सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कैलालीमा तोरी लगाइने २० हजार हेक्टरमा चैते धानको सम्भावना

शनिबार, १५ असार २०८१, १४ : ०६
शनिबार, १५ असार २०८१

हामीकहाँ धान बाली मुख्य गरी दुई सिजनमा लगाउने गरिन्छ— हिउँदमा चैते धान र वर्षामा बर्खे धान । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ । 

बर्खे धानको तुलनामा चेतै धान बढी फल्छ । चैते धानको उत्पादकत्व ४.९७ मेट्रिक टन प्रतिहेक्टर छ भने बर्खे धानको उत्पादकत्व ३.९० मेट्रिक टन प्रतिहेक्टर छ । अर्थात् बर्खेको तुलनामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर १.०७ मेट्रिक टनले बढी छ । हाल देशभर ५७ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । 

  • कैलालीमा चैते धानको सम्भावना

कैलालीमा बर्खामा झन्डै ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यहाँ खासगरी चेतै धानको सम्भावना धेरै राम्रो छ । कारण, यहाँको २० हजार हेक्टर क्षेत्रफलमा तोरी खेती गरिन्छ । तोरी खेतीपछि करिब चार महिना खेत खाली हुन्छ, सो समयमा चैते धान लगाउन सकिन्छ । 

कैलालीमा मात्रै चैते धान ६० देखि ९० मेट्रिक टन धान उत्पादन हुन्छ । तोरी लगाइने २० हजार हेक्टर क्षेत्रफलमै चैते धान नलगाए पनि त्यसको २५ प्रतिशत (पाँच हजार हेक्टर) मा लगाउन सके उत्पादन निकै राम्रो हुने थियो । 

तोरीपछि चैते धान उत्पादनमा जोड दिन सके धानको उत्पादन बढाउन सकिन्छ । पहिलाको तुलनामा हाल चैते धानको क्षेत्रफल विस्तार भएको छ । अहिले कैलालीमा एक हजारदेखि १२ सय हेक्टरमा मात्रै चैते धानको खेती हुँदै आएको छ । यसलाई ४ देखि ५ हजार हेक्टर क्षेत्रफलमा पु¥याउन सकिन्छ 

सिँचाइको कुरा गर्दा— कैलालीको भजनी नगरपालिका बढी डुबान पर्ने क्षेत्र भएकाले यहाँ चेतै धान लगाउन सकिन्छ । यहाँ सिँचाइ सुविधामा बोरिङको व्यवस्था छ । 

अहिले कैलालीमा एक हजारदेखि १२ सय हेक्टरमा मात्रै चैते धानको खेती हुँदै आएको छ । यसलाई ४ देखि ५ हजार हेक्टर क्षेत्रफलमा पु¥याउन सकिन्छ

माघको दोस्रो साता आसपास चैते धानको बिउ छर्न सके राम्रो उत्पादन लिन सकिन्छ । 

नेपालमा धान लगायत खाद्यान्न वस्तु आयात धेरै मात्रामा भइरहेको छ । चालु आव (२०८०/०८१) को ११ महिनामा ४३ अर्ब ८० करोड रुपैयाँभन्दा बढी मूल्यको करिब ९ लाख मेट्रिक टन खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांक छ । जसमा धान, मकै, गहुँ लगायत छन् । यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भइरहेका छन् । 

यसमा पनि बढी मात्रामा हुने धान–चामलको आयात रोक्ने एउटा मात्रै उपाय हो, धानको क्षेत्रफल बढाएर उत्पादनमा वृद्धि गर्नु र उत्पादकत्व बढाउनु । उत्पादकत्व भनेको हामी जति हेक्टर क्षेत्रफलमा उत्पादन गर्छौं, त्यो प्रतिहेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्नु हो । त्यसका लागि बर्खे धानमा मात्रै जोड गरेर उत्पादन बढाउन सक्दैनौँ । त्यसको सीमा हुन्छ । धानको उत्पादन बढाउन चैते धानमा जोड दिनुपर्छ । 

कञ्चनपुरमा गहुँ खेती बढी हुन्छ । कैलालीको तुलनामा कञ्चनपुरमा तोरी खेती थोरै हुन्छ । त्यस कारणले कञ्चनपुरको तुलनामा कैलालीमा चैते धान खेती धेरै हुने सम्भावना छ । चैते धान झापादेखि कञ्चनपुरसम्मै उत्पादन हुन्छ, तर कैलालीमा सम्भावना बढी छ । 

चेतै धानका जात लामो अवधिका छन् । अहिले चार महिनामा पाक्ने जातहरू छन् । यसले गर्दा मनसुन भित्रिएपछि चैते धान काट्ने समस्या देखिएको छ । जेठभित्रै भित्र्याउन सक्ने प्रविधि ल्याउनुपर्ने देखिन्छ । छोटो अवधिमा पाक्ने जात निकाल्नुपर्छ । यसले बर्खे सिजनमा किसानले धान लगाउन सहज हुन्छ । 

(वरिष्ठ कृषि अधिकृत तथा प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख जोशीसँग रातोपाटीकर्मी सरिता थारुले गरेको संवादमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्दराज जोशी
गोविन्दराज जोशी
लेखकबाट थप