आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
राजनीति

अशोक राई नेतृत्वको जसपाले बनायो १७० सदस्यीय कार्यसमिति, भदौसम्म सांगठनिक अभियान चलाउने

शुक्रबार, १४ असार २०८१, २२ : १६
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भदौभित्र सातै प्रदेशका हरेक जिल्ला र स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार अभियान चलाउने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जसपाको हिजो सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । 

बैठकले प्रदेश, जिल्ला तथा पालिका तहसम्म रूपान्तरण, समिति रूपान्तरण, पुनर्गठन वा नयाँ सङ्गठन निर्माणको कामलाई अगाडी बढाउन रूपान्तरण तथा पुनर्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए ।

यो अभियानमा आ–आफ्नो जिम्मेवारी भएको ठाउँमा केन्द्रीय सदस्यहरूले प्रदेश समिति वा प्रदेश समिति नबनेको अवस्थामा प्रदेश तदर्थ समिति वा त्यो पनि नबनेको भए पहिचानमा आधारित राष्ट्रिय समिति वा त्यो पनि नबनेको भए जिल्ला समिति वा तदर्थ समिति वा त्यो पनि नभए जिल्ला तदर्थ समिति बनाएर त्यससँगको समन्वयमा रूपान्तरण तथा पुनर्गठन अभियानलाई सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

हाल ५० वटा जिल्लामा आफूहरूको सङ्गठन रहेको दाबी गर्दै महासचिव राईले त्यसमध्ये आधाभन्दा बढी आफूहरूको पक्षमा आएको दाबी गरे । उनले भने– ‘पार्टी कमिटीहरूलाई रूपान्तरण र पुनर्गठनको काम सातवटै प्रदेशमा जारी छ र यसलाई अब अभियानकै रूपमा सञ्चालन गर्न लागेका हौँ ।’ कोशी प्रदेशमा प्रदेश समिति पुनर्गठित गरिएको छ । किराँत राष्ट्रिय समिति रूपान्तरित भएको छ र लिम्बुवान राष्ट्रिय समिति पुनर्गठित भएको दाबी जसपाको छ ।

जसपाले १४ वटा जिल्लामध्ये कुनै रूपान्तरित र कुनै पुनर्गठन गरेर ११ वटा जिल्लामा पूर्ण रूपमा सङ्गठनात्मक संरचना बनाइएको छ । मधेश प्रदेशमा पर्सा जिल्लामा पुनर्गठनको काम भएको छ भने अरू जिल्लामा क्रमशः पुनर्गठनको कामलाई अगाडी बढाउने जसपाले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौँ प्रदेश समिति र नेवा राष्ट्रिय समिति जिल्ला समितिमा रूपान्तरण भएका छन् भने भक्तपुर र काभ्रेपलान्चोक जिल्ला समिति पुनर्गठन भएका छन् । अरू जिल्लामा क्रमशः पुनर्गठन गर्ने कार्य जारी रहेको सो पार्टीले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश समिति रूपान्तरित भएको छ ।  त्यस्तै लुम्बिनी प्रदेशमा बाँके, गुल्मी, प्युठान, पाल्पा र अर्घाखाँची जिल्ला समिति रूपान्तरित भएका छन् ।

उता कर्णाली प्रदेशमा प्रदेश समिति लगायत सुर्खेत, कालिकोट, जुम्ला र सल्यानमा जिल्ला समिति रूपान्तरित भएका छन् । सुदूरपश्चिममा जिल्लाहरू रूपान्तरण र पुनर्गठन गरेर प्रदेश समिति, राष्ट्रिय समिति वा अन्य तहगत समितिहरू निर्माण गर्ने कार्य जारी रहेको सो पार्टीले जनाएको छ । सुदूरपश्चिममा अहिलेसम्म कञ्चनपुर जिल्ला पुनर्गठन गरिएको छ ।

त्यहाँ एक दुई दिनमै पदाधिकारीको बैठक बसेर प्रदेशका इन्चार्ज तोक्ने बताउँदै महासचिव राईले पूर्व पार्टी जसपा नेपालबाट जसपामा आउन चाहने नेता, कार्यकर्ता र सदस्यहरूलाई सङ्गठित गर्न ध्यान दिइएको बताए ।

अन्य तहगत सङ्गठन तथा भातृ सङ्गठनहरू गठन, पुनर्गठन र रूपान्तरण गर्दै जाने आफूहरूको तयारी रहेको समेत उनले बताए । हाल जसपाको केन्द्रीय कार्यसमिति १७० जनाको बनाइएको छ । जसपा नेपालबाट अलग हुँदा निर्वाचन आयोगमा दर्ता हुनका लागि ३१ सदस्यीय कार्यसमितिको नाम दिइएको थियो । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकबाट त्यसलाई बढाएर १७० बनाइएको हो ।  

‘सर्वोच्च अदालतले अहिले सनाखत रोकेको छ । सनाखतमा रोक नलगाएको भए जसपा नेपालबाट थुप्रै प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू आउन सक्थे । तैपनि अहिले आउने क्रम जारी रहेको छ’ जसपाको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप