आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपति चुनाव अघिको पहिलो बहसमा बाइडेन र ट्रम्पले जमेर गरे एक अर्कालाई गाली

शुक्रबार, १४ असार २०८१, २२ : २२
शुक्रबार, १४ असार २०८१

वाशिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको चुनाव हुँदै छ । सो चुनावका लागि हालै वर्तमान राष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन र पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबिच बहस भएको थियो । यो बहसलाई अमेरिकाको मात्रै नभएर सारा विश्वले हेरेको थियो । 

बहसमा बाइडेन ८१ वर्षको उमेरमा पनि आफू अमेरिकाको राष्ट्रपति बन्न र देशलाई चुनौतीबाट बाहिर निकाल्न सक्षम छु भनेर मतदातालाई विश्वस्त गराउने प्रयासमा देखिए । ७८ वर्षीय ट्रम्पले भने आफूलाई फौजदारी मुद्दामा सजायभन्दा बाहिरबाट हेर्न र देशका लागि आफूले बनाएको योजनाहरूलाई गहिरिएर हेर्न भनेका थिए । पहिलो बहसमा दुईबिच निकै चर्काचर्की देखियो । दुवैले एक अर्काविरुद्ध अमर्यादित भाषाको पनि प्रयोग गरेका थिए ।

पहिलो आधा घण्टा बाइडेनमाथि ट्रम्प भारी

दुई नेताबिचको यो बहस एटलान्टास्थित एक मिडिया च्यानलको मुख्यालयमा भएको थियो । मिडिया रिपोर्टका अनुसार ट्रम्प र बाइडेनले आफ्नो प्रारम्भिक कुराकानीमा अर्थतन्त्रबारे बहस गरेका थिए । दुई नेताले मुद्रास्फीति, रोजगारी र कर नीतिमा एकअर्कामाथि हमला गरे । 

बहसको पहिलो आधा घण्टामा बाइडेन अलिकति नर्भस देखिए भने ट्रम्प ऊर्जाशील देखिएका थिए । तर जवाफ दिने क्रममा ट्रम्पले झूट पनि बोले । ट्रम्पले क्यापिटलमा भएको दङ्गामा आफ्नो कुनै पनि भूमिकालाई अस्वीकार गर्दै उनले दङ्गामा दोषी ठहर्याइएकाहरूको आचरणलाई खतरनाक मान्न पनि चाहेनन् ।

छोराको विषयमा बाइडेनलाई निशाना बनाए

बहसका क्रममा बाइडेनले क्यापिटल हिल दङ्गाका दोष ट्रम्पलाई दिए । क्यापिटल हिलमा हिंसा रोक्न उनले केही नगरेको उनको भनाइ थियो । क्यापिटल हिलमा ज–जसले आक्रमण गरे तिनीहरूको निन्दा गर्छौँ भनेर सोधेको प्रश्नको जवाफमा ट्रम्पले उल्टै छोराको कुरा ल्याएर बाइडेनलाई निशाना बनाए । 

‘तिम्रो छोरा दोषी हो । बाइडेनले राष्ट्रपतिको रूपमा जुन पनि काम गरे, यसका लागि उनलाई पनि दोषी ठहर गर्न सकिन्छ । यो व्यक्ति एउटा अपराधी हो । मैले कुनै गल्ती गरेको छैन ।’ ट्रम्पले भनेका थिए । युक्रेन युद्धलाई लिएर पनि ट्रम्पले बाइडेनलाई निशाना बनाएर भने । आफू उनी राष्ट्रपति भएको भए युक्रेन युद्ध कहिल्यै सुरु नहुने उनको भनाइ थियो ।

महँगी र अफगानिस्तान मुद्दामा बहस

छलफल सुरु हुने बेलामा दुवै नेताले मञ्चमा एक अर्कासँग हात मिलाएका थिएनन् । यसबाट दुई नेताबिचको तनाव कस्तो होला भनेर अनुमान गर्न सकिन्छ । यस लगत्तै ट्रम्पले मुद्रास्फीतिको मुद्दामा बाइडेन सरकारलाई निशाना बनाएर मुद्रास्फीतिले अमेरिकालाई मारिरहेको बताए । ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयका लागि पनि सरकारको आलोचना गरे । अफगानिस्तानबाट सेना फर्काइएको दिनलाई उनले अमेरिकी इतिहासको सबैभन्दा लज्जास्पद दिन भने । आफूले सेना फिर्ता बोलाएको भए पूर्ण सम्मान, शक्ति र शुद्धताका साथ फिर्ता हुने उनको दाबी थियो । आफू राष्ट्रपतिमा निर्वाचित भए भने गर्भपतन चक्कीमा प्रतिबन्ध नलगाउन ट्रम्पले बताएका छन् ।

बाइडेन पनि के कम उनले पनि ट्रम्पले गरेका निर्णयहरूको आलोचना गरे । यस क्रममा दुई नेताले एक अर्कालाई गालीगलौज गरेका थिए । एक अर्कालाई झुटो, धूर्त र मूर्ख समेत भन्न भ्याए । बाइडेनले ट्रम्पको अध्यागमन नीतिको आलोचना गर्दै ट्रम्पको प्रशासनमा बालबालिकालाई आमाबाट अलग्याइएको र परिवारलाई टुक्र्याइएको बताए । बाइडेनले पोर्न स्टारसँग सम्बन्धलाई लिएर ट्रम्पलाई गाली गरे । आफू विरुद्धको आरोप अस्वीकार गर्दै डेमोक्रेटिक अभियोजकहरूले यस मामलामा आफ्नो छवि बिगार्ने प्रयास गरेको ट्रम्पले बताए ।

मुद्दाभन्दा बढी दुवैको चरित्रमाथि ध्यान

बहस सुरु हुनु अघि अल अरेबिया न्यूज च्यानलका पत्रकार नादिया बिलबासी–चार्टर्सले बहस असाधारण र फरक हुने बताएकी थिइन् । बहस दुवै राष्ट्रपतिको चरित्रमा केन्द्रित हुने र वास्तविक मुद्दाहरूमा केन्द्रित नहुने उनले बताएकी थिइन् । अगस्टमा हुने लोकतान्त्रिक राष्ट्रिय महाधिवेशन (डिएनसी) र जुलाईमा हुने रिपब्लिकन राष्ट्रिय महाधिवेशन (आरएनसी) अघि राष्ट्रपतिका उम्मेदवारहरूबिच बहस भएको यो पहिलो पटक थियो । 

आफ्ना अगाडि ७० प्रतिशत अमेरिकी जनताले नचाहँदा दुई जना उम्मेदवार भएको नादियाले बताएकी थिइन् । ९० मिनेटको बहसमा अधिकांशको आँखा बाइडेनमाथि थियो । उनी ९० मिनेट सम्मै उभिन सक्छन् कि सक्दैनन्, बोल्दा कुनै गल्ती गर्छन् कि एकाग्रता गुमाउँछन् वा पुनः नेताहरूको नाम गलत लिन्छन् कि भन्ने चासो धेरैको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप