आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

सरकारको प्रतिबद्धतापछि आन्दोलनरत लेखाका कर्मचारी काममा फर्किए

शुक्रबार, १४ असार २०८१, १४ : ४०
शुक्रबार, १४ असार २०८१

विराटनगर । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कोशी प्रदेश लेखाका कर्मचारीहरू शुक्रबारदेखि काममा फर्किएका छन् । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीको न्यायोचित मागको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएसँगै कर्मचारीहरू आन्दोलनको स्वरूप परिवर्तन गर्दै काममा फर्किएका हुन् । 

‘कर्मचारीको न्यायोचित मागहरूको सम्बोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको परिस्थितिमा दबाबमूलक कार्यक्रममा सहभागी सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई काममा फर्की सार्वजनिक सेवा प्रवाहमा संलग्न हुन हार्दिक अपिल गर्दछु,’ मन्त्री मगरले अपिल गरेका थिए । 

WhatsApp Image 2024-06-28 at 13.30.47

सोही अपिल पछि पेन डाउनको कार्यक्रम स्थगित गर्दै असार २० गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने आन्दोलनरत लेखाका कर्मचारीहरूले बताएका छन् । उनीहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,‘सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने कर्मचारीहरूको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई न्यायोचित र समानतामा आधारित वृत्तिविकासको प्रावधान कानुनमा समेटिने विश्वास गर्दै दबाबमूलक कार्यक्रमको स्वरूपलाई परिवर्तन गरी २०८१ साल असार २० गतेसम्म हातमा कालोपट्टि बाँधी कार्यालय समय अघिपछि समेत कार्य सम्पादन गर्ने र सो अवधिसम्मको अवस्थाको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको ।’  

WhatsApp Image 2024-06-28 at 13.30.54

मध्य असारमा धमाधम भुक्तानी गर्नुपर्ने जिम्मेवारी छोडेर लेखाका कर्मचारीहरू गत ६ गते असारदेखि आन्दोलनमा थिए । उनीहरूको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको थियो । कर्मचारीको आन्दोलनकै कारण मन्त्री, सांसद र कर्मचारीले पनि जेठको तलब अझै नपाएको बताइएको छ । आर्थिक कार्यविधि ऐन अनुसार आर्थिक वर्षको अन्त्य हुनुभन्दा ७ दिन अगाडि भुक्तानी रोक्नुपर्छ । त्यसअनुसार असार २४ गतेसम्म मात्रै भुक्तानी गर्ने समय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप