बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
निबन्ध

जीवन : गाईको निबन्ध

शनिबार, १५ असार २०८१, १५ : ४९
शनिबार, १५ असार २०८१

एक जना युवासँगको सङ्गतमा भर्खरै घटेको एउटा असहज घटना मेरो स्मृतिपटमा गोरुका फिलामा किर्नोझैँ टाँसिएर बसेको छ । यी अपरिचित रैथाने युवाले दसैँको छेक पारेर निस्कने रैथाने पत्रिकाका लागि टेलिफोनमार्फत मसँग एउटा रचना मागे । उनले दाबी गरे, रैथानेका नाताले उनलाई स्वतः माग्ने अधिकार छ र रैथानेकै नाताले मचाहिँ दिनैपर्ने कर्तव्यको अदृश्य सूत्रले बाँधिएको छु । 

मलाई फसाद पर्‍यो, रचनाको माग सर्तको सुर्काने भएर मेरो घाँटीमा बेरिन आइलाग्यो । सर्त थियो, रचना एकदम वस्तुपरक हुनुपर्छ । वस्तुपरक हुनलाई, उनको सोचाइमा रचना साहित्यइतर हुनुपर्छ । किन ? किनभने कल्पनाको उपस्थितिले गर्दा साहित्य वस्तुपरक हुँदैन र कल्पनाले पाठकलाई यथार्थ जीवनबाट बहकाएर र हवाई लोकमा बरालेर बिगार्छ ।

म साहित्यको विद्यार्थी । साहित्य पढ्दापढ्दै र साहित्य सिर्जना गर्ने असफल अभ्यास गर्दागर्दै मेरा गाला चाउरी परेका छन्, मेरा गिजा खुइलिएका छन् र मेरो कपाल फुलेको छ । साहित्य पढ्नु र साहित्य लेख्नु— बस्, मैले जिन्दगीमा केही काम गरेँ भने आखिर गरेको यही नै त हो । र मैले अलिअलि जानेको कुरा केही छ भने त्यो हो— साहित्य पढ्नु र साहित्य लेख्नु मात्र । तर युवा कसै गरी टार्न नसकिने गरी घरीघरी मसँग जिरह गरिरहेछन्— उडन्ते साहित्य होइन नि, वस्तुपरक लेख ! एकदम ठोस, एकदम साकार, एकदम मूर्त ! माथि टुप्पीदेखि तल पैतालासम्म सर्वाङ्ग वस्तुपरक !

जीवनमा कल्पना नहुनु वा कल्पनाको मृत्यु हुनु भनेको मानिसका सपनाहरूको मृत्यु हुनु हो । सपनाको मृत्यु हुनु भनेको कविताको मृत्यु हुनु हो । कविताको मृत्यु हुनु भनेको मानवीयताकै मृत्यु हुनु हो, तर कल्पनाविरुद्ध तरबार उजाएर मतिर फर्किएका मेरा युवा मित्र भने हठ गरिरहेकै छन्— रैथानेज्यू ! कल्पनाको लेस मात्र पनि अंश नभएको एउटा वस्तुपरक रचना है !

मलाई लाग्यो, यो माग जोगीसँग सुनको लाप्सो माग्नुजस्तै हो । त्यसैले प्रत्युत्तरमा मैले सविनय भनेँ— युवा बाबु ! म जोगी हुँ । अतः मागबमोजिम सुनको लाप्सो दिन नसक्दा मलाई भारी दुःख छ । तर युवा ममा त्यसरी टाँसिए, जसरी सिंहदरबारको कुर्सीमा नेता टाँसिन्छ । हात बङ्ग्याउँदै अनेक यत्न गरेर म टिप्न खोज्छु, ढाडको अक्करमा टाँसिएका नेतालाई टिप्न मेरो हातै पुग्दैन । हेर्नुस् त, मलाई कत्रो आपत् !

युवाको जिद्दी देखेर आजित भएको क्षणमा मलाई किशोरवयमा सानो कक्षामा निबन्ध लेख्दाको सम्झना भयो । निबन्ध लेखनमा मेरो बाह्रखरीकाल थियो त्यो । जीवनको त्यस कलकलाउँदो कालमा मैले गाईको निबन्ध लेख्नुपथ्र्यो । गाईवस्तु जातको जीव हो, त्यसैले गाईको त्यो निबन्ध एकदमै वस्तुपरक हुन्थ्यो । 

गाई घरमै छ । गाई साकार छ । गाईलाई देख्न सकिन्छ । गाईलाई छुन सकिन्छ । गाईलाई छाम्न सकिन्छ । त्यसको निश्चित आकार छ र छ त्यसको निश्चित प्रकार पनि । तल धर्तीमुखी चारवटा खुट्टा छन्, माथि छन् क्षितिजमुखी दुईवटा सिङ । माथि उँभोेतिर उठेको स्त्रीमय होचो जुरो छ र तल छ उँधोतिर झरेको रहरलाग्दो, रसिलो र पोटिलो फाँचो । आखिर गोचर गाई न हो, भोक लागे चुरुमचुरुम घाँस खाने, विश्रामकाल आयो कि हाँसउठ्दो गरी याइँयाइँ उग्राउने र कसैले जिस्क्यायो भने रिसले रन्थनिँदै खेदीखेदी त्यसलाई सिङमा उन्न प्रतिशोध अभियानमा डट्ने । त्यो चौपाया यतिबिधि उपयोगी छ कि त्यसको छालादेखि हड्डीसम्म उपयोगै उपयोगले सर्वाङ्ग भरिपूर्ण छ । जिउँदो छँदा हामीलाई दुध र गोबरको उपहार दिने र मरेपछि आफ्नो पार्थिव शरीरबाट हामीलाई कृपापूर्वक जुत्ता र टाँक टक्र्याउने । भयो होइन त यो गाईको गजबको वस्तुपरक निबन्ध !

उत्साही युवाको जिरह जब्बर छ । उनले मलाई ताकेता लगाउन छाडेका छैनन् । रैथानेज्यू, रचना नभई हुँदैन नि ! मिथ्या कल्पनाको जालो बुनिएको साहित्य होइन, एकदम वस्तुपरक ! यो रैथानेको नाताले रैथानेसितको माग हो र दिन्नँ भन्नु पाप हो । 

हरितन्नम जोगी रनभुल्ल परेको छ । आफूसँग हुँदै नभएको चिज उसले कहाँ कसको चोरेर टक्र्याउनु ?

यहाँनेर मलाई निबन्ध लेखनको मेरो दोस्रो चरणको याद आयो । अतीतको स्मरण गर्दै म आनन्दविभोर हुन्छु, गाईको निबन्ध लेखनमा पारङ्गति प्राप्त गरेपछि इन्द्रेणीको निबन्ध लेखनमा सगौरव मेरो बढुवा भएको थियो ।

जीवनमा के हुन्छ त मित्र ? कल्पना हुँदैन ? जसले कल्पना गर्दैन त्यो त ढुङ्गो हो । त्यो काँध खुइलिएको वृद्ध बयल हो । त्यो सिँगाने भेडो हो । बगरको निष्प्राण, निस्तेज र संवेदनाहीन मुढो हो त्यो ।

शून्य आकाशमा जहाँ घाम र पानीको सङ्गम हुन्छ, त्यहाँ सप्तरङ्गी इन्द्रेणी उदाउँछ । तर त्यसलाई छुन, त्यसलाई छाम्न, त्यसलाई भेट्न, त्यसलाई ल्याएर भित्तामा टाँग्न कदापि सकिँदैन । भेट्छु नै भनेर कोही त्यसको पछि लागे त्यो पर, झन्झन् पर सर्दै, भाग्दै जान्छ । लखेट्छु र भेटेरै छाड्छु भनी उसले जिद्दी गरे त्यो अनायास कतै शून्यमा अलप भइहाल्छ । र त्यो आखेटकारी, त्यो मूर्ख, त्यो त हिस्स हरिप हरिया दाँत हुन पुग्छ ।

हो, ठोस हुनुको अर्थमा इन्द्रेणी वस्तुपरक छैन । तर प्रतीकात्मक रूपले इन्द्रेणीमा जीवनको गूढ अर्थबोध हुन्छ । जीवन ठोस मात्र छैन, तरल पनि छ । जीवन एकरङ्गी छैन, जीवन बहुरङ्गी छ । जीवन एक आयामिक छैन, जीवन बहुआयामिक छ, जीवन वर मात्र छैन, जीवन पर पनि छ । जीवन बाहिर मात्र छैन, जीवन भित्र पनि छ । जीवन गोचर मात्र छैन, जीवन अगोचर पनि छ । जीवन दुई दुना चार जस्तो गणितीय हिसाबले बुझिने खालको सरल र स्थूल छैन, यसका आफ्नैै रहस्य छन्, यसका आफ्नैै अमूर्त कथा र गाथाहरू छन् । त्यसैले जीवन गाईको निबन्धझैँ सपाट अर्थमा वस्तुपरक कहाँ छ ? तर मेरो दुःख अपार छ, युवा मित्र मसँग जिरह गरेका गर्‍यै छन्— हेक्का रहोस् है दाज्यैज्यू ! रचना एकदम वस्तुपरक हुनुपर्छ । अब के म उनलाई उही किशोरकालमा मैले कोरेको गाईको निबन्ध दिएर पिण्ड छुटाऊँ ?

म भन्न खोज्दै थिएँ— दैहिक हाड र छाला मात्र जीवन होइन, न त नाक र नाइटो मात्र नै जीवन हो । उसो त रुद्रघन्टी र गोलीगाँठो मात्र पनि जीवन होइन, भावना र भावुकता पनि जीवन हो । कामना र सपना पनि जीवन हो । आवेग र अनुभूति पनि जीवन हो । त्यसैले दर्शन र काव्य पनि त जीवनबाटै जन्मिएका जीवनका झाँकीहरू हुन् । भावना र भावुकता, कामना र सपना, आवेग र अनुभूति, दर्शन र काव्य जीवन यथार्थका झलक त हुन् तर मेरा युवा मित्रको आशयअनुसार यिनीहरू वस्तुपरक छैनन् । उसो भए वस्तुपरक भइदिनका लागि म के लेखूँ ? म हाड र छाला लेखूँ ? नाक र नाइटो लेखूँ म ? कि म रुद्रघन्टी र गोलीगाँठा लेखूँ ? कि फेरि उही गाईको किशोरकालीन सपाट निबन्ध ?

म अनुमान गर्छु, मेरा युवा मित्र औपचारिक शिक्षाको भर्‍याङ उक्लिँदै माथि, निकै माथि आईए–बीएको उचाइमा पुगेको हुनुपर्छ । अचम्म लाग्छ, जीवनको त्यति लामो आयु अर्पेर र त्यतिबिधि पैसा खर्च गरेर त्यत्रो उचाइमा उक्लिउन्जेल महेन्द्रीय राजसी शिक्षाले उनलाई के सिकायो होला ? केवल गाईको निबन्ध ? केवल साहित्यप्रतिको वितृष्णा ? केवल जीवनको आन्तरिक सत्यप्रतिको अरुचि ? केवल जीवनको बोक्रो ? जीवनको केवल अति सरलीकृत, एक आयामिक र सपाट परिभाषा ? बोक्रो मात्र जीवन होइन, जीवनको बोक्रोभित्र गुदी पनि हुन्छ भनेर शाही शिक्षाले उनलाई कहिल्यै सिकाएन ? त्यस गुदीको केन्द्रमा उर्वर र सुन्दर कल्पना हुन्छ भनेर त्यो नाथे शिक्षाले उनलाई कहिल्यै केही भनेन ?

कता हो कुन्नि पढेको वा सुनेको कुरा म सम्झन्छु— तिथिमितिबाहेक इतिहास सबै झुटो हो र साहित्यचाहिँ तिथिमितिबाहेक सबै सत्य हो । म गम्छु, यस कथनमा सत्यको केही न केही अंश अवश्य हुनुपर्छ । मेरा युवा मित्रले आँखीभुइँ खुम्च्याउँदै मतिर फर्केर भन्लान्— तर साहित्यमा त उडन्ते कल्पना हुन्छ नि दाज्यैज्यू ! अवस्तुपरक कल्पना भएको वस्तु कसरी सत्य हुन्छ ?

जीवनमा के हुन्छ त मित्र ? कल्पना हुँदैन ? जसले कल्पना गर्दैन त्यो त ढुङ्गो हो । त्यो काँध खुइलिएको वृद्ध बयल हो । त्यो सिँगाने भेडो हो । बगरको निष्प्राण, निस्तेज र संवेदनाहीन मुढो हो त्यो । मानिस मानिस हो किनभने मानिस कल्पना गर्छ । ऊ सपना देख्छ, ऊ मुरली बजाएँछ, ऊ गीत गाउँछ, ऊ प्रेम गर्छ, ऊ विराट् कल्पनाले भरिएको कविताको रचना गर्छ, ऊ हाँस्छ, ऊ रुन्छ र सप्तरङ्गी इन्द्रेणी हेरेर ऊ त्यसैत्यसै आनन्दविभोर हुन्छ ।

जीवनमा उर्वर कल्पना नभएको भए जङ्गली मानिस जङ्गलमै छाडिन्थ्यो र उतै कतै हराउँथ्यो ऊ । उसमा रोमाञ्चक कविताको रचना गर्ने त कुरै नगरौँ, गाईको निबन्ध लेख्ने ल्याकतको पनि विकास हुने थिएन । रचनात्मक कल्पनाको बाइपङ्खी घोडा चढेर न हो मानिसले जङ्गलदेखि बस्तीसम्म र बर्बरतादेखि सभ्यतासम्मको यति लामो यात्रा छिचोलेको । उसो त ईश्वरको जन्म पनि मानिसको विराटतम कल्पनाबाटै भएको हो । मानिसले ईश्वरमा आफ्नै सपनाहरूको एउटा सुन्दर र परिपूर्ण विम्ब निर्माण गरेको थियो । ऊ आफू अल्पज्ञानी थियो, त्यसैले उसले ईश्वरलाई सर्वज्ञ बनायोे । ऊ आफू भूगोलको सीमित घेरोमा मात्र व्याप्त हुन सक्थ्यो, त्यसैले उसले ईश्वरलाई सर्वव्यापी बनायोे । ऊ आफू जीवनको सीमित वृत्त मात्र देख्न सक्थ्यो, त्यसैले उसले ईश्वरलाई सर्वद्रष्टा बनायोे । उसको जीवन समयको एक लघु तरङ्गमा मात्र सीमित थियो, त्यसैले उसले ईश्वरलाई अनन्त अजरअमर बनायोे । मानिसले रचेको ईश्वर मानिसको कल्पनाशील विम्ब थियो । उसका दुर्दान्त आकाङ्क्षाहरूको साकार रूप थियो त्यो । त्यसैले त भनिन्छ— ईश्वर मानिसले रचना गरेका काव्यहरूमध्ये श्रेष्ठतम् काव्य हो । गम्नुस् त, मानिसलाई ईश्वरको रचना गर्न समर्थ तुल्याउने त्यो रचनात्मक कल्पना कति भव्य थियो !

जीवनमा कल्पना नहुनु वा कल्पनाको मृत्यु हुनु भनेको मानिसका सपनाहरूको मृत्यु हुनु हो । सपनाको मृत्यु हुनु भनेको कविताको मृत्यु हुनु हो । कविताको मृत्यु हुनु भनेको मानवीयताकै मृत्यु हुनु हो, तर कल्पनाविरुद्ध तरबार उजाएर मतिर फर्किएका मेरा युवा मित्र भने हठ गरिरहेकै छन्— रैथानेज्यू ! कल्पनाको लेस मात्र पनि अंश नभएको एउटा वस्तुपरक रचना है ! अब म के गरुँ ? के उनको आग्रहअनुसार म आफ्नै उमेरलाई फर्काएर पाँचथर, सुभाङ, गुरुङछापमा किशोरवयको पाँचौँ कक्षाको विद्यार्थी हुन जाऊँ ? कि म उनलाई उही गाईको वस्तुपरक निबन्ध टक्र्याएर आफू पाखण्डको पर्दाभित्र लुकी बसूँ ? 

(२०६२)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप