बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा छौँ : सीपी गजुरेल

शनिबार, १५ असार २०८१, १७ : ००
शनिबार, १५ असार २०८१

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले कम्युनिस्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिचको एकता अनिवार्य रहेको तर्क गरेका हुन् । 

नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिस्ट पार्टीहरू उभिनुपर्ने बताए । उनले कम्युनिस्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए ।

नेता गजुरेलले भने, ‘नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरूले यो कुरा बोली हाल्नुहुन्छ । ल हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ । सकेसम्म पार्टी एकतानै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाड्छौँ भनी हाल्नुहुन्छ उहाँहरू । अहिलेको एउटा आवश्यकता के हो भने एउटा मजबुत क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो । नेपालमा अहिले जुन व्यवस्था आएको छ । लोकतान्त्रिक गणतन्त्र जुन आएको छ । त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो ?’

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताए । ‘के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जनयुद्ध गरेको हो त ? त्यो त होइन । एउटा त कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । त्यसलाई बलियो बनाउनु परेको छ । दोस्रो अहिलेको आन्दोलनमा ठुलो भ्रम पैदा भएको छ । जतनमा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरू के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । अर्को सबैले गणतन्त्र भन्छन् । यो लोकप्रिय भएको छ  । हाम्रो पार्टी असाध्यै कम्युनिस्ट एकताको पक्षमा छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप