मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
विचार

भाइबहिनीहरू ! के पढ्ने, एसईईपछि ?

शुक्रबार, १४ असार २०८१, १४ : ४७
शुक्रबार, १४ असार २०८१

फलामे ढोकाको उपमा पाएको विद्यालय शिक्षाको उपल्लो खुड्किलो एसईई परीक्षाको नतिजा बिहीबार (१३ असारमा) प्रकाशित भयो । केही वर्षदेखि मूल्याङ्कनमा अक्षराङ्क पद्धति अवलम्बन भए पनि सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएनन् । यसै वर्ष समेत लगभग ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो शैक्षिक तहमा अध्ययन गर्न पाउने गरी ग्रेड पाएको देखिन्छ । 

२००७ सालमा असामान्य राजनीतिक परिस्थितिका कारण दुई पटक एसएलसी भयो र सहभागी सबै परीक्षार्थी प्रथम श्रेणीमा पास भएको घोषणा गरियो भन्ने सुनिन्छ । त्यस वर्ष (२००७ साल) बाहेक हरेक वर्षको एसएलसी (पछि एसईई) परीक्षामा धेरै विद्यार्थी असफल हुन्थे र हुन्छन् । यही असफलताको विरक्तिलाग्दो स्वरूपका कारण अङ्कको सट्टा अक्षराङ्क पद्धतिको अभ्यास गरियो । 

यद्यपि प्राप्त नतिजाले कुन विषय अध्ययन गर्न पाउने वा नपाउने वा के कस्तो अध्ययन गर्ने भन्नेजस्ता दुबिधामा भने अझै पनि आम विद्यार्थी रुमलिरहेका देखिन्छन् । एसईई पास भएका आम विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै गर्दा यो तितो तर सर्वज्ञात सत्यचाहिँ बिर्सनु हुँदैन । यसमा राम्रो ग्रेडसहित पास भएकै विद्यार्थी पनि उच्च शिक्षामा असफल हुने दर निकै उच्च छ । 

राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालित कक्षा ११ र १२ को वार्षिक परीक्षामा झन्डै ६० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुन्छन् । समाज भने यो असफलताप्रति मौन छ । एसईईमा सफलता हात लागेको खुसीयालीमा हराउँदा त्यसपछिको उच्च शिक्षा कसरी सार्थक र सफल बनाउने भन्ने बहसमा भने हामी प्रायः अन्योलमा छौँ । 

अगाडिको अन्योल

एसईईपछि विषय वा सङ्काय छनोटमा प्रायः विद्यार्थी जति सचेत हुनुपर्ने हो, त्यति नभएको पाइन्छ । उच्च ग्रेड हासिल गरेका विद्यार्थी अझै पनि विज्ञान विषयकै अध्ययन निर्विकल्प भएको मानसिकतामा रहन्छन् । बाँकी अन्य सङ्काय अन्य श्रेणीका विद्यार्थीका लागि हो भन्ने अवैज्ञानिक अवधारणा पनि व्याप्त छ । २०५० सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट गरिमा राणा एक मात्र यस्तो अपवाद उदाहरण थिइन्, जसले विज्ञान नभई कानुन अध्ययन गरिन् । २०६६ का सर्वोत्कृष्ट विवेक अधिकारीले साहित्यमा रुचि भएको बताए पनि विज्ञान सङ्काय नै रोजे । उनकै शब्दमा एसएलसीमा राम्रो गर्नेले साइन्स पढ्नुपर्छ भन्ने मान्यता समाजमा जबरजस्त स्थापित छ । अहिलेका सर्वोत्कृष्ट भनिएकाहरूले पनि विभिन्न सञ्चारमाध्यमलाई विज्ञान नै अध्ययन गर्ने बताउँदै छन् । नाम चलेका कलेज पनि उच्च ग्रेड ल्याउने विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्ने वकालतको अग्रमोर्चामा देखिन्छन् ।

विश्वका कतिपय मानक क्षेत्रहरू (जस्तै : अमेरिका, युरोप लगायत)मा उत्कृष्ट विद्यार्थीमध्येका ६० प्रतिशतभन्दा बढीले व्यवस्थापन, मानविकी वा दर्शन अध्ययन गरिरहेको देखिन्छ । अस्ट्रेलियामा फेसन डिजाइन, पर्यटन आदि विषय राम्रा विद्यार्थीको रोजाइमा पर्दै छ । 

हाम्रो राज्य जुन क्षेत्रमा आफैँ प्रगति गर्न सक्ने अवस्थामा छैन, त्यसैमा सफल र क्षमतावान् विद्यार्थीलाई मात्र लग्दै छ । प्रचुर सम्भावना भएका व्यापार, व्यवसाय, पर्यटन, शिक्षा, साहित्य आदि क्षेत्रको अध्ययनमा कमजोर विद्यार्थीलाई मात्रै सिफारिस गर्छौँ । यही गलत अभ्यासका कारण अध्ययनपछि युवाहरू विदेश पलायन हुने क्रम बढेको मात्रै छैन, देशको विकासमा समेत असर गरेको छ ।   

उच्च ग्रेड हासिल गरेका विद्यार्थी अझै पनि विज्ञान विषयकै अध्ययन निर्विकल्प भएको मानसिकतामा रहन्छन् । बाँकी अन्य सङ्काय अन्य श्रेणीका विद्यार्थीका लागि हो भन्ने अवैज्ञानिक अवधारणा पनि व्याप्त छ ।

यस्तै गलत सन्दर्भ, प्राप्ताङ्क वा अरूको भनाइलाई आधार बनाउँदा विद्यार्थी स्वयंको इच्छा र त्यो इच्छालाई व्यवहारमा परिणत गराउने विषय वा सङ्काय छनोट हुन सकेको देखिँदैन । 

गहिरिएर परामर्श दिनुको सट्टा कलेजहरू समेत औपचारिकता उन्मुख मात्र देखिन्छन् । सङ्कायका हिसाबले राम्रो र नराम्रो विषयलाई छुट्ट्याउने गलत अभ्यासले अधिकांश विद्यार्थीमा असहजता पैदा गर्दै छ । हरेक सङ्कायबाट हुने उपलब्धिका बारेमा अपूर्ण बुझाइ मात्र देखिन्छ । विज्ञान सङ्काय पढेपछि डाक्टर वा इन्जिनियर भइन्छ, व्यवस्थापन सङ्काय पढ्ने भनेको व्यापार गर्नेले हो, मानविकी सङ्कायले प्रशासकीय सेवामा सजिलो हुन्छ, अथवा शिक्षा क्षेत्रबाट गए शिक्षक मात्रै भइन्छ भन्नेजस्ता धारणा अझै व्याप्त छन् । 

हावार्ड फिग्लर र रिचर्ड एन बोल्सको पुस्तक ‘द करिअर काउन्सेलर्स ह्यान्डबुक्स’; सोया जिची र आन बिडोउको ‘करिअर म्याच’ भन्ने पुस्तकमा विद्यार्थीको करिअर सम्भावनाबारे उल्लेख गरिएका छन् । ती सबै सम्भावनाको ज्ञात भए सङ्काय छनोट सहज र उत्पादक हुन्छ । 

सहज छनोट

उच्च शिक्षाको अध्ययन कुनै रिक्तता वा बेअर्थका लागि गरिँदैन । सबै अध्ययनार्थी भविष्यमा कुनै पेसामा संलग्न रहने, सफल बन्ने, भिन्न पहिचान खडा गर्ने अभिलाषामा रहन्छन् । तसर्थ एसईई परीक्षापछि उच्च शिक्षाका लागि तयार सबै विद्यार्थीमा आफ्नो लक्ष्यमा जाने प्रस्ट अवधारणाको ज्ञान हुनुपर्छ ।

राजधानीका केही उच्च शिक्षालयमा गरिएको नमुना परीक्षणमा विद्यार्थीले भविष्यमा आफू के हुने भन्ने तय गर्न नसकेको देखिन्छ । सीमित विद्यार्थी, जो लक्ष्य निर्दिष्ट भएको बताउँछन्, उनीहरूमध्ये थोरै मात्र कसरी आफूले अध्ययन गरेको विषयले लक्ष्यलाई समेट्न सक्छ भन्नेमा स्पष्ट छन् । 

विद्यार्थीले आफ्नो लक्ष्यलाई आधार बनाएर नभई अभिभावकको दबाब, सञ्चार माध्यमको प्रभाव, आफूले भ्रमण गरेका कलेजको भौतिक अवस्था, अध्ययन शुल्कको तुलनात्मक विश्लेषण, साथीभाइको भनाइ अथवा मिनाहा पाउन सकिने शुल्कका आधारमा मात्र विषय वा सङ्काय छनोट गर्ने प्रचलन त्याग्नुपर्छ । कलेजहरूले समेत पुस्तकालय र प्रयोगशालामा सम्झौता गर्दै केवल लिफ्ट र स्विमिङ पुल बनाउने दौडमा रमाउने पद्धति छाड्नुपर्छ । 

सत्यता यो हो कि कुनै पनि विषय वा सङ्काय आफैँमा नराम्रा र राम्रा छैनन् । हरेक सङ्कायबाट मानिस उत्तिकै सफल बन्छ । समाजमा व्यवसायी, पेसाकर्मी, शिक्षक, कलाकार, चिकित्सक आदि सबै बराबरी सफल र प्रख्यात भएका उदाहरण प्रशस्तै छन् । विज्ञान पढेर नास्ट वा नासामा काम गर्ने वैज्ञानिक, व्यवस्थापन सङ्काय पढेर आएका सफल व्यापारी वा बैङ्कर, मानविकी वा शिक्षा पढेर सफल भएका प्रशासक वा प्राध्यापक, कानुनबाट आएका न्यायमूर्ति, साहित्यमा लागेर नोबेल पुरस्कार पाएका सर्जक, अनि आम सञ्चारबाट आएका सफल पत्रकार सबैको प्रतिष्ठा अपार र विराट् अनि बराबर छ । जुनसुकै पेसामा अद्वितीय नभए पनि उदाहरणीय बन्न सक्दा त्यो नै उच्चतम सफलता हुन्छ । तसर्थ, कुनै विषयलाई राम्रो अथवा नराम्रो भन्दा कसरी अध्ययन गर्ने अनि कसरी उच्च सफलता हात पार्ने भन्ने कुरा प्रधान हो । 

शारीरिक, मानसिक, मनोवैज्ञानिक हिसाबले विद्यार्थी कुनै विषयका लागि उपयुक्त र कुनैमा कम उपयुक्त हुन सक्छन् । गणितमा तगडा विद्यार्थीलाई विज्ञान र भाषामा तगडालाई मानविकी सहज हुन सक्छ । मनोविज्ञानका एक विख्यात दार्शनिक जोन होल्यान्डले गरेकोे मानवीय स्वभावको विभाजन, ब्यारटको ‘थ्रीडी टेस्ट’ र सट्किनको ‘पर्सनालिटी टेस्ट’ले उनीहरूको व्यक्तिगत आचारण र त्यसका लागि उपयुक्त हुने सम्भावनाका बारेमा प्रस्ट्याउँछ । 

साथै विद्यार्थीको मनोवैज्ञानिक परीक्षा, क्षमता परीक्षा र ‘प्यारामेट्रिक प्राग्म्याटिक’ परीक्षाजस्ता कुराले उनीहरूको स्वभाव अनुसारको विषय र अवसर केलाउने मौका दिन्छ । प्याटिक मारलेभेडको ‘चुज अ करिअर एन्ड डिसकभर योर पर्फेक्ट जब’, भर्नर जी जन्करको ‘करिअर काउन्सिलिङः अ हलिस्टिक अप्रोच’, नरमान सी स्टेजबर्गको ‘करिअर कन्सल्टेन्सीः कन्टेस्ट, प्रोसेस र टेक्निक्स’जस्ता पुस्तक यो विषयमा सहजकर्ता हुन सक्छन् । 

तसर्थ उच्च अध्ययनमा जानुपहिले विद्यार्थीले प्रत्येक सङ्कायका उच्चतम सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामर्थ्य मिल्ने एउटा लक्ष्य छनोट गर्ने, आफूले छनोट गरेको लक्ष्यमा नमुना व्यक्ति पत्ता लगाउने अनि मात्र लक्ष्यलाई सघाउने खास सङ्काय र विषय छनोट गर्नुपर्छ । 

विषय छनोट बुवाआमा, साथी वा अन्य कसैका लागि नभएर केवल आफ्नै इच्छा, रुचि, लक्ष्य र पेसागत आकर्षणका लागि हुनुपर्छ । तसर्थ, जानकार र बुज्रुकले कुनै विद्यार्थीलाई कुनै एक विषय वा सङ्कायका लागि बाध्य गर्नेभन्दा प्रत्येक विषयबाट सम्भव भएसम्म अधिकतम अलौकिक अनुपम उपलब्धि गर्नका लागि बाटो देखाइदिनुपर्छ । राम्रो वा नराम्रो विषय हुँदैन, आफूले राम्रो वा नराम्रो हिसाबले अध्ययन गर्ने कुराले आगामी भविष्यलाई पूर्णरूपमा नियन्त्रण गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप