सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

अब प्रतीक थापाविरुद्धको मुद्दा कसरी अघि बढ्छ ?

३ महिनादेखि काठमाडौँमा थिए प्रतीक
शुक्रबार, १४ असार २०८१, २२ : २४
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा थिए । भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई पक्राउ अनुमति दिएसँगै फरार भएका उनी शुक्रवार पक्राउ परेका छन् ।

उनलाई बौद्ध क्षेत्रको कपनबाट नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । आफुविरुद्ध पक्राउ पुर्जी बोकेर प्रहरीले निरन्तर खोज्न थालेपछि उनी लामो समयदेखि भारतमा बस्दै आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । यस बिचमा उनी भारतको सिलगुढी र देहरादुन क्षेत्रमा लुकेर बसेको अधिकृतहरू बताउँछन् । नेपाल प्रहरीका एक जना उच्च अधिकृतले भने– ‘भारत आउने जाने गरिरहन्थे ।’

उनी पछिल्लो ३ महिनादेखि काठमाडौँमा बसिरहेको सूचना प्रहरीसँग थियो । सो सूचना पछ्याउँदा उनी शुक्रवार साँझ कपनमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतीकको संलग्नता देखिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

१० जेठ २०८० मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भैसकेको छ । आरोपीहरूमध्ये १६ जना पक्राउ परेका थिए भने १४ जना फरार थिए । तिनै फरार मध्येका हुन्, प्रतीक थापा ।

मुद्दा कसरी अघि बढ्छ ?

प्रतीकविरुद्ध ठगी, सकारी कागजात किर्ते र राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराधमा मुद्दा दर्ता भैसकेको हुनाले उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दैन । आइतबार कार्यालय समय सुरु भएपछि उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।

अदालतमा उनको ‘थुनछेक बहस’ हुन्छ । सरकारी वकिल र प्रतीक तर्फका कानुन व्यवसायीले पक्ष उनलाई थुनामा राख्ने वा छाड्ने भन्नेबारे बहस पुरा गरेपछि न्यायाधीशले उनलाई थुन्ने वा छाड्नेबारे आदेश गर्छन् ।

शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डे, गिरोहका नाइकेहरू सानु भण्डारी, केशव दुलाल र तत्कालीन गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, सागर राई र सन्देश शर्मा कारागारमा छन् ।

गिरोहका सदस्यहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला थापालाई पनि रकम बुझाएको जिकिर गरेका छन् । ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशवप्रसाद दुलालले नैनकलालाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका हुन् ।

सानु भण्डारीले क्वार्टरमा लगेर नैनकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्साघरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका छन् । उनका अनुसार थकालीबाट  नैनकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए– ‘आमा १ करोड रुपैयाँ पाउनु भयो कि भएन ?’

नैनकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतिकले गिरोहका सदस्यहरूलाई भने– ‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप