बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : राष्ट्रिय धान दिवस

हाम्रो अर्थतन्त्रमा धानको योगदान : उत्पादन बढाउन के गर्ने ?

शनिबार, १५ असार २०८१, ०७ : ४४
शनिबार, १५ असार २०८१

आज (१५ असार) २१औँ  ध्यान दिवस । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ  । 

धान र मनसुन नेपाली अर्थतन्त्रका बलिया खम्बा हुन् । जेठ २८ मा कोशी प्रदेशबाट भित्रिएको मनसुन यो आलेख तयार पार्दासम्म लगभग देशभर नै सक्रिय भइसकेको छ । 

मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा ३५.५५ प्रतिशत बढी वर्षा हुने जनाएको छ, त्यसैले विपत् व्यवस्थापनमा सजग हुनुपर्नेछ । बर्खा र मनसुन भनेपछि नेपाली कृषकले सम्झने बाली हो, धान । असार लागेसँगै अधिकांश नेपालीलाई छिपछिपे हिलो, दही–चिउरा, रोपाइँ, बाउसे, हलगोरु, रोपाहार, मेलो आदिको सम्झना हुन्छ । 

नेपालमा खाद्य सुरक्षा भनेकै धान हो भन्दा अतिशयोक्ति हुँदैन, किनकि करिब ६७ प्रतिशत खाद्य आपूर्ति धानबाटै हुन्छ भने खानपानमा करिब एकतिहाइ क्यालोरीको स्रोत पनि धान हो । 

क्षेत्रफल, उत्पादन, खपत आर्थिक क्षेत्रमा पु¥याइरहेको योगदान— सबैका आधारमा नम्बर १ मा छ धान बाली । चामलबाट देशमा विभिन्न समुदायले अनेक परिकारहरू बनाउँछन्— भात, चिउरा, भुजा, खिर, रोटी, सेलरोटी, चाम्रे, लट्टे, पुवा, पुलाउ, कसार, केक, जाउलो, झिलिङ्गा–झिनिया, खिचडी, खट्टे, सिरौँला, यमरी, चताँमरी, ग्वार्चामरी, ढिक्री, भक्का, भातीजाँड, छ्याङ, माड, रक्सी आदि । चामललाई पवित्र कार्य वा विभिन्न संस्कारमा पनि प्रयोग गरिन्छ । 

नेपाल लगायत एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो, धान । संसारका सयभन्दा बढी मुलुकमा धानखेती गरिन्छ, तर वातावरणीय अनुकूलताले गर्दा एसिया महादेशलाई धान उत्पादनका दृष्टिले अग्रणी मानिन्छ । विश्वको कुल धान उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपतका यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यानमार— यी सात देशमा मात्र विश्वमा हुनेमध्ये ८० प्रतिशतभन्दा बढी धानको उत्पादन हुन्छ । नेपाल धान उत्पादनका हिसाबले १७औँ स्थानमा पर्छ । 

धानको उपभोग र निर्भरता घटाउन पोषणले भरपुर अन्य स्थानीय खाद्यान्न (जस्तै : कोदो, फापर, जौ, उवा, चिनु, कागुनो, जुनेलो, लट्टे–मार्से आदि)को उत्पादन र उपभोग बढाउनुपर्छ । यी खाद्यान्नको पौष्टिकताबारे चेतनामूलक सन्देश प्रवाह गर्न सकिन्छ ।

हाम्रो खानामा धान कतिको महत्त्वपूर्ण बाली हो भन्ने कुरा त दुई नेपाली भेट भएबाटै थाहा हुन्छ । उनीहरू सोध्छन्— भात खानुभयो । केही पहिलेसम्म कतिपय स्थानमा छोरी दिन धानको कुन्यु र परालको टौवा हेरिन्थ्यो । यत्तिको घरमा छोरीको जीवन राम्रै होला, गरी खाली भनी बिहे गरेर दिने चलन थियो । 

संसारकै सबैभन्दा अग्लो स्थानमा धान हुने देश नेपाल नै हो । नेपालमा धानखेती समुद्र सहतदेखि ६० मिटर उचाइमा रहेको स्थान (झापाको केचनाकलन)देखि ३०५० मिटरसम्मको उचाइमा रहेको स्थान (जुम्लाको छुमचौर जिउला)सम्म हुने गर्छ । यस्तै ७५ वटा जिल्ला (मनाङ र मुस्ताङ जिल्ला बाहेक)मा धानखेती गरिन्छ ।

जुम्लाको छुमचौर ज्युलामा हुने जुम्ली मार्सी जातको धानमा अत्यधिक चिसो सहन सक्ने पैतृक गुण छ । यसै कारण चिसो सहने गुण चाहिने जातीय विकासका लागि संसारभर यसको प्रयोग भइरहेको छ । नेपाल त्यो भौगोलिक अद्वितीय क्षमता भएको देश हो, जहाँ वर्षैभरि प्राकृतिक रूपमा धानखेती गर्न सकिन्छ । हिउँदे धान (बोरो) मङ्सिरदेखि जेठसम्म, घैया धान फागुनदेखि भदौसम्म, चैते धान फागुनदेखि असारसम्म र बर्खे धान असारदेखि मङ्सिरसम्म खेती गरिन्छ ।

  • अर्थतन्त्र र धान बाली 

करिब ५० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको हाम्रो मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २४ प्रतिशत अंश कृषिको रहेको छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको १३.६ प्रतिशत योगदान रहेको छ । यस तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान गर्नुका साथै आर्थिक मेरुदण्डको भूमिका निर्वाह गरेको छर्लङ्ग हुन्छ । 

कुल उत्पादनमध्ये उच्च पहाडी क्षेत्रमा करिब पाँच प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराई–मधेसमा ७० प्रतिशत धानको उत्पादन हुन्छ । 

गत वर्ष कुल खेती गरिएको ३० लाख ९१ हजार हेक्टरमध्ये लगभग आधा (१४,३८,९८९ हेक्टर)मा धानखेती गरिएको थियो । यसबाट ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष धानको उत्पादकत्व ४.९७ प्रतिशतले बढेको र हालसम्मकै बढी उत्पादकत्व ३.९८ मेट्रिक टन प्राप्त भएको छ । उत्पादन बढ्नुको मुख्य कारण उन्नत बिउको उपलब्धता र प्रयोग, रोग–किराको प्रकोपमा कमी, प्राकृतिक प्रकोपमा कमी, मलखादको उपलब्धता, उन्नत कृषि औजार र प्रविधिको प्रयोग, मौसमको अनुकूलतालाई लिइएको छ ।

धानको उप–उत्पादन पराल पशु आहाराको मुख्य स्रोत हो, यो बर्सेनि करिब ७.१० अर्ब मूल्य बराबरको उत्पादन भइरहेको छ । पराल च्याउ उद्योगलाई चाहिने कच्चा पदार्थ समेत हो । परालबाट कागज उद्योग समेत चलाउन सकिन्छ । अर्कोतिर सामान्य खुद्रा पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म चामलको बिक्री–वितरण भइरहेका छन् । हजारौँ संख्याका मिल धानबाटै चल्ने हुनाले देशमा व्याप्त गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा समेत धानको योगदान छ । 

  • धानखेती 

कुल उत्पादनमध्ये उच्च पहाडी क्षेत्रमा करिब पाँच प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराई–मधेसमा ७० प्रतिशत धानको उत्पादन हुन्छ । 

तथ्यांक अनुसार गत वर्ष कोशी प्रदेशमा तीन लाख २४ हजार ४०१ हेक्टरमा धान लगाइएकामा १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भयो । मधेस प्रदेशमा तीन लाख ८३ हजार १८३ हेक्टरमा धान लगाइएकामा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन उत्पादन भयो । प्रादेशिक हिसाबले कर्णालीमा सबैभन्दा कम क्षेत्रफल (४१ हजार ९०४ हेक्टर)मा धान लगाइएकामा एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको थियो । 

व्यापारी यो मूल्य तिर्न मान्दैनन्, किसान सङ्गठित छैनन्, सरकारले हस्तक्षेपकारी भूमिका खेल्न सकिरहेको छैन । व्यापारीले किसानलाई सस्तोमा धान बेच्न बाध्य पार्छन् भने समर्थन मूल्य तोक्नुको केही अर्थ रहँदैन ।

नेपालमा धानको उत्पादकत्व ३.९८ टनप्रति हेक्टर पुगेको छ । जुन हालसम्मको बढी हो, तर विश्वका बढी धान उत्पादन गर्ने राष्ट्रहरूको भन्दा निकै कम हो । बङ्गलादेशमा प्रतिहेक्टर जमिनमा करिब पाँच टन उत्पादन हुन्छ भने चीनमा प्रतिहेक्टर जमिनमा सात टन उत्पादन हुन्छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, हर्दिनाथको अध्ययन अनुसार, हामीकहाँ पनि प्रतिहेक्टर जमिनमा पाँच टनसम्म उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ । त्यसका लागि प्रविधि र पूर्वाधारमा लगानी बढाउनुपर्ने हुन्छ ।

पछिल्लो एक–दुई वर्षयता नेपाल सरकारले धानको समर्थन मूल्य तोक्ने गरेको छ । यो कृषकका लागि खुसीको कुरा हो, तर यसको कार्यान्वयन त्यति प्रभावकारी नभएको किसानको गुनासो छ । व्यापारी यो मूल्य तिर्न मान्दैनन्, किसान सङ्गठित छैनन्, सरकारले हस्तक्षेपकारी भूमिका खेल्न सकिरहेको छैन । व्यापारीले किसानलाई सस्तोमा धान बेच्न बाध्य पार्छन् भने समर्थन मूल्य तोक्नुको केही अर्थ रहँदैन ।

  • धानका जात 

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार, हालसम्म नेपालमा जम्माजम्मी १५६ जातका धान सिफारिस भएका छन्, यीमध्ये ३० जात प्रचलनबाट हटिसकेको (डिनोटिफाइ) छ । हाल १२६ जात मात्र प्रचलन छन् । अर्काेतर्फ नेपालमा परापूर्वदेखि नै २५०० स्थानीय जातका धान पाइने उल्लेख भेटिन्छ । कतिपय धानका प्रजातिको उद्गमस्थल नेपाल नै हो । यद्यपि धेरैजसो स्थानीय धानका जात लोप भइसकेका छन् । 

हाल नेपालमा प्रचलित केही जात सुक्खा सहन गर्ने खालका छन् । जस्तै : सुक्खा धान–१, सुक्खा धान–२, सुक्खा धान–३, सुक्खा धान–४, सुक्खा धान–५, सुक्खा धान–६ र हर्दिनाथ–३ आदि । हर्दिनाथ हाइब्रिड धान–१, हर्दिनाथ हाइब्रिड धान–३ नेपालमै विकास गरिएका वर्णसङ्कर धान हुन् । 

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामलको खपत रहेको छ । हामीकहाँ करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ । करिब १० लाख मेट्रिक टन धान अपुग छ । 

यस्तै डुबान सहने जातहरूमा स्वर्णा सब–१, सम्भा मसुली सब–१, सेहराङ सब–१, गङ्गासागर–१, गङ्गासागर–२  आदि छन् । सुक्खा र डुबान दुवै सहन सक्ने जातमा बहुगुनी धान– १ र बहुगुनी धान–२ पर्छन् । 

अन्य प्रमुख उन्नत जातमा खुमल–४, खुमल–८, खुमल–१०, खुमल–१४, खुमल बासमती–१६, चन्दननाथ–१, चन्दननाथ–३, लेकाली धान–१, लेकालीधान–३, छोमरोङ आदि छन् ।    

ख्याति कमाएका स्थानीय जातमा मनसरा, गुदे, घैया, तिल्की, हंसराज, जोराइल बासमती, अनदी, एकले, पहेँले, गुडुरा, झिनुवा, जुम्ली मार्सी, मार्सी, आंगा, थापाचिना, माला, कालोधान, कोइली, बिरम्फुल, करिया कमोद, श्यामजिरा, कालानमक, कनकजिरा, बुहारी धान (गमडी राइस), आँपझुत्ते, बयर्नी आदि छन् । 

यीमध्ये पोखरेली जेठोबुढो, लल्का बासमती, छोम्रोङ, सुद्धोधन कालानमक, सिफारिस समेत गरिएका छन् भने कतिपय उन्मोचित जातमा हाम्रा स्थानीय जात आमा या बाबुका (पैतृक लाइन) रूपमा प्रयोग गरिएका छन् । यसरी नै हाम्रो राष्ट्रिय जिन बैङ्क र अन्तर्राष्ट्रिय जिन बैङ्कमा समेत हजारौँ धानका जात संरक्षण गरिएका छन् । 

  • आयात 

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामलको खपत रहेको छ । हामीकहाँ करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ । करिब १० लाख मेट्रिक टन धान अपुग छ । 

सन् १९६०–८० को दशकमा नेपालबाट धान चामल निर्यात नै हुन्थ्यो । २०२८ सालमा नेपालको जनसंख्या एक करोड १५ लाख थियो, हाल नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यसले गर्दा चामलको खपत प्रतिव्यक्ति बढ्नु स्वाभाविकै छ । भन्सार विभागको आव २०७९–८० को तथ्यांक अनुसार, ४७ अर्ब, ५७ करोड ३६ लाख ८४ हजार मूल्य बराबरको धानजन्य (धानको बिउ, धान, चामल र कनिका) सामग्री आयात भएको देखिन्छ ।

एकातिर प्रायः युवा विदेश गई कमाउन थालेका छन् भने अर्कोतिर सडकका कारण गाउँठाउँमा नगद प्रवाह हुन थालेको छ, यसकारण मसिनो तथा बास्नादार चामल खानेहरु बढ्न थालेका छन् ।

चालु आवको गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा २१ अर्ब १३ करोड ७० लाख ५ हजार बराबरको धानजन्य सामग्री भित्रिएको देखिन्छ । जसमा धानको बिउ मात्रै ८८ करोड, ६५ लाख, २१ हजार मूल्य बराबरको; अन्य धान र चामल २० अर्ब, २४ करोड, ३२ लाख, ६४ हजार मूल्यबराबरको र कनिका नौ लाख २० हजार मूल्य बराबरको भित्रिएको थियो ।

एकातिर प्रायः युवा विदेश गई कमाउन थालेका छन् भने अर्कोतिर सडकका कारण गाउँठाउँमा नगद प्रवाह हुन थालेको छ, यसकारण मसिनो तथा बास्नादार चामल खानेहरु बढ्न थालेका छन् । स्थानीय उत्पादन (आँटो, ढिँडो, रोटी, सातु, खोले, मकै, भट्ट ) खाने चलन हराउनाले चामलको माग र आयात बढ्न गएको पाइन्छ । 

  • चुनौतीहरू 

हावापानीको विविधताका कारण बढी उत्पादन हुने जातको धानको खेती हामीकहाँ कम हुने गर्छ । थोरै र टुक्रिएको जग्गाका कारण मेसिनको प्रयोगमा कठिनाइ भइरहेको छ । यस्तै सिँचाइ, मल र गुणस्तरीय बिउको अभाव छँदै छ । चैते धान सुकाउन असुविधा, बजारमा सस्तो मूल्यमा धान बेच्नुपर्ने किसानको बाध्यता र प्राविधिक ज्ञानको कमी, तीन तहको सरकारमा समन्वयको अभाव, उत्पादन लागत बढी हुनु आदि हाम्रा धानखेतीका मुख्य चुनौती छन् । 

जलवायु परिवर्तन लगायत चुनौती थपिएका छन् । बाढी, पहिरो र सुक्खा बढिरहेको छ । हिउँदे झरी हराइसक्यो, हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । युवा पुस्ता माटो छुन मन गर्दैनन् । खाद्यान्नको मूल्यवृद्धि अकासिँदो छ । धान र चामलको सबै जनतासामु उपलब्धता र पहुँचको कमी छ । लाखौँ युवा बेरोजगारी कारण बिदेसिएका छन् । उनीहरूलाई तत्काल रोजगारी दिने सरकारसँग कुनै योजना छैन । छोटो समयमा रोजगारी दिन सक्ने र आम्दानी गर्न सकिने भरपर्दाे क्षेत्र कृषि नै हो । यसपटकको बजेटमा कृषिमा लगानी दशक (२०८१–०९१) घोषणा गरिएको छ, तर कार्यान्वयन प्रभावकारी होला भन्ने कुनै विश्वासिलो आधार देखिँदैन ।

  • अबको बाटो 

यति वर्षभित्र धानमा आत्मनिर्भर हुने, यति वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने भन्ने सोच राखिएको पाइन्छ । भाषण गरिन्छन् तर स्थिति ज्युँका त्युँ छ । यसका लागि सर्वप्रथम राज्यसँग ठोस कार्ययोजना चाहिन्छ, त्यसपछि कार्यान्वयनका लागि दृढ इच्छाशक्ति हुनुपर्छ । योसँगै आवश्यक स्रोत व्यवस्थापन र सरोकार निकायको प्रतिबद्धता चाहिन्छ । साँच्चै धान र चामलमा आत्मनिर्भर हुने हो भने धानको उत्पादन र उत्पादकत्व बढाउने उपाय अपनाउनैपर्छ । 

धानको उपभोग र निर्भरता घटाउन पोषणले भरपुर अन्य स्थानीय खाद्यान्न (जस्तै : कोदो, फापर, जौ, उवा, चिनु, कागुनो, जुनेलो, लट्टे–मार्से आदि)को उत्पादन र उपभोग बढाउनुपर्छ । यी खाद्यान्नको पौष्टिकताबारे चेतनामूलक सन्देश प्रवाह गर्न सकिन्छ । यिनका परिकारमा विविधीकरण गर्न जरुरी देखिन्छ । 

धानको उत्पादन वृद्धिका लागि धान अनुसन्धान र विकासमामा पर्याप्त लगानी आवश्यक छ । यस्तै सिँचाइ सुविधामा बढोत्तरी गरिनुपर्छ । स्थानविशेष बढी फल्ने धानको जातको विकास र बिउको छनोटमा जोड दिइनुपर्छ । सिफारिस मलखादको प्रयोग, चैते धानको क्षेत्र विस्तार, कृषि यान्त्रिकीकरणमा जोड, उत्पादन उपरान्त हुने क्षतिमा कमी गर्ने उपायको अवलम्बन, भण्डारणका पूर्वाधार विकास, स्थानीय सरकारको अर्थपूर्ण प्रतिबद्धता आदि नै धान उत्पादन वृद्धिका प्रमुख अंश हुन् । यी र यस्तै प्रविधि र पूर्वाधारका पक्षमा ध्यान पुगे मात्र राष्ट्रिय धान दिवसले सार्थकता पाउने देखिन्छ । 

(लेखक कृषि वैैज्ञानिक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामबहादुर केसी
रामबहादुर केसी
लेखकबाट थप