आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

साथी नहुने मान्छे धेरै रोगी हुने, यी रोगको खतरा

शुक्रबार, १४ असार २०८१, १४ : ५४
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । हाम्रो स्वास्थ्य कुन कुरामा निर्भर हुन्छ ? केहीको जवाफ स्वस्थ जीवनशैली होला । अरूले औषधि र डाक्टरमाथिको विश्वास भनेर जवाफ देलान् । तर यो सूचीमा अर्को कुरा पनि थपिएको छ । 

एक्लोपनले रोगहरूको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ । एक्लै बस्ने मानिसहरू विशेष गरी मुटुसम्बन्धी रोगको सिकार हुन सक्ने अध्ययनमा पाइएको छ । चिनजान र साथीभाइहरूको कमी वा सामाजिक अन्तरक्रियाको घट्दो दायरा धेरै रोगहरूको कारण हुनसक्ने अमेरिकन साइकियाट्रिक एसोसिएसनले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले देखाएको छ ।

साथी नभएका मानिसलाई यी रोगको खतरा बढी

–मुटुसम्बन्धी रोग

–डिमेन्शिया

–मधुमेह र हाइपरटेन्शन

–न्यूरो सिस्टम डिसअर्डर

–हिँड्डुलमा समस्या

–निद्रामा समस्या

–अस्वस्थकर जीवनशैली

–एङ्गजायटी र डिप्रेशन

साथी कम भएका मानिसलाई रोगहरूको जोखिम १६ प्रतिशतभन्दा बढी  

अमेरिकी मनोचिकित्सक संघले हालै विगतमा भएका ६ विभिन्न अनुसन्धानको विश्लेषण गरेर प्रतिवेदन निकालेको थियो । अध्ययनमा करिब एक लाख मानिस समावेश गरिएको थियो । मानिसको सामाजिक अन्तरक्रियामा उल्लेख्य मात्रामा कमी आउँदा मुटुसम्बन्धी रोग लाग्ने जोखिम १६ प्रतिशतले बढ्ने अध्ययनमा पाइएको छ ।

यसबाहेक डिमेन्सिया, हिँडडुल गर्न समस्या, निद्रा नलाग्ने, अस्वस्थ जीवनशैली जस्ता स्वास्थ्यसम्बन्धी समस्या पनि यस्ता व्यक्तिमा बढी देखियो । मेयो क्लिनिकले गरेको एक अनुसन्धानमा एक्लोपनको असर मानसिक–शारीरिक र जैविक दुवै हुनसक्ने देखिएको छ । एक्लोपनको अवस्थामा मानिसको शरीर उमेरभन्दा छिटो बुढो हुन सक्ने पाइयो ।

तर सामाजिक सम्बन्धले मात्रै आयु र स्वास्थ्यलाई प्रभावित भने पार्दैन । यसका अन्य अहम् कारक पनि छन् । कोही व्यक्ति अस्वस्थ जीवनशैली अपनाएर साथीभाइ बनाएर जवान र स्वस्थ देखिन्छु भन्ने सोच्छ भने चाँहि निराशा मात्रै हात लाग्नेछ ।

सम्बन्धले जीवनमा औषधि र प्रार्थनाको काम गर्छ

अनुसन्धानमा मानसिक र शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण देखाइएका सम्बन्धहरूमा क्लोज, इन्टिमेट र पारिवारिक घुलमिल भएको सम्बन्ध मात्र छैन । हाम्रा केही सम्बन्ध सामान्य चिनजानमा आधारित हुन्छन् । साधारण सामाजिक अन्तरक्रियाले पनि हाम्रो खुसीमा ठुलो प्रभाव पार्न सक्ने अनुसन्धानले देखाएको छ । यसरी हेर्दा पार्कमा देखभेट हुने वा बाटोमा भेट्दा हालखबर सोध्ने व्यक्तिले पनि हाम्रो सामाजिक दायराको साथमा स्वास्थ्य पनि सुधार गर्ने रहेछ । सम्बन्ध चाहे जस्तोसुकै किन नहोस् महिनामा कम्तीमा दुई पटक भेट्ने वा कुरा गर्ने व्यक्तिहरूलाई मात्र सामाजिक अन्तरक्रियाको घेरामा राख्न सकिन्छ ।

स्वास्थ्यलाई कसरी सुधार्छ सम्बन्ध ?

स्वास्थ्य र सम्बन्धबिचको सम्बन्ध बुझ्न सी–रिएक्टिभ प्रोटिनको भूमिका महत्त्वपूर्ण हुन्छ । यो प्रोटीनले शरीरमा संक्रमणको स्तरलाई बताउँछ । यो प्रोटिन जति बढी हुन्छ, संक्रमण र गम्भीर रोगको जोखिम पनि त्यति नै बढी हुन्छ । शोधकर्ताहरूका अनुसार साथीभाइ, साझेदार, नातेदार, सहकर्मी वा चिनेका व्यक्तिसँग बढी समय बिताउने मानिसहरूमा सी–रिएक्टिभ प्रोटिनको स्तर कम हुन्छ । जसका कारण उनीहरू बिरामी हुने सम्भावना केही हदसम्म कम हुन्छ । कम सी–रिएक्टिभ प्रोटिनका कारण ती व्यक्तिका शरीर रोगहरूसँग लड्न तयार हुन्छ ।

एसएनआईले बताउँछ सम्बन्धको स्थिति र स्वास्थ्य अवस्था

सम्बन्धको सङ्ख्याले स्वास्थ्यलाई असर गर्छ । तर यी सम्बन्ध र तिनीहरूको गहिराइ मापन गर्न त्यति सजिलो भने छैन । सम्बन्धलाई गणितीय सूत्रमा बाँध्न सम्भव छैन । यस्तो अवस्थामा सामाजिक सञ्जाल सूचकाङ्क (एसएनआई) उपयोगी हुन सक्छ । एसएनआईलाई सम्बन्धको सङ्ख्या नाप्ने सूत्र भन्न सकिन्छ । व्यक्तिले समाज, परिवार र सम्बन्धमा कति फरक–फरक भूमिका खेलिरहेको छ भनेर यसले बताउँछ । एक व्यक्ति जति सामाजिक रूपमा धेरै सक्रिय हुन्छ, उसको एसएनआई पनि उच्च हुन्छ र बिरामी पर्न सक्ने सम्भावना कम हुन्छ ।

सम्बन्ध बनाउन र जोगाउन छैन मुस्किल

यतिका कुरा पढेपछि यति धेरै सम्बन्ध बनाउन र जोगाउन कसरी सम्भव भयो होला भन्ने प्रश्न तपाईँको मनमा आएको होला । यसले मन र दिमागमा कुनै अतिरिक्त बोझ त पर्दैन । तर यस्तो होइन । अमेरिकन साइकियाट्रिक एसोसिएसनका अनुसार शरीर र दिमागलाई नतकाईकन पनि राम्रो सामाजिक सम्बन्ध बनाउन सकिन्छ । यसका लागि यी कदमहरू चाल्न सकिन्छ:

पुरानो सम्बन्ध जोगाउनुस्

नयाँ सम्बन्ध बनाउनुको सट्टा पुराना साथीभाइ, सहकर्मी र आफन्तसँगको अन्तरक्रिया बढाउनु राम्रो हुन्छ । समय समयमा उनीहरूको हाल खबर सोधिरहनुस् । उनीहरूलाई भेट्ने अवसरहरू जुराइरहनुस् ।

आफूलाई सामाजिक गतिविधिमा संलग्न गराउने

सामाजिक रूपमा सक्रिय रहने र मानिसहरूसँग भेटघाट गरिरहनुस् । सामुदायिक कार्यको मद्दतले तपाई आफैँलाई पनि नयाँ व्यक्तिहरूसँग जोड्न सक्नुहुन्छ । यसो गर्नाले सक्रिय त भइन्छ नै जीवनलाई राम्रो उद्देश्य पनि दिन सकिन्छ ।

सामाजिक सञ्जालमा अन्तरक्रिया

मानिसहरूसँग घुलमिलको कुरा आउँदा सामाजिक सञ्जाललाई असामाजिक तत्त्वको रूपमा हेरिन्छ । यसले मानिसहरूलाई समाज र सम्बन्धबाट टाढा भर्चुअल संसारमा बाँधेर राख्छ भन्छन् । तर सतर्क रूपमा प्रयोग गर्ने हो भने सामाजिक सञ्जालले हाम्रो एक्लोपन हटाउन सक्छ । फेसबुकमा डूमस्क्रोलिङ गर्नुको सट्टा यसलाई पुराना र नयाँ साथी, परिचित अनि आफन्तहरूसँग अन्तरक्रिया गर्न प्रयोग गरियो भने यसले एक्लोपन हटाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप