१० बजे, १० समाचार
आज मिति २०८१ साल असार महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर प्रस्तुत गरिएको छ–
१. थापा पक्राउ
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार उनी शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए ।
पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
२. मुकुललाई स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो ।
३. सरकार जोगिनेमा प्रचण्ड ढुक्क
सांसदबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार र सत्ता समीकरण जोगिनेमा ढुक्क देखिएका छन् ।
जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको बजेटप्रति सुरुमा सत्ता साझेदार दल नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेपछि झस्किएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सहजै बजेट पास भएपछि ढुक्क बनेका हुन् ।
४. कांग्रेसको तयारी
नेपाली कांग्रेसले असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गृहकार्य गरिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । सभापति र महामन्त्रीको उक्त कार्यमा नेता रमेश लेखक र मुख्यसचिव पौडेलले सहयोग गरिरहेका छन् ।
५. मन्त्रालयको निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो ।
६. विद्याको खुलासा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको खुलासा गरेकी छन् । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् ।
शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठुलो चिन्ता लागेको पनि बताइन् । ‘०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ?’, भण्डारीले भनिन, ‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो ।’
७. उपेन्द्रको अलमल
जनता समाजवादी पार्टी नेपालको महाधिवेशन सम्पन्न भएको दुई हप्ताभन्दा बढी भइसके पनि हालसम्म केन्द्रीय समिति निर्माण हुन सकेको छैन । जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा जसपा नेपालको महाधिवेशन सम्पन्न भएको थियो ।
महाधिवेशनबाट उपेन्द्र यादव अध्यक्षमा सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य चयन भएको छैन । पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको छ ।
महाधिवेशन सकेर जनकपुरबाट फर्केदेखि नै उपेन्द्र यादवले नेता तथा कार्यकर्तासँग परामर्श गरिरहेका छन् । उनले कहिले समूहमा र कहिले व्यक्तिव्यक्ति बोलाएर परामर्श गरिरहेका छन् । तर २४१ सदस्यीय कार्यसमिति कुन आधार र मापदण्डमा चयन गर्ने भन्ने अझै निश्चित भइसकेको छैन ।
८. महासंघमा विवाद
विवादका बिच नेपाल पत्रकार महासंघको निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ । शुक्रबार निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
९. प्रदेश समाचार
मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ ।
१०. बोर्ड अध्यक्ष नियुक्ति विवाद
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो ।
गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?