सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा भारतका स्मृति मंधाना र शफाली वर्माको विश्व कीर्तिमानी साझेदारी

शुक्रबार, १४ असार २०८१, १५ : २३
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । वेस्ट इन्डिजमा शनिबार राति भारत र दक्षिण अफ्रिकाबिच आईसीसी टी–२० विश्वकपको फाइनल खेल खेलिँदैछ । यता, भारतको चेन्नईमा हाल भारत र दक्षिणबिच महिला टेस्ट क्रिकेट चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको महिला टेस्ट क्रिकेटको पहिलो दिन भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाएका छन् । भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । त्यसपछि क्रिज समाल्न ओर्लिएका यी दुई ओपनरले दुई सय ९२ रनको साझेदारी गरे ।

यसअघि महिला टेस्ट क्रिकेटमा ओपनिङ विकेटका लागि दुई सय ५० रनभन्दा ठुलो साझेदारी कसैले गर्न सकेको छैन । भारतले ६० ओभरको खेल सकिँदासम्म केवल दुई विकेट गुमाएर तीन सय ३४ रन बनाइसकेको छ ।

भारतीय टोलीकी ओपनर शफाली वर्मा एक सय ६५ रन बनाउँदै क्रिजमा छिन् । उनले एक सय ७० बलको सामना गरी ६ छक्का र २० चौका प्रहार गरिसकेकी छन् । स्मृति मंधाना भने एक सय ४९ रन बनाउँदै आउट भएकी थिइन् ।

पेभेलियन फर्किनुअघि स्मृति मंधानाले एक सय ६१ बलको सामना गरी एक छक्का र २७ चौका प्रहार गरेकी थिइन् । दुवै ओपनरले लगातार ५२ ओभरसम्म साझेदारी गरेका थिए । शफाली वर्माले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक पनि हो । टेस्ट क्रिकेटमा यसअघि शफालीको उच्च स्कोर ९६ रन रहेको थियो ।

कुनै पनि भारतीय जोडीले महिला क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी पनि हो । यसका अतिरिक्त यो साझेदारी कुनै पनि विकेटका लागि एसियाकै सबैभन्दा ठुलो साझेदारी पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप