सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

महासंघमा विवाद : अध्यक्षविरुद्ध ५ पत्रकार संगठन खनिए

शुक्रबार, १४ असार २०८१, २० : ४५
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको सम्मुखमा विवाद झाँगिँदै गएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल प्रेस युनियनको एक समूहबाट गलत कार्यहरू हुँदासमेत मौन बस्नु र सहज वातावरण बनाउन नलाग्नुले थप आशंका जन्माएको विभिन्न पाँच पत्रकार संगठनले विज्ञप्तिमार्फत जनाएका छन् । 

नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते हुँदैछ । त्यसका लागि केन्द्रीय समितिको तर्फबाट मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण भई महासंघका अध्यक्ष समेत संलग्न सरोकारवाला पक्षको सर्वसम्मतिमा निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो निर्वाचन तालिका अनुसार असार १५ गते उम्मेदवार मनोनयन गर्ने सम्पूर्ण तयारी भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

महासंघको विधान बमोजिम तीन वर्षे कार्यकाल पूरा भई महाधिवेशन समेत सम्पन्न भइसकेको अवस्थामा निर्वाचनको प्रक्रियालाई सहजरुपमा अघि बढाउन केन्द्रीय निर्वाचन समितिलाई सहयोग गर्नु महासंघको वर्तमान नेतृत्वको दायित्व भएको उल्लेख छ । तर, उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा आज महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियन सम्बद्ध केही व्यक्तिहरू समूहगत रूपमा जम्मा भई हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यहरूमाथि दुर्व्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य हुँदा समेत महासंघको मूल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सहज बनाउन कुनै पहल नगर्नुले विभिन्न आशंका उत्पन्न गराएको आरोप लगाइएको हो । 

‘यस किसिमका गलत कार्यहरू हुँदा पनि महासंघको मुख्य नेतृत्व खासगरी अध्यक्षको मौनता साध्नु र सहज वातावरण बनाउन नलाग्नुले थप आशंका जन्माएको छ। हामी देहायका संगठनहरु यस खालका गलत प्रवृत्तिलाई नियन्त्रण गरी निर्वाचन प्रक्रियालाई अघि बढाउन सहज वातावरण निर्माण गर्न र कुनै पनि षडयन्त्रमा सामेल नभई निर्वाचन कार्यतालिका अनुसार भोलि असार १५ गते केन्द्रीय समितिको मनोनयन दर्तासहितका सवै कार्यहरू अघि बढाउन निर्वाचन समितिलाई सहयोग गर्न महासंघका अध्यक्ष र केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा महासंघको विधि, विधान र स्थापित मान्यता विपरीत महासंघमा हुलहुज्जत गरी प्रक्रियालाई अवरुद्ध गर्ने सुनियोजित कार्यमा महासंघको नेतृत्व नै संलग्न भएको स्पष्ट हुने र त्यस्तो अवस्थामा महासंघको अस्तित्व रक्षाका निम्ति हामी जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौँ ।’

विज्ञप्तिमा गणेश बस्नेत (प्रेस चौतारी नेपाल), नारायण शर्मा (क्रान्तिकारी प्रेस संगठन), विष्णु सापकोटा (प्रेस सेन्टर नेपाल), विश्वमणी सुवेदी (समाजवादी प्रेस संगठन नेपाल) र श्याम पोखरेल (प्रगतिशील पत्रकार संघ नेपाल) को हस्ताक्षर रहेको छ ।

f

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप