काठमाडौँ उपत्यकामा यसवर्ष दुर्घटनाबाट १ सय ६३ जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलामा गएराति कार दुर्घटना भयो । सुरक्षाकर्मीले कल्भर्टमा खसेको कार शुक्रबार बिहान निकाले ।
बागमती प्रदेश–०२७ च ०४९१ नम्बरको कार खस्दा पूर्ण दर्नालले ज्यान गुमाए । मृतक दर्नाल नागार्जुन नगरपालिका–६ खरिबोटका स्थानीय हुन् । कार दर्नालले चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
२१ फागुन २०८० मा मध्यपुर थिमि नगरपालिका–९ स्थित हनुमन्ते खोलामा २६ वर्षीय युवक मृत भेटिए । पुलबाट स्कुटरसहित कल्भर्टमा खसेको अवस्थामा इलाम नगरपालिका–३ घर भएका छत्र थापा मृत भेटिएका हुन् । राधेराधेस्थित खोलाको बिचमा बा.८६ प ९७३० नम्बरको स्कुटर खोलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विवाहको पार्टीमा गएर फर्किँदा थापाले कल्भर्टमा खसेर ज्यान गुमाएका हुन् ।
काठमाडौँ उपत्यकामा खोला–नालाबाट कल्भर्टमा चालक र सवारी साधन खसेर हुने दुर्घटनाका घटना बढ्दै छन् । १२ पुस २०७७ मा काठमाडौँको गोपीकृष्ण हल नजिकै मोटरसाइकल धोवीखोलामा खस्दा २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको थियो । बा.२६ प ४०२१ नम्बरको मोटरसाइकल चालक श्रेष्ठ सिन्धुलीको दुधौली–५ का स्थानीय हुन् ।
यस आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा सवारी दुर्घटनामा परेर १६३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर यसवर्ष २६९ जना गम्भीर घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । २०८० साउनदेखि अहिलेसम्म उपत्यकामा ८ हजार ४५९ स्थानमा वटा सवारी साधन दुर्घटना भए ।
आर्थिक वर्ष २०७९–०८० मा उपत्यकामा दुर्घटनाबाट १८७ जनाले ज्यान गुमाएका थिए । गतवर्ष १० हजार ६७५ स्थानमा सवारी दुर्घटना भएका थिए । ट्राफिक नियम पालनामा कडाइ गरेका कारण दुर्घटनामा कमि हुँदै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले बताए । उनले भने,‘चेकजाँच बढाएर र तीव्र गति नियन्त्रणमा हामीले विशेष ध्यान दिएका छौँ ।’
अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीका कारण हुने गरेका छन् । आर्थिक वर्ष २०७८–०७९ मा १० हजार ७३३ वटा दुर्घटना भएर १९१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दुई वर्षको तुलनामा यसवर्ष दुर्घटना र मृत्युदर घटेको देखिन्छ ।
१ मंसिर २०८० मा भक्तपुरको लोकन्थलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालक हरिशरण पुरीको मृत्यु भयो । मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय पुरीको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुरको साँगादेखि लोकन्थली र कोटेश्वर हुँदै बल्लुसम्मको चक्रपथमा धेरै दुर्घटना हुने गरेको छ । सो क्षेत्रमा तीव्र गतिको कारण दुर्घटना हुने गरेको आकलन गरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यहाँ राडार गनमार्फत तीव्र गति परीक्षण गर्दै आएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी छ । यसवर्ष १२१ पुरुष र ४२ जना महिलाले दुर्घटनामा परेर ज्यान गुमाए । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार हरेक वर्ष मृत्यु हुनेमा परुष बढी छन् ।
उमेर समूहको आधारमा यसवर्ष १७ देखी ३५ वर्ष उमेरका ८५ जनाको मृत्यु भएको छ । १६ वर्षमुनिका १३ जनाको यसवर्ष दुर्घटनामा परेर मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकल धेरै दुर्घटना
उपत्यकामा मोटरसाइकल र स्कुटर सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । यसवर्ष ७ हजार ३०८ वटा मोटरसाइकल र स्कुटर दुर्घटनामा परे । कार, भ्यान र जिप ४ हजार ६६६ वटा दुर्घटनामा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
२०८० साउनपछि १ हजार ३८७ बस र २३४ वटा माइक्रोबस दुर्घटना भए । आर्थिक वर्ष २०७९–०८० मा ८ हजार ३४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७८–०७९ मा पनि ८ हजार ३६४ वटा मोटरसाइकल दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्यांकर र टिप्परको ठक्करबाट पनि धेरै सवारी चालकले ज्यान गुमाउने गरेको तथ्यांकबाट देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने