सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
असार १५

आज दही–चिउरा खाने दिन : दहीको कारोबार १ अर्ब रुपैयाँभन्दा बढी हुने

दुग्ध व्यवसायीलाई केही राहत मिल्ने
शनिबार, १५ असार २०८१, ०७ : १७
शनिबार, १५ असार २०८१

काठमाडौँ । आज असार १५ अर्थात् दही–चिउरा खाने दिन । यस दिन देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् ।

त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी पाइसकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ । यद्यपि असार १५ का दिन दुग्ध उत्पादक किसानका लागि पनि केही राहत मिल्ने सरोकारवाला बताउँछन् ।

दही–चिउरा खाने दिनमात्रै दहीको कारोबार करिब १ अर्ब ४० करोड रुपैयाँको हुने अनुमान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । उनका अनुसार असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने अनुमान छ ।

दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको यादवको भनाइ छ ।

‘यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरिन्छ,’ उनले भने, ‘असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही–चिउरा खाइन्छ ।’

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दही–चिउरा खाने नेपाली संस्कृति रहेको सुनाए । ‘वर्षमा एक चोटीमात्र होइन, बारम्बार गरिरहनुपर्ने कार्यक्रम हो,’ उनले भने, ‘किसानले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ खपत बढाउन यस्ता कार्यक्रम सदैव गर्नुपर्छ ।’

दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको यादवको भनाइ छ । ‘अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण रूपमा लागेको छ,’ उनले भने, ‘दही–चिउरा खाने हाम्रो पुरानो संस्कृति हो । यसले स्वदेशी उत्पादनको खपत हुनुको दही–चिउराले स्वास्थ्यलाई समेत फाइदा गर्छ र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रवर्द्धन हुन्छ ।’

पशुसेवा विभागका पशु विकास अधिकृत सिताराम वलीले किसान र उद्योगीबिच समन्वय हुनुपर्ने बताए । ‘किसान र उद्योगीको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ,’ उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि किसानको उत्पादन सङ्कलन गरी प्रशोधन गर्दै बजारसम्म ल्याउनु उद्योगको कर्तव्य हो ।’

दुग्ध क्षेत्रमा देखिएका समस्यालाई किसान र उद्योगीले मिलेर समाधान गर्नुपर्ने वलीको भनाइ छ । ‘सरोकारवाला छुट्टाछुट्टै हिँडेर कहीँ पनि नपुगिने कुरा सबैले बुझ्न आवश्यक छ,’ उनले भने, ‘दुग्ध क्षेत्रको हितका लागि सबैले काम गरिरहनुपर्ने अवस्था छ ।’

नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही–चिउरा खाने भएकाले यस दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ ।

केन्द्रीय दुग्ध उत्पादक सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले दही–चिउरा खाने, खिर खाने लगायतका हरेक पर्वले किसानको उत्पादन खपतमा ठुलो सहयोग पुगेको बताए ।

नेपालमा असार १५ लाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ ।

सन् २००४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने चलन चलेको हो । नेपालमा पनि खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो ।

नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही–चिउरा खाने भएकाले यस दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षा याममा हिलाम्य भएको शरीरलाई दही खाँदा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको सरोकारवालाको भनाइ छ ।

यस्ता छन् दही खानुका फाइदा

  • दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ,
  • दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ,
  • पेटसम्बन्धी समस्या हुनेलाई दही अत्यन्त उपयोगी मानिन्छ,
  • अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ,
  • आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ,
  • दही खानाले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ,
  • दही नियमित खाएको खण्डमा कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ,
  • मुटुको धड्कन बढ्ने समस्यामा पनि दही लाभदायी हुन्छ,
  • दही खानाले हड्डीहरूको विकासमा सहयोग पुर्‍याउँछ,
  • दाँत, नङ बलियो पार्न पनि दही खानु उपयोगी हुन्छ,
  • अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ,
  • दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप