सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एसईई नतिजा, अभिभावक र भाइरल ज्वरो

शुक्रबार, १४ असार २०८१, १६ : ३५
शुक्रबार, १४ असार २०८१

बेलुकी सुत्दा अलि अबेर भएछ क्यारे, बिहीबार बिहान ढिलो बिउँझिएँ । पानी पर्ने मौसम र आकाशमा बादल भएर होला, बिहान ६ बज्दा समेत बाहिर अँध्यारै थियो । अघिल्लो दिनदेखि नै असार १३ गते बिहान ९ बजे एसईईको नतिजा आउने हल्ला थियो, त्यसैले बिहान उठ्दा मन अलिअलि बेचैन थियो । 

परीक्षा न हो, आफूले त लेखिदिने मात्र हो, कसको हातमा उत्तरपुस्तिका जान्छ, कुन रूपमा बुझिदेला उसले, आफ्नो धारणा र उसको विचार मिल्ने हो कि हैन ? अरूको भरमा पर्नुपर्ने नतिजामा के चिन्ता लिनु !

मलाई नतिजाप्रति त्यति चिन्ता थिएन तर घरपरिवार, छरछिमेकीले फलामे ढोका, दश वर्षको मेहनत आदि के के हो के के भनिरहेका थिए । सिनियरहरूले आफ्ना पालाका एसएलसीको महत्त्व र हाउगुजी सुनाएका थिए । बाबामामुले अलि बढी कुरा गरेकाले होला, नतिजाप्रति मेरो पनि चासो बढ्न थालेको थियो । बिहान ब्रिज कोर्स गर्न कलेज जानुपर्ने भएकाले त्यतै लागेँ । ९ बजेसम्म क्लास सकेर आएर नतिजा हेरौँला भन्ने सोचेको थिएँ । बाबासँग सोही कुराकानी गरेर विद्यालयतिर लागेँ । नयाँ साथीहरू भएर होला, नतिजाका बारेमा खासै कुराकानी भएन, मलाई पनि उति चिन्ता लागेन । 

कक्षा सकेर ९ बजे घर आउँदा विभिन्न अनलाइनमा नतिजा प्रकाशित भएको खबर आइरहेको थियो, तर कहीँकतैबाट नतिजा हेर्न सकिएन । बिहान ११ बजेतिर परीक्षा बोर्डका पदाधिकारीबाट नतिजा प्रकाशित भएको खबर फेसबुक लाइभबाट जानकारी पाएँ । करिब ४८ प्रतिशत मात्र पास र ५२ प्रतिशत फेल भएको खबरले नरमाइलो लाग्यो ।

विभिन्न माध्यमबाट खोज्दै थिएँ, बाबाले चार जीपीएसहितको नतिजाको स्क्रिनसट पठाइपछि मात्र अलिअलि डर र अलिअलि आनन्दको मिश्रण मनमा आउन थाल्यो । त्यति माथिल्लो नतिजाको अपेक्षा गरेको थिइनँ ।

केहीबेरमै सामाजिक सञ्जालहरू रङ्गीन थाले । सबैले आ–आफ्ना छोराछोरीको फोटोमा जीपीएसहित राखेर शुभकामना साटासाट गर्न थाले । अभिभावकले आफ्नो समयको एसएलसी सम्झेर हो वा आफूले प्राप्त गर्न नसकेको परिणामले हो, हामी विद्यार्थीभन्दा अभिभावक नै बढी खुसी भइरहेको भान भइरहेको थियो मलाई । 

अभिभावकहरू आफ्ना सन्तानको सफलतामा खुसी हुनु स्वाभाविकै हो, तर यसरी फेसबुकभरि भरिएका पोस्टले फेल भएका परीक्षार्थी र अभिभावकमा कस्तो असर पर्ला मनन गर्नुपर्ने हैन र ?

अभिभावकहरू आफ्ना सन्तानको सफलतामा खुसी हुनु स्वाभाविकै हो, तर यसरी फेसबुकभरि भरिएका पोस्टले फेल भएका परीक्षार्थी र अभिभावकमा कस्तो असर पर्ला मनन गर्नुपर्ने हैन र ? भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा अनुभवी शिक्षकबाट पढ्न पाउने हो भने नतिजामा ठुलै फेरबदल आउने निश्चित छ । आधाभन्दा बढी फेल हुने थिएनन् । तसर्थ यो परिणामलाई जीवनकै ‘आफ्टरम्याथ टर्निङ प्वाइन्ट’का रूपमा लिइनु हुँदैन । किनकि कतिपय एसईई टपरले माथिल्लो कक्षामा खासै प्रगति गर्न नसकेको र कतिजना लो स्कोरले ठुलै सफलता हासिल गरेका उदाहरण प्रशस्तै छन् ।

चार जीपीए ल्याउने विद्यार्थीलाई न घरको बिजुलीको बल्ब चेन्ज गर्न आउँछ न त खाना बनाउनै, न समसामयिक देशको कुरा थाहा छ न त छिमेकको बारेमै, न अभाव थाहा छ न त आर्जन गर्ने विषय नै । तसर्थ यसलाई किताबी जाँचको रूपमा बुझी सोही रूपमा ग्रहण गरौँ ।

एसईई परीक्षाको नतिजा भाइरल ज्वरोजस्तै मात्र तीन दिनको हो । तीन दिन भाइरल भइन्छ, त्यसपछि कता हराइन्छ पत्तो हुँदैन । विगतमा ती तमाम उच्च जीपीए ल्याएर उत्तीर्ण गर्नेहरू कहाँ गए ? के गर्दै छन् ? विदेशमा भए आफूलाई कसरी स्थापित गर्दै छन् ? करिअरमा सफल वा असफल के हुँदै छन् ? यसमा खासै चासो राज्यले राख्दैन । 

एसईई सुरुवाती बिन्दु मात्र हो, पढाइ लेखाइसँगै व्यावहारिक ज्ञान अत्यन्त जरुरी हुन्छ । भाइरल ज्वरोजस्तै हराएर जाने नतिजाको पछि लाग्नु आत्मरतिमा रमाउनु सिवाय केही होइन । तसर्थ घर–परिवार र समाजमा अर्थपूर्ण जीवन जिउने तरिका सिकाउने, सकारात्मक सोचको विकास गराउने र विद्यार्थीको रुचि अनुसारको पठन–पाठनमा अभिभावकले ध्यान पु¥याउन सके मात्र यो नतिजाले दीर्घकालीन महत्त्व राख्छ र यसको महत्त्व पछिसम्म रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुव्रत बराल
सुव्रत बराल
लेखकबाट थप