सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एसईईमा ५२ प्रतिशत विद्यार्थी होइन सरकार फेल भयो : प्रदीप पौडेल

शुक्रबार, १४ असार २०८१, १५ : ०४
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसईई नतिजामा देखिएको बताए ।

उनले भने– ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरु गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् ।  ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?’

सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको उनको भनाइ छ । उनले भने, ‘तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?’

सांसद पौडेलले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए ।  ‘१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो ?,’ उनको प्रश्न छ,‘३८ प्रतिशत गणित, ३१ प्रतिशत अङ्ग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन् । १० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप