आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
परीक्षाफल

एसईई नतिजा : सवारी चालकका छोरा बारा जिल्लामै उत्कृष्ट

शुक्रबार, १४ असार २०८१, ११ : ३७
शुक्रबार, १४ असार २०८१

बारा । डिभिजन वन कार्यालय, बाराका सवारी चालक देवनाथ राय यादव खुसीले दङ्ग छन् । छोरा राहुल राय यादवले यस वर्षको एसईई परीक्षामा जिल्लामै सर्वोत्कृष्ट ‘४ जीपीए’ ल्याएपछि उनको खुसीले सीमा नाघेको हो ।

यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउने देशभरका १८६ जना विद्यार्थीभित्र यादवका छोरा राहुल बारा जिल्लाकै एक मात्र विद्यार्थी हुन् । दुई दशकदेखि डिभिजन वन कार्यालय बारामा सवारी चालकको रूपमा काम गर्दै आएमा यादवलाई जीवनमा यति धेरै खुसी मिल्छ भनेर विश्वास थिएन ।

‘धेरै खुसी लागेको छ । मैले सोचेको पनि थिइनँ– हामीजस्तो  सानोतिनो मान्छेको छोरा पनि उत्कृष्ट हुँदो रहेछ,’ यादवले भने, ‘वास्तवमा पढाइको अगाडि धनी, गरिब कसैको केही लाग्दैन । छोराले मेहनत गरेर पढ्यो । स्कुलले पनि धेरै राम्रो पढाएकोमा धन्यवाद छ ।’

देवनाथ राय सामान्य पढलेख गर्नमात्रै जान्दछन् । आफूले खासै पढलेख नगरे पनि २ छोरालाई उनले पठनपाठनमा प्रेरित गर्दै आएका छन् ।

राहुल विद्यालय समय बाहेक पनि बिहान, बेलुका घरमा आफैँ पढ्ने गर्दथे । छोराको पढाइ राम्रो हुनुमा विद्यालय र घरको वातावरण राम्रो भएको देवनाथको भनाइ छ ।

‘करोडपति, अर्बपतिका छोराछोरीले ल्याउन नसकेको नतिजा आज मजस्तो सवारी चालकको छोराले ल्याएको छ, धेरै खुसी छु,’ देवनाथले भने । अब छोराको इच्छाअनुसारको विषय पढाउने उनको योजना छ ।

r4

ब्राईटर एकेडेमी सिमरामा अध्यनरत राहुल विद्यालय समयबाहेक बिहान बेलुका अतिरिक्त्त कक्षामा सहभागी हुने गर्दथे । ‘घरमा त्यही  दैनिक २ घन्टा पढ्छु, धेरै कुरा त विद्यालयमै सिक्ने/सिकाउने हुन्छ,’ राहुलले भने ‘घरमा हल्का आफ्नो मनले थोरै पढे पनि धेरै बुझ्नेगरी पढ्नुपर्छ त्यतिले पुग्छ ।’

व्यवस्थापन विषय पढेर बैंकिङ्ग क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उच्च शिक्षा अध्ययनका लागि धेरै युवायुवती विदेश जाने गरेको अवस्थामा पनि उनी देशमै रहेर केही गर्ने योजना रहेको बताउँछन् । ‘विदेश जाने विचार छैन,’ उनले भने, ‘आफ्नै देशमा काम गर्ने, स्वरोजगार हुने उद्देश्य छ ।’

राहुलले ४ जीपीए आउनु मात्रै राम्रो हो भन्ने सोच राख्न नहुने पनि प्रस्ट पारे । ‘व्यवहार राम्रो भएपछि थोरै जीपीए आए पनि जीवनमा सफल हुन सकिन्छ,’ उनले भने । एउटा परीक्षाले मात्रै जीवनको भविष्यको निर्णय नगर्ने उनको भनाइ छ ।

ब्राईटर एकेडेमीका प्रिन्सिपल राजु कार्कीले राहुल असाध्यै मेहनती र इमानदार विद्यार्थी भएको बताए । ‘ऊ राम्रो विद्यार्थी भएकाले अतिरिक्त्त कक्षामा बस्नैपर्छ भन्ने बाध्यता थिएन,’ उनले भने, ‘इमानदार भएकाले उसलाई हामीले खुला वातावरणमा घरमै बसेर तयारी गर्न छोडिदिन्थ्यौँ ।’

यस वर्ष बारा जिल्लाबाट एसईई परीक्षामा १४८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी भएका थिए । जसमध्ये ४ जीपीए ल्याउने ब्राईटर एकेडेमी सिमरामात्रै हो । नियमिततर्फ जिल्लाभरबाट यस वर्षको एसईई परीक्षामा सहभागी भएका ८ हजार ७४३ र प्राविधिक तर्फ ४१४ जनामध्ये ब्राईटर एकेडेमीमा अध्ययनरत राहुलले मात्रै ४ जीपीए ल्याएका छन् । जिल्लामै उत्कृष्ट जीपीए ल्याएको भन्दै राहुल राय यादवलाई जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सम्मानसमेत गरेका छन् ।

जिल्लामा सामुदायिक विद्यालयतर्फ भने यसवर्ष श्री ३ चन्द्र मावि कलैयाका महेशकुमार गुप्ताले ३ दशमलव ९१ जीपप्ए ल्याएर उत्कृष्ट भएका छन् ।

r1

शिक्षा विकास तथा समन्वय इकाई बाराका परीक्षा प्रमुख सन्तोष कुमार शर्मा (जीवन) का अनुसार यस वर्ष बारा जिल्लामा ३० दशमलव २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

जिल्लामा ३ दशमलव ०१ देखि ३ दशमलव ९६ जीपीए ल्याउने विद्यार्थी संख्या भने १ हजार ४०१ छ । त्यसैगरी प्राविधिकतर्फ एसईई परीक्षामा सहभागी १२ वटा विद्यालयबाट ६३ जना विद्यार्थीले ३ दशमलव ०१ देखि ३ दशमलव ७३ जीपीए ल्याएका छन् ।

जिल्लामा माध्यमिक तहमा प्राविधिकतर्फ १३ वटा सामुदायिक विद्यालयले कृषि, पशु विज्ञान, कम्पुटर र सिभिल इन्जिनियर विषय अध्ययन गराउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप