सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
घरजग्गामा महिलाको स्वामित्व

कर छुट नीतिले बढायो घरजग्गाको स्वामित्वमा महिलाको सहभागिता

घरमुली महिलासमेत बढ्दै, देशभर ३७.१ प्रतिशत घरको निर्णयकर्ता छन् महिला
शुक्रबार, १४ असार २०८१, १५ : १०
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । अचल सम्पत्तिको स्वामित्वमा महिला सहभागिता बढाउने उद्देश्यले सरकारले लिएको दर्ता दस्तुरमा छुट नीतिका कारण घरजग्गामा महिलाको स्वामित्व उकालो लाग्न थालेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार सरकारको यही नीतिका कारणले कुल स्वामित्वमध्ये २४.२ प्रतिशत घरजग्गाको स्वामित्व महिलाको नाममा आइपुगेको हो ।

कति प्रतिशत महिलाको नाममा घरजग्गाको स्वामित्व छ 

 

Owner Of Land

सरकारले घरजग्गाको दर्ता गर्दा गाउँपालिका, नगरपालिका तथा उप–महानगरपालिका र महानगरपालिकामा फरक–फरक दस्तुर छुट दिँदै आएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अनुसार गाउँपालिकामा २ प्रतिशत, नगर र उपमहानगरपालिकामा ४ प्रतिशत र महानगरपालिकामा ५ प्रतिशत दर्ता शुल्क लाग्छ । योमध्ये महिलाको नाममा घरजग्गा नामसारी गर्दा २५ प्रतिशतसम्म दर्ता दस्तुर छुट मिल्छ ।

यस्तै एकल महिलाको हकमा ३५ प्रतिशतसम्म दर्ता दस्तुर छुट व्यवस्था छ भने कतिपय हिमाली जिल्लामा महिलाको स्वामित्वमा घरजग्गा दर्ता गर्दा ५० प्रतिशतसम्म दस्तुर छुटको व्यवस्था छ । यही नीतिका कारण पछिल्लो समय घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको सरोकारवाला बताउँछन् ।

महासंघका अध्यक्ष भेषराज लोहनी महिलाको नाममा घरजग्गाको स्वामित्व बढाउने नीतिका कारण पछिल्लो समय घरजग्गा दर्ता महिलाको नाममा अत्यधिक हुने बताउँछन् । व्यवसायीको अनुभवका आधारमा कारोबार हुने घरजग्गाको स्वामित्व पुरुषकोभन्दा महिलाको नाममा धेरै दर्ता हुने गरेको छ ।

लोहनीले भने, ‘महिला र पुरुषको नाममा दर्ता गर्ने परिपाटी ५०–५० प्रतिशत हुन सक्छ । अझै योभन्दा बढी हुन सक्छ, तर महिलाको सङ्ख्या न्यून छैन ।’

सरकारको २५ प्रतिशतसम्म दर्ता दस्तुर छुट दिने व्यवस्थाले महँगा मूल्यका ‘प्रोपर्टी’ कारोबारमा सेवाग्राहीलाई अत्यधिक लाभ हुन्छ । करोडौँ मूल्य पर्ने घर वा जग्गाको कारोबारमा दर्ता शुल्कको २५ प्रतिशत छुट पाउँदा लाखौँमा फाइदा हुन्छ । उदाहरणका लागि कुनै नगरपालिका वा उपमहानगरमा अवस्थित १ करोड रुपैयाँ मूल्य पर्ने घरजग्गा कारोबारमा लाग्ने ४ प्रतिशत दर्ता दस्तुरमा २५ प्रतिशत छुट पाउँदा १ लाख रुपैयाँ फाइदा हुन्छ । यस्तै १० करोड मूल्यको घरजग्गा किनेमा दर्ता दस्तुरबापत १० लाखसम्म फाइदा हुन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुल घरजग्गाको स्वामित्वमध्ये १०.७ प्रतिशत घरजग्गामा महिलाको स्वामित्व थियो । जुन, राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जीवनस्तर सर्वेक्षण, २०८१’अनुसार ह्वात्तै बढेको छ ।

शत प्रतिशत घरजग्गा स्वामित्वलाई आधार मान्दा २४.२ प्रतिशत घरजग्गा महिलाको स्वामित्वमा छ । बाँकी ७२.२ प्रतिशत घरजग्गाको स्वामित्व पुरुषको नाममा छ । २०६८ को जनगणनामा पुरुषको नाममा ८९.३ प्रतिशत घरजग्गाको स्वामित्व थियो । यो अवधिमा पुरुषको नाममा रहेको घरजग्गाको स्वामित्वमा आएको १७ प्रतिशतको गिरावट हो ।

तथ्याङ्कअनुसार मधेसमा सबैभन्दा धेरै स्वामित्व महिलाको नाममा छ । मधेसमा ३२.७ प्रतिशत घरजग्गा महिलाको स्वामित्वमा छ । यस्तै कोशीमा २७.८ प्रतिशत, लुम्बिनीमा २३.८ प्रतिशत, गण्डकीमा २३.७ प्रतिशत, सुदूरपश्चिममा २३.३ प्रतिशत र बागमतीमा २२.५ प्रतिशत स्वामित्व महिलाको नाममा छ ।

यस्तै कुल स्वामित्वमध्ये ३.६ प्रतिशत घरजग्गा महिला र पुरुष दुवैको नाममा छ । आर्थिक ऐन, २०६४ मा महिलाको नाममा घरजग्गाको स्वामित्व ल्याउने लक्ष्यसहित राज्यले दर्ता दस्तुरमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

यसलाई २०७२ सालमा आएर २५ प्रतिशत पुर्‍याइएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता रोशनशंकर घिमिरे राज्यले लिएको दस्तुर (कर) छुटको नीतिले महिलाको नाममा स्वामित्व राख्नेको सङ्ख्या बढेको बताउँछन् । उनका अनुसार साना–साना कारोबारमा ठुलो फरक नपरे पनि ठुला कारोबारमा २५ प्रतिशत छुट नीतिले फराकिलो आर्थिक फरक पार्छ । यद्यपि, पुर्ख्यौली सम्पत्तिको नामसारी भने पुरुषकै नाममा हुने प्रचलन यथावत रहेको बताइन्छ ।

घरमुली महिला बढ्दै

Owner of Land1

तथ्याङ्कले घरमुली महिलाको सङ्ख्या समेत बढ्दो क्रममा देखाएको छ । कुल घरमुलीमध्ये ३७.१ प्रतिशत महिला रहेको जीवनस्तर तथ्याङ्कले देखाएको छ । यसको अर्थ देशमा रहेका कुल घरमुली (घरको निर्णयकर्ता) मध्ये ३७.१ प्रतिशत महिला छन् । यो पछिल्लो डेढ दशकको अवधिमा ५० प्रतिशतभन्दा बढीले बढेको तथ्याङ्क कार्यालय बताउँछ ।

तथ्याङ्कअनुसार २०६८ सालमा गरिएको जीवनस्तर सर्वेक्षणले घरमुली महिला २६.६ प्रतिशत देखिएको थियो । जुन, २०७९/८० को जीवनस्तर सवेक्षणअनुसार ३७.१ प्रतिशत पुगेको हो । यो अवधिमा १०.५ प्रतिशतले घरमुली महिलाको सङ्ख्या बढेको हो । यसले नेपालमा घरचलाउने महिलाको सङ्ख्या बढ्दै गइरहेको र घर कसरी चलाउने भन्ने निर्णयमा महिला प्राथमिकतामा आउन थालेको पुष्टि राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तिर्थराज चौलागाईले बताए ।

‘घरमुलीको अर्थ घर चलाउने निर्णयमा महिलाको सहभागिता हो,’ उनले भने, ‘घरमुलीको सङ्ख्याले नै घरमा बढेको स्वामित्वलाई समेत देखाउँछ ।’

तर घरमुली महिलाको तुलनामा घरजग्गाको स्वामित्वमा भने महिलाको सहभागिता न्यून देखिएको छ । ३७.१ प्रतिशत महिला घरमुली भए पनि २४.२ प्रतिशत महिलाको नाममा मात्रै घरजग्गाको स्वामित्व छ ।

कार्यालयका अनुसार पुरुष कमाउनका लागि वैदेशिक रोजगारीमा जाने प्रचलन र शैक्षिक तथा सामाजिकस्तर सुध्रिँदो क्रममा रहेकाले घरमुली महिलाको सङ्ख्या बढ्दै गइरहेको हो । तर वैदेशिक रोजगारीमा जानेहरुको सूचीमा महिलाको सङ्ख्यासमेत अत्यधिक भएकाले यसलाई मात्रै मुख्य कारण मान्न नहुने कार्यालयको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप