सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

धान दिवस : यथार्थता र सार्थकता

शनिबार, १५ असार २०८१, १४ : १४
शनिबार, १५ असार २०८१

सन् १९६६ मा विश्वभर नै भोकमरी फैलियो । भोकमरीबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण बाली धान हुने संयुक्त राष्ट्रसंघले ठहर ग¥यो र धानलाई विश्वभर नै उत्पादन बढाउने अभियान चाल्न वर्ष बालीका रूपमा लियो । भोकमरीबाट मुक्तिको नारासहित उक्त वर्ष मुख्य बालीका रूपमा धान उत्पादनलाई जोड दिइयो । फलस्वरूप धान संसारका लागि मुख्य खानाका रूपमा स्थापित भयो । 

तत्पश्चात विश्वभर धानखेतीले प्रश्रय पायो । त्यसैले विश्व तहमा खुसियाली स्वरूप धानको सकारात्मक प्रचार–प्रसारका लागि दिवस तथा महोत्सव मनाउन थालियो । 

नेपालको सन्दर्भमा मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेती हुने गर्छ । समुद्र सतहभन्दा ६० मिटर उचाइ (झापा जिल्लाको कचनाकेवल)देखि तीन हजार ५० मिटर (जुम्लाको हुमचौर)सम्म हामीकहाँ धानखेती हुन्छ । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ७३ हजार हेक्टर (४७ प्रतिशत) क्षेत्रफलमा धानखेती गरिन्छ । विश्वमा झैँ नेपालमा पनि धान प्रमुख बालीका रूपमा स्थापित छ ।  

सरकारले दुई दशकअगाडि २०६१ देखि नियमित रूपमा असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउन थालेसँगै धान र यसको मुख्य परिकार भातका बारेमा चासो बढेको छ । हाल हामीकहाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातमहतका निकायहरू, राजनीतिक पार्टीका किसान भ्रातृ संघ तथा संगठनहरू, अन्य स्वतन्त्र तथा खेतीपातीमा संलग्न संघ–संस्था र संगठनहरू एवं स्थानीय सरकार समेत धान दिवस मनाउन तल्लीन छन् । 

रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान गर्न सक्छ । धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनु हुँदैन ।

कृषि मन्त्रालयले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस तथा महोत्सव भव्य तयारीका साथ चितवनमा मनाउने भएको छ । 

हामी दिवस मनाउँदै छौँ । आकाशको पानीको भरमा धान रोप्नुपर्ने बाध्यता झेलिरहेका किसानले चाहेर पनि रोपाइँ गर्न सकेका छैनन् । परार साल १९औँ धान दिवस मनाइरहँदा देशभर ३५ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्ष २०औँ धान दिवस मनाइरहँदा १३÷१४ प्रतिशत रोपाइँ सकिएको थियो । यो वर्ष हामी तामझाम त गर्दै छौँ, मनसुनमा आधारित वर्षामै निर्भर किसानले रोपाइँ गर्न सकिरहेका छैनन् । अहिलेसम्म देशभरि पाँच प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । यस्तो अवस्थामा हाम्रो तामझामले के अर्थ राख्ला ! 

  • सांस्कृतिक पक्ष

असारमा खाने दही र चिउरा, साउनमा खाने खिर ।

घरमा छैन मिठो बोली वचन, मनमा छैन थिर ।।

असार १५ हाम्रो संस्कृतिसँग जोडिएको दिन समेत हो । यस दिन दही–चिउरा र चामलबाट बनेका परिकार बनाएर खाने चलन छ । 

चामलबाट बनेका परिकार खाने र असारे गीत गाउँदै र बेठी बाजा बजाएर हिलोमा नाच्दै हिलो खेल्नु हाम्रो सांस्कृतिक परम्परा हो, अचेल यस्ता परम्परा जोगाउनुपर्ने भएको छ । 

आदिमकालदेखि नै किसान र प्रकृतिबिच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । लामो समयदेखि खडेरीको सामना खेपिरहेका किसान जब वर्षा सुरु हुन्छ, तब हर्षले गद्गद् भई रोपाइँ व्यस्त हुन्छन् । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ । औजार चलाउँदा हात खुट्टामा घाउ चोट लाग्छ, भोक–प्यास लाग्छ । 

थकान मेटाई शरीरमा स्फूर्ति कायम राख्न किसानले रामदली, गोडेलो, बेठी गीत र असारे आदि श्रम गीत रची मिठो भाकामा गाउँदै आए । यसरी उत्साह र उमङ्ग थप्दै असारे झरीमा रुझ्दै संस्कृतिको जगेर्ना एवं कर्मको निरन्तरता दिइरहेका छन् किसानले । 

कुनै पनि दिवस मनाउने भनेको रमाइलोका लागि होइन । रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान गर्न सक्छ । धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनु हुँदैन । कृषि कर्म एक दिन गरेर सामाजिक सञ्जालमा फोटो देखाएर लाइक र कमेन्ट गर्ने पेसा होइन । खेतीका लागि त निरन्तर परिश्रम गर्नुपर्छ, भनिन्छ, धावन्ते खेती । 

नेपालले २०३१ सालमा आठवटा कम्पनी स्थापना गरी धान–चामल निर्यात गर्न थालेको थियो । सोही वर्ष ५५ हजार मेट्रिक टन चामल नेपालबाट भारत, बंगलादेश लगायत देशमा निर्यात भएको थियो । कम्पनी स्थापना भएको सात वर्षसम्म निरन्तर रूपमा धान चामल निर्यात भयो । आठौँ वर्षमा पुग्दा नाटकीय रूपमा नेपालमै चामल आयात हुन थाल्यो र दशौँ वर्षसम्म पुग्दा ती आठवटै कम्पनी बन्द हुन पुगे ।

जनसंख्या वृद्धि भयो, उपभोग बढ्यो, परम्परागत कृषि प्रणालीमा खेतीपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने आधार बनाइयो । अवस्थाको सही विश्लेषण गर्न सकिएन, नीति–नियम किसानमैत्री बनाउन र कार्यान्वयन गर्न ध्यान दिइएन, किसानको सम्मान गर्न जानिएन फलस्वरूप किसान निराश भए । किसान निराश हुनु भनेको देशको कृषि क्षेत्र निराश हुनु हो । किसानप्रति सम्बन्धित निकायको दृष्टिकोण सकारात्मक नहुनु र किसानको अस्तित्व स्वीकार गर्न नसक्नुजस्ता कारण देशको उत्पादन ओरालो गतितिर झरेको हाम्रो अगाडि छर्लंग छ । 

हामीले धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालेको २० वर्ष पूरा भयो । समय सान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो कि भएन भनी कहिल्यै खोजेनौ । विगतका दिवसलाई फर्केर हेर्ने हो भने नारा एकातिर धान उत्पादनको अवस्था अर्कोतिर छ, अर्थात् फरक–फरक दिशातर्फ गएको पाइन्छ । हामीले एकातिर कृषि भूमिको संरक्षणको नारा लियौँ, अर्कोतिर धान फल्ने खेत खण्डीकरण भई कङ्क्रिटमा परिणत हुँदै छन्,  अर्थात् बजार बन्दै छन् । सडक, हाइड्रोपावर निर्माण लगायत विभिन्न कम्पनीका नाममा धान फल्ने जग्गा अधिग्रहण गरियो । पहिरो र नदी कटानमा खेतहरु परेका छन् । हरेक वर्षमा हजारौँ हेक्टर जमिन बाढी–पहिरोले नोक्सान गर्छ । संरक्षण छैन, यस कारण धान फल्ने जमिन साँगुरिएर गई उत्पादन घट्दो छ ।

हिजो धान–चामल निर्यात गर्ने कृषिप्रधान देशका जनता हामी आज अर्बौंको चामल किनेर खान बाध्य छौँ । हामीले दुई बाली धानखेतीको विस्तारको नारा लगायौँ, तर खेतीयोग्य जमिनमा वर्षायाममा समेत बाली लगाउने वातावरण बनाउन सकेनौँ । पानीको स्रोत प्रशस्त भएर पनि सदुपयोग गर्न सकेनौँ । किसानलाई अकासेपानीको भरमा खेती लगाउन बाध्य बनायौँ । यसले देखाउँछ, कृषि नाराले चल्दैन ।  

७० प्रतिशतभन्दा बढी पारिवारिक खेतीमा संलग्न साना किसानलाई राज्यले प्रोत्साहन गर्न सकेन । नेपालको भौगोलिक क्षमता, विशेषता, स्थानीय तह र किसानमा आश्रित समुदायको आवश्यकता नहेरी व्यावसायिक कृषिको नाममा रासायनिक मलको प्रयोगलाई जोड दिइयो । सरकारले आव २०८१÷०८२ का लागि कुल कृषि बजेटको आधाभन्दा बढी बजेट रासायनिक मलका लागि छुट्ट्याएको छ । गत वर्ष ३० अर्ब रकम रासायनिक मलमा खर्च गरे पनि धान रोपाइँ गर्ने समयमा किसानले मल पाउन सकेका छैनन् । कतिपय स्थानमा सहकारीबाट किसानलाई बाँड्न लगिएका सीमित कोटाको मल ५ तथा १० किलो भाग लगाएर वितरण गरिरहेका छन् । 

अर्कोतिर, वन्यजन्तुको प्रकोपका कारण खेतीपाती जोगाउन नसकी हार खाएर किसानहरू जमिन बाँझो राख्न बाध्य छन् । गाउँ ठाउँमा बसी कृषि कर्म गर्दै आएका देशका युवा जनशक्ति कृषिबाट निर्वाह नहुने देखेर गाउँबाट सहर र सहरबाट विदेशतिर जाने क्रम बढेर गएको छ । नागरिक समाजको दबाबमा सरकारले भूउपयोग नीति र नियमावली पास गरेको छ । अब त केही हुन्छ कि भनेर आशा गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पलाएको आशा पनि निराशामा परिणत भएको छ । 

खेतीयोग्य जमिनमध्ये १८–२० प्रतिशत जमिनमा मात्र सिँचाइको व्यवस्था छ । जलस्रोतमा धनी राष्ट्र भएर पनि खेतीयोग्य जमिनको पाँच मिटर तलबाट पानी बगिरहँदा त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन । डोजरे विकासका कारण परम्परागत रूपमा किसानको श्रमदानबाट निर्मित सिँचाइ कुलाहरू नोक्सान भई सञ्चालनमा आउन सकेका छैनन् । 

जमिनमा पानीको सतह घट्दै गएको छ । जसको असरले सुक्खा बढ्दै छ । हाम्रा अधिकांश जमिन सुक्खा छन् । सिँचाइको व्यवस्था छैन । कहिले आकाशबाट पानी खस्ला र रोपाइँ गरौँला भनेर किसानहरू आकाशतिर मुन्टो तेस्र्याउन विवश छन् । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा किसानले बाली लगाउने समयमा बाली लगाउन सकेका छैनन् ।

जलवायु परिवर्तनले धानखेतीलाई असर पु¥याइरहेको छ, यसको न्यूनीकरणका लागि जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास गर्नुपर्नेछ, उपलब्ध प्रविधिहरूको प्रचार–प्रसार गरी त्यसको सही रूपमा अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत बनाउनुपर्नेछ— यस वर्षको नाराले यही सन्देश दिन खोजेको छ । 

असार धर्तीपुत्र किसानका लागि महत्त्वपूर्ण समय हो । आदिमकालदेखि नै किसान र प्रकृतिका बिच घनिष्ठ सम्बन्ध रही आएको छ । यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । देशको मुख्य बाली धान रोप्ने समय भएकाले जब असार सुरु हुन्छ, तब किसानहरू आकाश हेर्न व्यस्त हुन्छन् । पानी कहिले पर्ला र रोपाइँ गर्ने भन्ने चिन्ताले किसानलाई सताउने गर्छ । किसानको यस्तो चिन्ता हटाउन राज्यले प्राथमिकताका साथ ठोस कार्याक्रम ल्याउनैपर्छ ।

(लेखक किसान अभियन्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवराज बस्नेत
नवराज बस्नेत
लेखकबाट थप