एक दिन होइन, दुई दिन होइन, सदा सर्वदा । अभागिनी कस्तो कर्म लिएर आएकी रहिछे । बिर्सिसकेका थियौँ, बरु फर्कंदै नफर्केकी भए हुने थियो... ।’ कुरा गर्दागर्दै उनको स्वर अवरुद्ध भयो ।
त्यसको भोलिपल्टै म उनीहरू बस्ने डेरा पहिल्याएर त्यहाँ पुगेकी थिएँ । छिँडीको अँध्यारो सानो कोठाभित्र उनी बर्बराएको मैले बाहिरबाटै सुनेकी थिएँ— ‘मर साहुहरू हो मर, मारिदिए त मुक्ति पाउने थिएँ ।’
‘सानी मुमा,’ मैले आफ्नो रोदनलाई रोक्न सकेकी थिइनँ । उनले पनि मलाई चिन्नासाथ मेरो सारा शरीरलाई अँगालेर बेस्सरी रोएकी थिइन् । हामी दुईको त्यस मिलनको दृश्यलाई खिनौरे शरीर भएका उनका दुई बच्चाहरूले छक्क परेर गलाभरि आँसुका डाम लिएर टुलुटुलु हेरिरहेका थिए ।
‘बिनासित्तिमा मैले आफ्नो भाग्यलाई छल्न खोजेकी रहिछु,’ आफ्ना सबै पीरहरू मेरोअघि पोखेपछि उनले भनेकी थिइन् ।
त्यस दिन त्यहाँबाट फर्केपछि रातभरि मलाई निद्रा परेन । मेरा आँखामा बारम्बार नाचिरहेका थिए— सानी मुमाको रूप, शरीर, उनको शरीरमा भएका झुत्रे र मैला लुगा, उनका छोराछोरीको प्रायः नाङ्गो जिउ र कोठाभित्र भएको टिन र आल्मुनियमका थोत्रा सरसामान । ‘तिम्रो सानो बुवा आधा रातभन्दा अघि कहिल्यै डेरामा फर्कनुहुन्न,’ सानी मुमाले भनेकी थिइन् ।
त्यसपछि मैले त्यहीँ स्थानीय विद्यालयमा पढाउन थालेँ । बेला–बेला मैले कुनै न कुनै रूपमा सानी मुमालाई सहयोग गर्न थालेकी थिएँ । एक–दुईपटक मैले सानो बुवालाई भेट्दा सानी मुमा र बच्चाहरूको दुर्दशाबारे इङ्गित गर्न नखोजेकी पनि होइन, तर मेरा प्रयासहरू उनको मौनताभित्र त्यसै बिलाएर गएका थिए ।
एक दिन, म पुग्दा सानी मुमा सानो छोरालाई काखमा राखेर अनि दुवै छोरीहरूलाई छेउमा राखेर मुसार्दै बरबर्ती आँसु झारिरहेकी हुन्छिन् । उनको केश जिङ्ग्रिङ्ग परेको थियो र निधारमा रगतको टाटा जमेको थियो ।
‘बिन्दु ! म केही भएँ भने यी भाइबहिनीलाई तिम्रो घरमा लगेर राखे है । बरु नोकर बनाएर राख्नु तर तिमीहरूसँगै राख्नू,’ रुँदारुँदै उनले काखको बच्चालाई छातीमा बेस्सरी टाँसेर भनिन् ।
दुवै बच्चाहरू डराएका झैँ देखिएका थिए । घरभित्र थोत्रा सामानहरू जताततै छरिएका थिए ।
‘के भयो सानी मुमा ? के आज फेरि सानो बुवासँग झगडा भयो ?’ मैले ठुली छोरी तानेर आफ्नो काखमा राख्दै सोधेँ ।
‘बुवाले मुमालाई आज फेरि कुट्नुभयो । मुमा मर्छु भन्नुहुन्छ,’ ठुली छोरीले आमाको मुखमा एकोहोरो हरेर भन्छिन् । आफ्नी १२ वर्षीया छोरीको मुखबाट वाक्य निस्कनासाथ उनी डाँको छाडेर रोइन् ।
‘बिन्दु ! म केही भएँ भने यी भाइबहिनीलाई तिम्रो घरमा लगेर राखे है । बरु नोकर बनाएर राख्नु तर तिमीहरूसँगै राख्नू,’ रुँदारुँदै उनले काखको बच्चालाई छातीमा बेस्सरी टाँसेर भनिन् ।
‘छिः सानी मुमा पनि कस्तो कुरा गर्नुभएको ? कसको घरमा झगडा हुँदैन र !’ मैले मिथ्यामा आश्वासन दिएकी थिएँ ।
त्यस घडी सानी मुमाले आफ्नो अनुरोधमा दिएको पूर्वसङ्केतलाई मैले बुझ्न सकेकी थिइनँ तर त्यसको तीन दिनपछि नै उनले काखको बच्चा समेतलाई त्यागेर सदाको निम्ति गृहत्याग गरेकी थिइन् ।
केही दिनसम्म त उनी फर्किन्छिन् होला भन्ने लागेको थियो तर त्यो हाम्रो भ्रम मात्र थियो ।
उनी फेरि फर्केर आइनन् र अन्त्यमा सानो बुवाको दुर्दशा र बच्चाहरूको बिजोगको कुरा सुनेर हाम्रो बुवा र ठुलो बुवाले सानो बुवालाई फेरि घरमा स्थान दिन बाध्य हुनुभयो ।
समय त्यसरी नै पलपल गरेर बितिरहेको थियो । घरमा ठुलो बुवाकी छोरी सुवर्ण र मेरो विवाहको कुरो निकै चलिरहेको थियो ।
जीवनमा यति ठुलो घटना घटेर पनि सानो बुवाको मौनता र शान्त व्यवहार देखेर लाग्थ्यो मानौँ केही भएकै छैन । उनी नियमित रूपले कार्यालय जान थालेका थिए । रक्सी पिउनु, जुवा खेल्नु, बाहिर घुम्नु सबै कुराबाट आफूलाई अलग्याएर सानो बुवा शून्य कोठाको सीमित घेराभित्र सदाकाल पुस्तकका पानाहरूमा घोरिन थालेका थिए । ‘बल्ल चेतेजस्तो छ,’ उनलाई देख्नेहरू भन्थे ।
मलाई भने किन–किन सानो बुवालाई देख्नासाथ टिठ लागेर आउँथ्यो । हुन पनि उनको अघिको र त्यसबेलाको व्यवहारमा ठुलो पार्थक्य देखिन्थ्यो । सधैँ चुपचाप कार्यालयबाट आएपछि कोठाभित्र एक्लै बसिरहनु, कसैसँग वास्ता नराख्नु, पाएको पैसा जम्मै ठुलो बुवाको हातमा सुम्पिएर आफ्ना छोराछोरीको दायित्वबाट पनि पन्छिनु, ती सबै कुरा कताकता उनको व्यक्तित्वसँग मेल नखाएझैँ लाग्थ्यो मलाई ।
समय त्यसरी नै पलपल गरेर बितिरहेको थियो । घरमा ठुलो बुवाकी छोरी सुवर्ण र मेरो विवाहको कुरो निकै चलिरहेको थियो । त्यसैताका एक दिन घरमा दुलाहापट्टिकाहरू हामीलाई हेर्न भनी आएका थिए । सानो बुवालाई ठुलो बुवाले बैठक कोठामा डाकेका हुनाले बोलाउन भनी म सानो बुवाको कोठाको दैलोमा पुगेँ । दैलोमा पुग्नासाथ मेरा आँखा त्यही संघारमा जड भइदिएका थिए, कारण भित्र सानो बुवा कसैको तस्बिरलाई हेरेर सुँक्क–सुँक्क गरेर रोदनलाई भित्रभित्र दबाउने कोसिस गरिरहेका थिए । ‘सानो बुवा,’ मेरो मुखबाट अस्पुष्ट स्वर निस्कियो अनि म बिस्तारै उनको छेउमा पुगेँ ।
‘बिन्दु ! उसले आत्महत्या गरी होली... ।’ आँसुलाई लुकाउने प्रयत्न नगरेरै उनले हातको तस्बिर मतिर दिएर भने । त्यो तस्बिर सानी मुमाको थियो ।
मसँग उनलाई सुनाउनुपर्ने धेरै कुरा छन्, जुन कुरा सुनेर हुन सक्छ उनको दग्ध हृदयमा शीतलता भरियोस्, हुन सक्छ उनको दुःख र पीडामय जीवन यात्राको गाथामा एउटा सुखद् अन्त्यले भरिएको पाना थपियोस् ।
मेरो विवाह भएपछि म जतिपटक माइत गएकी हुन्छु, त्यतिपटक सानो बुवाको शारीरिक अवस्था पहिलेको भन्दा अझ बढी बिग्रँदै गएको देखेकी थिएँ । ‘सानो बुवा अब त अतीतलाई बिर्सनुहोस् । छोराछोरीको सफल जीवन सम्झेर मन बुझाउनुहोस्,’ मैले कैयौँपटक एकान्तमा उनलाई भनेकी थिएँ ।
‘बिन्दु ! उसले निश्चय पनि आत्महत्या गरी होली,’ सानो बुवाले आँखाभरि आ–आफ्नो अन्तर्मनको पीडा छचल्काएर भन्ने गर्नुहुन्थ्यो ।
हो, धेरै वर्षसम्म सानी मुमाको अत्तोपत्तो नहुँदा हामी सबैले उनलाई मृत ठानिसकेका थियौँ ।
तर त्यस दिन, राम्दीमा मलाई एकटक लाएर हेरिरहेकी संन्यासिनीले मेरो स्वर सुन्दासुन्दै पनि किन फर्केर हेरिनन् ? किन ?
आँखाले देखेको सत्य हो भने मैले त्यस दिन सानी मुमालाई देखेको पनि सत्य हो । म उनको सुनौलो केश र नीला आँखालाई राम्ररी ठम्याउन सक्छु अनि त्यस आँखाभित्र सलबलाइरहेका वेदनालाई चिन्दछु, बुझ्दछु, जो मेरो किशोर अवस्थाको मानसपटमा शिलालेखझैँ अमिट भएर अङ्कित भइरहेको छ ।
मसँग उनलाई सुनाउनुपर्ने धेरै कुरा छन्, जुन कुरा सुनेर हुन सक्छ उनको दग्ध हृदयमा शीतलता भरियोस्, हुन सक्छ उनको दुःख र पीडामय जीवन यात्राको गाथामा एउटा सुखद् अन्त्यले भरिएको पाना थपियोस् । अथवा हुन सक्छ उनको अन्तिम घडी शान्तिमय होस् ।
त्यस दिनदेखि आजसम्म कैयौँ जात्रा, कैयौँ मेला र चाडहरूको भिडमा मेरा उत्सुक आँखाले ती संन्यासिनीलाई खोजिरहेका छन्, जसलाई सानी मुमाको रूपमा चिन्दछु तर मेरो खोजको अन्त्य सदा निराशाले भरिएको हुन्छ— मेरा आँखा रित्तै फर्किएका हुन्छन् ।
(धोबीघाट, ललितपुर ।)