सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
विलम्ब

केपी ओलीले उद्घाटन गरेको २७ महिना बित्दा पनि सञ्चालन भएन ‘भ्यु–टावर’

शनिबार, १५ असार २०८१, ०७ : ०३
शनिबार, १५ असार २०८१

बुटवल । २०७८ साल चैत १५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तामझामसहित उद्घाटन गरेको ‘भ्यु–टावर’ अझै सञ्चालनमा आउन सकेको छैन । 

साढे ११ करोड रुपैयाँमा निर्माण भएको भ्यु–टावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)ले कुनै लाभ लिन सकेको छैन ।

वन वाटिकाभित्र पर्ने उक्त भ्यु टावरले यहाँको पर्यटक आगमन बढाउने अपेक्षा भए पनि सञ्चालन हुन नसक्दा अपेक्षित उद्देश्य प्राप्त हुन सकेको छैन । भ्यु टावर निर्माण भए पनि ठेक्का लगाउँदा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने योजना थियो । त्यही अनुसार ठेक्काको प्रक्रिया अगाडि बढाए पनि दोस्रो चरणको संरचना निर्माण अझैसम्म पूरा नभएपछि ठेक्काको लागि कबोल गरेको ठेकेदार कम्पनीले सम्झौता नगरी बसेको छ ।

पछिल्लो संरचना निर्माणका लागि तिलोत्तमा नगरपालिका र सङ्घीय सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५ करोड बजेटमा काम सुरु गरिएको थियो । जसमध्ये नगरपालिकाले आफ्नो रकमले काम गरे पनि सङ्घीय सरकारले पर्यटन प्रवर्द्धन अन्तर्गत रकम नपठाएका कारणले संरचना पूरा नभएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले रातोपाटीलाई बताए ।

तिलोत्तमा नगरपालिकाका राजस्व उपशाखाका प्रमुख इन्द्रदत्त सापकोटाका अनुसार पाल्पाको अनुपम निर्माण सेवा कम्पनीले २०७८ फागुनमा २०७९ साल साउनदेखि भ्यु टावर चालु गर्ने गरी वार्षिक ३९ लाख ५० हजार रुपैयाँ बुझाएको थियो । एक वर्षको बैंक ग्यारेन्टी पनि उक्त कम्पनीले गरेको थियो ।

साउनमा सञ्चालन गर्न असार अन्तिमसम्म ठेकेदारले राखेको सर्तहरू पूरा नभएपछि उक्त कम्पनीले सम्झौता नै गरेन । कम्पनीले भ्यु टावरमात्रै हुँदैन, पौडी पोखरी, रेस्टुरेन्ट, पानीको फोहोरा जस्ता संरचना तयार नभएकाले आफूले सम्झौता नगर्ने अडान लिएपछि रोकिएको हो ।

t

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा बनेको उक्त भ्यु–टावर १० तलाको छ, जसको उचाइ १३४ फिट छ ।

भ्यु टावर निर्माण गर्दा ७० प्रतिशत खर्च तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत खर्च शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले बेहोरेका हुन् । दोस्रो चरणमा भने सङ्घीय सरकार र नगरपालिको लगानी हो ।

टावरमा पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौँ तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

Awalokan-gardai.jpg-1024x682 - Copy

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु–टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा तथा पुस्तकालय लगायतका संरचना रहने भए पनि अहिले भ्यु टावरमात्रै तयार भएको छ ।

उक्त भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिन्छ भने दूरबिनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देखिने दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप