सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

महालेखा परीक्षकलाई संसद्ले सक्दो सहयोग गर्छ : सभामुख

शनिबार, १५ असार २०८१, १४ : ०१
शनिबार, १५ असार २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्को तर्फबाट महालेखा परीक्षकको कार्यालयलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् ।  शनिबार महालेखा परीक्षकको ६६ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र स्रोत साधनको परिचालनका विषयमा अपेक्षित सुधार आवश्यक रहेको भन्दै त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् । 

उनले भने, ‘मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन, स्रोत साधनको परिचालन र स्थिति तथा सेवा प्रवाहलगायतका विषयमा देखिएका सुझाव कार्यान्वयन गरि अपेक्षित सुधार हुन जरुरी छ । संघीय संसद्को तर्फबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास दिलाउन चाहन्छु ।’ 

महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा ब्यहोरालाई संघीय संसद्, प्रदेशसभा तथा गाउँ, नगरसभाले गम्भीरतापूर्वक नलिएको भन्दै यसमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको बताए । 

उनले भने, ‘महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा ब्यहोरालाई संघीय संसद्, प्रदेश सभा तथा गाउँ नगर सभाले गम्भीरतापूर्वक लिई प्रतिवेदन कार्यान्वयन विशेष ध्यान पुर्‍याउनुपर्नेमा विगतका प्रतिवेदन कार्यान्वयन नभई एकै प्रकृतिका ब्यहोरा बर्सेनि पुनरावृत्ति हुन नदिन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरा हो र अहिलेको जिम्मेवारी रहेको ठानेको छु ।’ 

राज्यको स्रोत, साधन र कोष सञ्चालन गर्ने सबै निकायले जिम्मेवारी र जबाफदेहिता बहन गर्दै वित्तीय अनुशासन पालनामा अग्रणी भूमिका निर्वाह गरि अनियमितता र बेरुजु हुनै नपाउने गरी काम गर्ने अपेक्षा राखेको उनको भनाइ छ ।

महालेखा परीक्षणले प्रस्तुत गर्ने प्रतिवेदन संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल गरि टुङ्गाउनुपर्ने भएकाले प्रतिवेदनमा समावेश हुने विषयवस्तुहरूको नियमित रूपमा छलफल गर्दै समयमा नै बेरुजुको विषय निरूपण गरि जबाफदेहिता अभिवृद्धि गर्न सभामुखको सुझाव थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप