सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको नकआउट चरण

तीनपटकको च्याम्पियन जर्मनीलाई उसैको घरमा डेनमार्कको चुनौती

शनिबार, १५ असार २०८१, १४ : ३०
शनिबार, १५ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा नकआउट चरणको दोस्रो खेल आइतबार बिहान दुई पूर्वविजेता जर्मनी र डेनमार्कबिच खेलिँदैछ । आयोजक राष्ट्र जर्मनी र डेनमार्कबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । 

जर्मनी आफ्नो समूहको विजेता र डेनमार्क उप–विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका हुन् । प्रारम्भिक चरणमा जर्मनी समूह ‘ए’ मा परेको थियो । समूहगत चरणमा जर्मनीले आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो ।

जर्मनीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा जर्मनीले हंगेरीलाई २–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने जर्मनीको टोली स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । समूहगत चरणमा जर्मनीले आठ गोल गरेको थियो भने दुई गोल खाएको थियो ।

यसैगरी डेनमार्क समूह ‘सी’ को उप–विजेता बन्दै प्रि–क्वार्टरफाइनलमा पुगेको हो । डेनमार्क आफूले खेलेको तीनवटै खेलमा बराबरीको नतिजा निकालेको थियो । डेनमार्क पहिलो खेलमा स्लोभानियासँग १–१ गोल, दोस्रो खेलमा इङ्ल्यान्डसँग इङ्ल्यान्डसँग १–१ गोल र तेस्रो खेलमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो । डेनमार्कले दुई गोल गर्‍यो भने दुई गोल खायो । 

समूहगत चरणको नतिजालाई हेर्दा डेनमार्कभन्दा जर्मनी बलियो देखिन्छ । विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पनि डेनमार्कभन्दा जर्मनी अगाडि छ । उक्त वरीयतामा जर्मनी १६औँ र डेनमार्क २१औँ स्थानमा छन् ।  

युरोकप फुटबलमा जर्मनीको यो १४औँ सहभागिता हो । जर्मनी युरोकपको सबैभन्दा बढी संस्करण खेल्न राष्ट्र पनि हो । जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो । 

हालसम्म जर्मनीले तीनपटक युरोकपको उपाधि चुमिसकेको छ । आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनले उपाधि चुमेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तत्कालीन सोभियत संघलाई ३–० गोलले हराएको थियो । 

जर्मनी र डेनमार्कबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा जर्मनीले डेनमार्कलाई हराएको छ । डेनमार्कले भने आठ खेलमा मात्र जर्मनीलाई पराजयको स्वाद चखाउन सकेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ ।

जर्मनीले सन् १९८० र सन् १९९६ मा पनि युरोकपको उपाधि उचालेको थियो । सन् १९८० को युरोकपको फाइनलमा तत्कालीन पश्चिम जर्मनीले बेल्जियमलाई २–१ गोलले हराएको थियो । सन् १९९६ को युरोकपको फाइनलमा जर्मनीले चेक गणतन्त्रलाई पराजित गरेको थियो । 

जर्मनी तीनपटक युरोकपको फाइनलमा पराजित भएको छ । सन् १९७६ को युरोकपको फाइनलमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सन् १९९२ को युरोकपको फाइनलमा भने डेनमार्कले नै जर्मनीलाई २–० गोलले हराएको थियो । 

20240626-003040-L-1920x1280we

सन् २००८ को युरोकपको फाइनलमा स्पेनले जर्मनीलाई १–० गोलले पाखा लगाएको थियो । सन् २०१२ र सन् २०१६ को युरोकपमा भने जर्मनी सेमिफाइनलमा पराजित भएको थियो । युरोकपमा जर्मनीको इतिहास निकै गौरवशाली देखिन्छ ।

अर्कोतिर, युरोकप फुटबलमा डेनमार्कको यो १०औँ सहभागिता हो । डेनमार्कले सन् १९६४ मा पहिलो पटक युरोकप खेलेको थियो । डेनमार्कले हालसम्म एकपटक युरोकपको उपाधि चुमेको छ । डेनमार्कले सन् १९९२ मा युरोकप जितेको थियो । त्यतिबेला डेनमार्कले फाइनलमा जर्मनीलाई नै २–० गोलले पराजित गरेको थियो । 

जर्मनीले यसपटक आयोजक राष्ट्रका रूपमा युरोकपमा सहभागिता जनाएको हो । डेनमार्कले भने जारी युरोकपको छनोट चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । डेनमार्क छनोट चरणमा आफ्नो समूहको विजेता बन्दै युरोकपमा उपस्थित भएको हो ।

डेनमार्कले छनोट चरणमा खेलेको १० मध्ये सात खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो । छनोट प्रतियोगितामा डेनमार्कले विपक्षीको पोस्टमा कुल १९ गोल गरेको थियो भने १० गोल खाएको थियो ।

Denmark-1

जर्मनी र डेनमार्कबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा जर्मनीले डेनमार्कलाई हराएको छ । डेनमार्कले भने आठ खेलमा मात्र जर्मनीलाई पराजयको स्वाद चखाउन सकेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । 

यी दुई राष्ट्रबिच सन् १९१२ को अक्टोबर ६ तारिखमा पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा डेनमार्कले जर्मनीलाई ३–१ गोलले हराएको थियो । यी दुई टोलीबिच अन्तिम खेल भने सन् २०२१ को जुन २ तारिखमा खेलिएको थियो । त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

जारी युरोकपमा जर्मनी जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा छ । जर्मनीको टोलीमा बायर्न म्युनिखका म्यानुएल नुयर (गोलरक्षक), रियल म्याड्रिडका एन्टोनियो रुडिगर, बायर्न म्युनिखका जोसुआ किमिच, रियल म्याड्रिडका टोनी क्रुस, बायर्न म्युनिखका थोमस मुल्लर र लेरोय साने तथा बार्सिलोनाका ईल्की गुन्डोगन (कप्तान) जस्ता प्रभावशाली खेलाडी छन् ।

यसैगरी जारी युरोकपमा डेनमार्कको प्रमुख प्रशिक्षक कास्पर हजुल्मान्ड हुन् । डेनमार्कको टोलीमा एन्डलेच्टका कैस्पर स्मिचेल, क्रिस्टल प्यालेसका जोचिम एन्डर्सन, लेस्ट सिटीका यानिक भेस्टरगार्ड, मिलानका साइमन केजर, बार्सिलोनाका आन्द्रेस क्रिस्टिन्सनलगायतका प्रभावशाली खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप