सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
राजनीति

बजेटपछि प्रचण्ड ढुक्क, ‘दुई दलीय व्यवस्था’बारे रुष्ट !

शुक्रबार, १४ असार २०८१, १६ : १३
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । सांसदबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार र सत्ता समीकरण जोगिनेमा ढुक्क देखिएका छन् ।

जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको बजेटप्रति सुरुमा सत्ता साझेदार दल नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेपछि झस्किएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सहजै बजेट पास भएपछि ढुक्क बनेका हुन् ।

‘सुरुमा त हाम्रो नेकपा एमालेका अध्यक्षले नै असन्तुष्टि जाहेर गरेपछि अलि बढी नै टेन्सनजस्तो । मान्छेहरूले पनि त्यही ठानेका थिए । तर पास गर्ने दिन फेरि केपी ओलीले बजेट राम्रो छ भन्नुभयो’, बिहीबार आयोजित पार्टीको एसिया प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने , ‘राम्रो भएकाले नै पास भयो पनि भनिसकेपछि ती खालका कन्फ्युजनहरू अहिले रहेका छैनन् ।’  

सत्तारुढ प्रमुख दलका नेता ओलीले नै बजेटप्रति असन्तुष्टि व्यक्त गर्दा गठबन्धनमा खटपट आउने र बजेट पास नै नहुने हो कि भनेर अड्कलबाजीसँगै  सञ्चारमाध्यममा समेत चर्चा हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड स्वयं पनि के हुने हो भनेर झस्केको उनको सो अभिव्यक्तिबाटै बुझ्न सकिन्छ ।

तर, असार ११ गतेको संसद् बैठकबाट बजेट सहजै पास भएपछि भने आफू ढुक्क भएको प्रचण्डले पार्टीको आन्तरिक बैठकमा ‘ब्रिफिङ’ गरेका छन् । यद्यपि उनले देशको राजनीतिक स्थिरतालाई बिगार्न देशभित्र र बाहिरबाट कसरत भइरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरणभित्र  रचनात्मक छलफल भइरहेको पनि बताएका छन् । ‘हाम्रो लगातार रचनात्मक छलफल बढिराखेकै छ । बाहिर मिडियामा या सोसल मिडियामा अहिले भर्खरै समीकरण केही हुने कुरा विल्कुल निराधार हो’, उनको भनाइ उदृत गर्दै एसिया प्रदेश समितिका एक नेताले भने, ‘त्यस्तो स्थिति केही पनि छैन । सरकारलाई काम गर्न त्यस्तो विघ्न बाधा भएको पनि मैले देख्दिनँ ।’ उनले समाचारमा ठुलै उथलपुथल हुनेगरी आउने गरेपनि सत्ता गठबन्धनभित्र त्यस्तो नभएको प्रचण्डको भनाइ छ । 

‘यद्यपि समाचारमा आउँदा त ठुलै चिज, केही हुन लाग्योक्यारे ! भनेजसरी आउँछ । तर भित्र त्यस्तो छैन’, प्रचण्डले भने, ‘तपाईँहरूले देख्नुभयो सरकारको नीति कार्यक्रम र बजेटबारे पनि । सत्तासमीकरणमै भएका कतिपय नेताहरूले पनि असन्तुष्टि र नकारात्मक कुरा भनेपछि बजेट नै के होला, नीति कार्यक्रम नै के होला भनेजस्तो पनि थियो ।’ तर सापेक्ष रूपमा संसदमा आफूले सबै जवाफ दिइसकेपछि सरल ढङ्गले बजेट पारित भएको उनको भनाइ छ । नीति कार्यक्रम र बजेट विगतको भन्दा धेरै सन्तुलित, सकारात्मक र जनपक्षीय रहेको प्रचण्डको दाबी छ ।   

बजेट पास भएकोमा प्रधानमन्त्री प्रचण्ड जति ढुक्क देखिएका छन् त्यति नै सत्ता साझेदार दलका केही नेताको अभिव्यक्तिबाट भने रुष्ट देखिएका छन् ।

‘एउटा कुराचाहिँ कहीँ न कहीँ देशको राजनीतिक स्थिरतालाई बिगार्न विभिन्न खालका कसरत भित्रबाहिरबाट भइराख्छन् र भइरहेका पनि छन्’, प्रचण्डले आन्तरिक ब्रिफिङका क्रममा भनेका छन्, ‘अहिले पनि तपाईँहरूले हेर्नुभयो होला– देशमा दुई वटा ठुला पार्टीबाहेक अरू छैनन् भनेजस्तोगरी पनि प्रचार गर्न कोसिस गरिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र एमालेबाहेक अरू राजनीतिक पार्टी नै होइनन् भनेजसरी प्रचार भएकोमा असन्तुष्टि जनाउँदै दुई पार्टी सिस्टमको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘नेपाली कांग्रेस र एमालेबाहेक अरू त पार्टी नै होइनन् भनेजस्तो गरी प्रचार गर्ने कोसिस पनि भएको छ । नेपाललाई दुई पार्टी सिस्टममा लैजाने एउटा रणनीतिमा पनि मानिसहरूले विभिन्न रूपले चर्चा परिचर्चा गरिपनि रहेका छन्’, प्रचण्डले भने, ‘तर नेपालमा त्यो हुनेवाला छैन ।’

नेकपा एमालेका जिम्मेवार नेताहरूबाट लगातार दुई दलीय व्यवस्थाको वकालत गरेकोमा प्रचण्ड रुष्ट भएका हुन् । पछिल्ला वर्षहरूमा नेकपा एमालेका नेताहरूबाट दुई दलीय व्यवस्थाको लगातार वकालत हुँदै आएको छ । यस्तो वकालत गर्नेमा एमाले महासचिव शंकर पोखरेल अग्रपङ्क्तिमा छन् ।

उतारचढाव र पार्टी एकतामा जोड

प्रधानमन्त्री प्रचण्डले पार्टीमा केही उतारचढाव आएको र पार्टीभित्रै मजबुत एकता हुन नसकेको कुरालाई भने स्वीकार गरेका छन् । आगामी दिनमा पार्टीमा एकताबद्ध बनाएर लैजान आफू क्रियाशील रहेको प्रचण्डको भनाइ छ ।

‘हामीले प्रतिनिधित्व गर्ने जुन धार हो त्यो अलिकति उतारचढाव त भयो । २०६४ को जो स्थिति थियो र आम जनताले जे विश्वास र भरोसा गरेर देशकै ठुलो शक्तिका रुपमा ल्याएका थिए, त्यो एकतालाई हामीले बचाउन सकेनौँ’, प्रचण्डले कमजोरी स्वीकार गर्दै भनेका छन्,‘पार्टी विभाजित भयो जसले जनतामा एउटा नकारात्मक सन्देश गयो । आदिइत्यादि थुप्रै कारणहरू ।’

उनले तर अहिले अवस्था फेरिएको भन्दै बिस्तारै पार्टी सकारात्मक मोडतिर हिँड्न थालेको बताएका छन् । देशभरीको रिपोर्टलाई हेर्दा पार्टीमा एकताको भावना बढ्दै जाने, गुटबन्दीका सोचहरु कमजोर हुँदै जाने अवस्थामा पुगेको प्रचण्डको विश्लेषण छ । ‘मैले सबै नेताहरूलाई पनि एकताबद्ध गर्न थप मेहनत गर्न माथिबाटै थालेको छु’, प्रचण्डको भनाइ छ ।

उनले अहिले आफूलाई आफ्नो पार्टी, सरकार र अन्य पार्टीहरूलाई समेत मिलाउनु पर्दा व्यस्तता भए पनि अन्ततः आफ्नै पार्टी बलियो बनाउनुको विकल्प नभएको निष्कर्षमा पुगेको बताए ।

‘अन्ततः फेरि आफ्नै पार्टी बलियो भयो भनेमात्रै देश र जनताका लागि योगदान गर्नसक्ने कुरा हुन्छ’, प्रचण्डले भने,‘त्यसो भएकाले समय निकालेर सबै नेताहरूसँग अन्तरक्रिया बढाउने र समझदारी बढाउने पहल गरेको छु । त्यो निकै सकारात्मक छ ।’

 पार्टीलाई विचार र संगठनमा एकताबद्ध गर्न नसके माओवादी र देशकै लागि दुर्भाग्य हुने भएकाले सबै नेता कार्यकर्ता पनि एकताको पक्षमा लाग्नुपर्ने प्रचण्डको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप