सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड

शनिबार, १५ असार २०८१, १२ : ३७
शनिबार, १५ असार २०८१

काठमाडौँ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्षलाई भेटेर नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले आयोगद्वारा जलविद्युत् बाहेकका ऊर्जा प्रविधिका लागि पनि सम्बोधन गर्नुपर्ने र विद्युतीय ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा रामप्रसाद धितालले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामूलक काममा सहकार्यका लागि आयोग सकारात्मक रहेको उल्लेख गरे । साथै विद्युत् ऊर्जाअन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरूको उपयोगका लागि उपयुक्त वातावरणका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र दिगो ऊर्जा मिश्रणलाई आयोगले जोड दिने उल्लेख गर्दै यसका निम्ति नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । यसैगरी सदस्यहरू आयोगका नवनियुक्त सदस्य डा मधुसूदन अधिकारीले आयोगले समग्र ऊर्जा क्षेत्रलाई नियमन गर्ने भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि आयोगको ध्यान पुग्ने बताउँदै आयोगले यस क्षेत्रको नीतिगत सहजताका लागि पहल गर्ने बताए ।

कार्यक्रममा आयोगका सदस्यहरू झमकप्रसाद शर्मा र गौतम डङ्गोलले पनि आ–आफ्नो मन्तव्य राख्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप