सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त

शनिबार, १५ असार २०८१, ०८ : २०
शनिबार, १५ असार २०८१

(दक्षिण अफ्रिका र भारतबिच शनिबार राति हुने फाइनल खेलका क्रममा वर्षाको सम्भावना देखिएको छ । यदि वर्षाका कारण शनिबारको खेल रद्द भए त्यो खेल आइतबारका लागि सारिने छ । यदि आइतबार सारिएको फाइनल खेल पनि वर्षाका कारण रद्द भए दुबै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिने छ ।)

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि शनिबार दुई प्रभावशाली टेस्ट राष्ट्र भारत र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ । फाइनल खेल क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

भारत १० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो ।

383947

अर्कोतिर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा आसीन छ । उक्त वरीयतामा दक्षिण अफ्रिका भने पाँचौँ स्थानमा छ ।

  • जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रदर्शन

टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिकाको प्रदर्शन निकै उत्कृष्ट देखिएको छ । दक्षिण अफ्रिका लगातार आठ खेल जित्दै जारी विश्वकपको फाइनलमा पुगेको हो । यो तथ्याङ्कले दक्षिण अफ्रिकालाई बलियो टोलीको रूपमा चित्रण गर्छ ।

प्रारम्भिक चरणको खेलमा दक्षिण अफ्रिकाले चारवटै खेल जितेको थियो । दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो । प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा भने दक्षिण अफ्रिकाले नेपालमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो ।

‘सुपर–८’ चरणमा भने दक्षिण अफ्रिका ‘समूह–२’ मा परेको थियो । ‘सुपर–८’ चरणमा पनि दक्षिण अफ्रिकाले तीनवटै खेलमा सफलता हात पारेको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

यसैगरी दक्षिण अफ्रिकाले आफ्नो दोस्रो खेलमा साबिक विजेता इङ्ल्यान्डमाथि सात रनको रोमाञ्चक जित हात पारेको थियो । दक्षिण अफ्रिकाले तेस्रो खेलमा दुईपटकको च्याम्पियन वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराएको थियो ।

दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा आफ्नो समूहको विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यो समूहबाट उप–विजेता बन्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको थियो ।

  • जारी विश्वकपमा भारतको प्रदर्शन

जारी विश्वकपमा भारतीय टोली पनि निकै लयमा देखिएको छ । भारतीय टोली सात खेलमा जितको नतिजा निकाल्दै फाइनलमा पुगेको हो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसैले भारत यो विश्वकपमा बलियो टोलीका रूपमा देखिएको छ ।

प्रारम्भिक चरणको खेलमा भारतले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । भारत समूह ‘ए’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।

आफ्नो दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हात पारेको थियो । भारतले आफ्नो तेस्रो खेलमा भने आयोजक अमेरिकालाई सात विकेटले पाखा लगाएको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

‘सुपर–८’ चरणमा पनि भारतीय टोली ‘समूह–१’ मै परेको थियो । ‘सुपर–८’ चरणमा भारतले तीनवटै खेलमा जित हात पारेको थियो । भारतीले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको थियो ।

यसैगरी आफ्नो तेस्रो खेलमा भारतीय टोलीले निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियामाथि २४ रनको जित हात पारेको थियो । भारत ‘सुपर–८’ चरणमा पनि पहिलो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा भने भारतले साबिक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराएको थियो ।

  • टी–२० विश्वकप र दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । एकदिवसीय विश्वकपजस्तै टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिका अभागी टोलीका रूपमा दरिँदै आएको छ ।

383957

पहिलो संस्करणदेखि नै सहभागिता जनाए पनि दक्षिण अफ्रिकाले हालसम्म उपाधि भने जित्न सकेको छैन । दक्षिण अफ्रिका फाइनलमा पुगेको पनि यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलसम्म पुगेको थियो ।

दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा हालसम्म कुल ४८ खेल खेलिसकेको छ । त्यसमध्ये दक्षिण अफ्रिका ३२ खेलमा विजयी भएको छ । १५ खेलमा दक्षिण अफ्रिका पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ

  • टी–२० विश्वकप र भारत

भारतले पनि सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, भारतले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । भारतले आफ्नो पहिलो सहभागितामै उपाधि जितेको थियो । त्यतिबेला भारतले फाइनलमा पाकिस्तानमाथि पाँच रनको जित हात पारेको थियो ।

त्यसपछि सन् २०१४ मा पनि भारती टोली टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतीय टोलीलाई श्रीलंकाले ६ विकेटले हराएको थियो । त्यसपछि भारत टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको थिएन ।

टी–२० विश्वकपमा भारतले हालसम्म कुल ५१ खेल खेलिसकेको छ । त्यसमध्ये भारतीय टोली ३४ खेलमा विजयी भएको छ । १५ खेलमा भने भारतीय टोली पराजित भएको छ । भारतको एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

  • लयमा देखिएका दक्षिण अफ्रिकी खेलाडी

नवौँ विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्विन्टन डी काक हुन् । उनले दक्षिण अफ्रिकाका लागि आठ खेलमा कुल दुई सय चार रन बनाइसकेका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् । क्विन्टन डी काकले यो विश्वकपमा बनाएको उच्च स्कोर ७४ रन हो । उनले १२ छक्का र १७ चौका पनि प्रहार गरेका छन् ।

यो विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा डेभिड मिल्लर दोस्रो स्थानमा छन् । उनले दक्षिण अफ्रिकाका लागि सात पाली खेल्दै कुल एक सय ४८ रन बनाएका छन् । यस क्रममा उनले एक अर्धशतक प्रहार गरेका छन् । यो विश्वकपमा उनको उच्च स्कोर अविजित ५९ रन हो । उनले सात छक्का र नौ चौका प्रहार गरेका छन् ।

हेनरिच क्लासेनले पनि दक्षिण अफ्रिकाका लागि सात पालीमा कुल एक सय ३८ रन बनाएका छन् । यो विश्वकपमा उनको उच्च स्कोर ४६ रन हो । यसका अतिरिक्त ट्रिस्टन स्टब्सले पनि सात पालीमा कुल एक सय ३४ रन बनाएका छन् ।

यसैगरी जारी विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर एनरिच नोर्ट्जे हुन् । तीव्र गतिका बलर नोर्ट्जेले आठ खेलमा कुल १३ विकेट लिइसकेका छन् । जारी विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल सात रन खर्चिएर चार विकेट हो ।

383807

दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा कागिसो राबडा दोस्रो स्थानमा छन् । उनले आठ खेलमा १२ विकेट लिइसकेका छन् । जारी विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी यो सूचिमा तेस्रो स्थानमा टिम साउथी छन् । उनले जारी विश्वकपमा केवल चार खेल खेल्दै ११ विकेट हात पारिसकेका छन् । यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन भने केवल १९ रन खर्चिएर चार विकेट हो ।

  • लयमा देखिएका भारतीय खेलाडी

नवौँ विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित शर्मा हुन् । अनुभवी ब्याट्सम्यान रोहितले भारतका लागि सात खेल खेल्दै कुल दुई सय ४८ रन बनाइसकेका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक प्रहार गरेका छन् ।

कप्तान रोहितले यो विश्वकपमा बनाएको उच्च स्कोर ९२ रन हो । यस क्रममा उनले १५ छक्का र २२ चौका पनि प्रहार गरेका छन् । यो विश्वकपमा उनको स्ट्राइक रेट १५५.९७ रहेको छ । यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी तेस्रो स्थानमा छन् ।

यसैगरी भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा सूर्यकुमार यादव रहेका छन् । उनले सात खेल खेल्दै कुल एक सय ९६ रन बनाएका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ५३ रन हो । उनले १० छक्का र १५ वटा चौका पनि हिर्काएका छन् ।

यो सूचिमा तेस्रो स्थानमा ऋषभ पन्त रहेका छन् । उनले भारतका लागि सात खेल खेल्दै कुल एक सय ७१ रन बनाएका छन् । यो विश्वकपमा उनको उच्च स्कोर ४२ रन हो । उनले ६ छक्का र १९ चौका प्रहार गरेका छन् । भारतका लागि हार्दिक पाण्ड्याले पनि पाँच पालीमा कुल एक सय ३९ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यसैगरी जारी विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले सात खेलमा कुल १५ विकेट लिइसकेका छन् । यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर चार विकेट हो । उनी यो विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि दोस्रो स्थानमा छन् ।

भारतका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा जसप्रित बुमराह छन् । उनले कुल १३ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल सात रन खर्चिएर तीन विकेट हो । यो सूचिमा तेस्रो स्थानमा कुलदीप यादव छन् । उनले चार खेलमा १० विकेट लिएका छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा भारत र दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुल २६ खेल खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियको विगतलाई हेर्दा दक्षिण अफ्रिकाभन्दा भारत केही बलियो देखिन्छ । यसअघि खेलिएका २६ मध्ये १४ खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ ।

दक्षिण अफ्रिकाले भने भारतलाई ११ खेलमा पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको एक खेल अनिर्णीत रूपमा सकिएको छ । यी दुई टोलीबिच खेलिएको पछिल्ला पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये तीनवटामा दक्षिण अफ्रिका र दुईवटामा भारत विजयी भएका छन् ।

indian fans

  • टी–२० विश्वकपमा दक्षिण अफ्रिका र भारत

टी–२० विश्वकपमा यी दुवै टोलीको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिका र भारतबिच हालसम्म टी–२० विश्वकप कुल ६ खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ । बाँकी दुई खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ ।

पछिल्लो पटक सन् २०२२ को टी–२० विश्वकपमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले पराजित गरेको थियो । त्यो खेलमा भारतका लागि सूर्यकुमार यादबले ६८ र दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले अविजित ५९ रन बनाएका थिए ।

348465

यी दुई टोलीबिच हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान डेभिड मिल्लर हुन् । उनले भारतविरुद्धको टी–२० अन्तर्राष्ट्रि क्रिकेटमा कुल चार सय ३१ रन बनाएका छन् ।

भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने रोहित शर्मा हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध कुल चार सय २० रन बनाएका छन् । भारतविरुद्ध एउटै खेलमा डेभिड मिल्लरले बनाएको उच्च स्कोर अविजित एक सय ६ रन हो । दक्षिण अफ्रिकाविरुद्ध एउटै खेलमा रोहित शर्माले बनाएको उच्च स्कोर एक सय ६ रन हो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक विकेट लिने भारतीय बलर भुवनेश्वर कुमार हुन् । उनले कुल १४ विकेट लिएका छन् । भारतविरुद्ध सबैभन्दा बढी विकेट लिने दक्षिण अफ्रिकी बलर केशव महाराज र लुङ्गी एनगिदी हुन् । यी दुवैले १०–१० विकेट लिएका छन् ।

  • फाइनल खेल हुने केनसिङ्टन ओभल स्टेडियम

बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा यसअघि भारत र दक्षिण अफ्रिकाले आपसमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । त्यसैले यो स्टेडियममा यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

तर, यी दुवै टोलीले अन्य प्रतिद्वन्द्वीसँग भने यो स्टेडियममा यसअघि पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यो स्टेडियममा हालसम्म कुल ३२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

यो स्टेडियममा खेलिएको ११ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको इतिहास देखिन्छ । यो स्टेडियममा हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यो स्टेडियममा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सबैभन्दा ठुलो स्कोर पाँच विकेट गुमाएर दुई सय २४ रन हो । त्यो स्कोर सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले बनाएको थियो । यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ८० रन हो । सन् २०१० मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ८० रनमै अलआउट गराएको थियो ।

यसैगरी यो स्टेडियममा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओसतमा रन एक सय ५३ रन बन्ने गरेको छ । सन् २०२३ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा वेस्ट इन्डिजले १८.१ ओभरमा ६ विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पुरा गरेको थियो । यो स्टेडियममा कुनै पनि टोलीले हासिल गरेको त्यो सबैभन्दा ठुलो विजयलक्ष्य थियो ।

यो स्टेडियममा खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले बनाएको उच्च स्कोर एक सय सात रन हो । सन् २०१० मा जिम्बाबेविरुद्धको खेलमा वेस्ट इन्डिजका रोभमन पोवेलले केवल ५३ बलमा उक्त रन बनाएका थिए ।

यसैगरी यो स्टेडियममा खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट बलिङ गर्ने बलर वेस्ट इन्डिजका जेसन होल्डर हुन् । उनले सन् २०२२ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा चार ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

यो स्टेडियममा दक्षिण अफ्रिकाले हालसम्म तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमध्ये दक्षिण अफ्रिका दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतले पनि यो स्टेडियममा तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतीय टोली त्यसमध्ये एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ ।

  • फाइनल खेलमा वर्षाको सम्भावना

भारत र दक्षिण अफ्रिकाबिच जारी विश्वकपको फाइनल खेल हुँदा शनिबार ब्रिजटाउनमा वर्षाको सम्भावना रहेको समाचारमा जनाइएको छ । शनिबार ब्रिजटाउनको आकाश पूर्णरुपमा बदलले ढाकेको हुनेछ । खेलका क्रममा वर्षाको सम्भावना ३० प्रतिशत रहेको स्थानीय जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • वर्षाले खेल रद्द भए के हुन्छ ?

दक्षिण अफ्रिका र भारतबिच शनिबार राति हुने फाइनल खेलका क्रममा वर्षाको सम्भावना छ । यदि वर्षाका कारण शनिबारको खेल रद्द भए त्यो खेल आइतबारका लागि सारिने छ । आईसीसीले फाइनल खेलका लागि एक अतिरिक्त दिनको प्रावधान राखेको छ ।

आइतबारको खेल पनि वर्षाका कारण रद्द भएमा के हुन्छ त ? यदि आइतबार सारिएको फाइनल खेल पनि वर्षाका कारण रद्द भए दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिने छ । त्यसपछि टी–२० विश्वकपको नवौँ संस्करणको ट्रफीमाथि दुवै टोलीको बराबर अधिकार हुनेछ ।

  • भारत र दक्षिण अफ्रिकाको टोली

भारत :रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज ।

दक्षिण अफ्रिका :एडेन मारक्रम (कप्तान), आटनिल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, बोर्न फोच्र्युन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रायन रिकेल्टन, टाबरिज साम्सी र ट्रिस्टन स्टब्स ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप