सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
राजनीति

असारभित्रै पार्टीका सबै निकायलाई पूर्णता दिने कांग्रेसको तयारी

शुक्रबार, १४ असार २०८१, १६ : ४५
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसले असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गृहकार्य गरिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । सभापति र महामन्त्रीको उक्त कार्यमा नेता रमेश लेखक र मुख्यसचिव पौडेलले सहयोग गरिरहेका छन् ।

बुधबार पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र मुख्यसचिव पौडेलबिच पार्टीका निकाय र भ्रातृ संस्थाको महाधिवेशनबारे छलफल भएको थियो । कांग्रेसमा पार्टीका ७० वटा विभागमध्ये अहिलेसम्म १८ विभाग मात्र गठन भएका छन् । पार्टीको प्रचार विभाग मात्र सक्रिय देखिन्छ । बाँकी १७ विभाग मध्ये केहीमा १० सदस्य मनोनीत गरिएको छ भने केही विभाग प्रमुखकै भरमा छन् ।

विभाग ५२ सदस्यीय रहेन व्यवस्था भएपनि सभापति देउवाले प्रचार विभाग बाहेकमा १० जनाभन्दा बढी मनोनीत गरेका छैनन् । १६८ सदस्यीय केन्द्रीय समितिमा २ र ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ८ जना सदस्य मनोनीत बाँकी छन् ।

१४ सदस्यीय पदाधिकारीमा देउवाले कोषाध्यक्ष मनोनयनमा चासो दिएका छैनन् । सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट आएपनि सभापतिले मनोनीत गर्ने कोषाध्यक्ष पद २५ महिनादेखि रिक्त छ ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा छ । सभापति देउवा १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएको २५ महिना हुँदा पनि विभागसहित पार्टीका विभिन्न निकायले पूर्णता पाउन नसकेको अवस्था छ ।

पार्टीका विभाग, नीति अनुसन्धान प्रतिष्ठान लगायतका निकायलाई पूर्णता दिँदा पार्टीका ३ हजार ५ सयभन्दा बढी नेता–कार्यकर्ता जिम्मेवारी पाउन अवस्था बन्छ । महाधिवेशनपछि तीन तहको निर्वाचन र सत्ता राजनीतिमा रुमलिँदा सभापति देउवाको प्राथमिकतामा पार्टीका निकायलाई पूर्णता दिने कुरा परेको थिए । फागुन २१ मा सत्ता समीकरण भत्किएर प्रतिपक्षमा पुगेपछि कांग्रेस अहिले पार्टीको नियमित काम कारबाहीमा केन्द्रित भएको देखिन्छ । मुख्यसचिव पौडेलले भने, ‘असारभित्रै पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी छ । बैठकअघि नै पार्टीका सबै निकायलाई पूर्णता दिने गृहकार्य भइरहेको छ ।’

उनका अनुसार मुख्यतः ७० वटै विभागलाई पूर्णता दिएर पार्टीलाई क्रियाशील बनाएर नयाँ कार्यक्रमका साथ जनतामाझ लैजाने तयारी भइरहेको छ । ‘केन्द्रीय समिति बैठकअघि पार्टीका सबै निकायले पूर्णता पाउँछन् । बैठकले नयाँ कार्यक्रम ल्याउँछ । त्यसलाई पार्टीका सबै निकायले जनतामाझ लिएर जान्छन्,’ उनले भने । 

पार्टीका निकायसँगै भ्रातृ संस्थालाई पनि महाधिवेशन उन्मुख गराउने कांग्रेसको तयारी छ । साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिलाई अधिवेशन गराउन निर्देशित गर्ने पौडेलको भनाइ छ । विभिन्न ३६ देशमा कांग्रेसका जनसम्पर्क समिति छन् ।

कांग्रेसका १३ वटा भ्रातृ संस्था मध्ये नेविसंघ, तरुण दल, महिला संघ, नेपाल दलित संघ, किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल ठाकुर समाज लामो समयदेखि तदर्थ समितिको भारमा चलिरहेका छन् । 

उक्त भ्रातृ संस्थालाई गत पुस १२ देखि १४ गतेसम्म भएको कांग्रेस केन्द्रीय समितिको बैठकले २०८१ असार १५ भित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेट दिएको थियो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाहेकका भ्रातृ संस्था महाधिवेशन गराउन असफल भएपछि कांग्रेसले पार्टीका नेतालाई जिम्मेवारी दिन लागेको मुख्यसचिव पौडेलले रातोपाटीलाई बताए ।

केन्द्रीय समिति बैठकले महाधिवेशन हुन नसकेका उक्त भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा ३ सदस्यीय समन्वय समिति बनाउने मुख्यसचिव पौडेलले बताए । पार्टीले पटक पटक म्याद थप्दा पनि  नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाहेकले महाधिवेशन गराउन सकेनन् ।

‘अब पार्टीका नेताहरूको नेतृत्वमा १० वटै भ्रातृका लागि ३–३ सदस्यीय समन्वय समिति बनाउने कुरा भएको छ । उक्त समितिलाई महाधिवेशन गराउने समय सीमा तोकेर अधिकारसहितको जिम्मेवारी दिने सहमति भएको छ,’ पौडेलले भने ।

भ्रातृ संस्थाका वर्तमान तदर्थ समितिलाई नै महाधिवेशन उन्मुख गराउने वा नयाँ कमिटी ल्याउने भन्ने विकल्पमा छलफल भइराखेको छ । महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ भङ्ग गर्ने–नगर्ने ठोस निर्णय लिने बताए ।

उनले भने, ‘वर्तमान तदर्थ समितिलाई महाधिवेशन उन्मुख गराउने कि नयाँ ल्याउने भन्ने दुई विकल्पमा छलफल भइरहेको छ । असारभित्रै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ठोस निर्णय लिन्छ ।’

उनका अनुसार महाधिवेशन कार्यतालिका निर्धारण गरेर सर्तसहित समयावधि थप्न सकिने पहिलो विकल्प हो । ‘भङ्ग गरेर नयाँ बनाउन लागियो भने सङ्गठनलाई झन् कमजोर बनाउँछ । अधिवेशनको कार्यतालिका सहित पार्टीबाट पनि नेताहरूलाई जिम्मेवारी दिएर महाधिवेशनबाट नयाँ नेतृत्व परिस्थिति निर्माण गर्ने कि भन्ने छ,’ उनले भने ।

महामन्त्री शर्माका अनुसार पटक–पटक म्याद थप्दा पनि महाधिवेशन नभएको भन्दै नयाँ कमिटी ल्याएर महाधिवेशनमा जानुपर्ने विकल्प पनि छलफलमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप