मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल
२०४६ साल भदौको एक दिन, सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो, ‘नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।’
त्यसपछि क्रमशः लेख आउन थाले राजमोती र अभिमन्युका नाममा । त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत सङ्घलाई नयाँ शिराबाट हेर्ने दृष्टिकोणबारे विक्रम नेपाली (गोपाल शाक्य समूह)बाट बहस छेडिन थाल्यो ।त्यतिखेर रसियन कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइकार ग्लास्तनोस्तवाला उदारवादी हावाजो उत्कर्षमा थियो । त्यसैगरी चीनको थ्यानआनमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीको धर्नाले तनाव थप्दै थियो ।
हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत चीनको तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका ‘दृष्टि’ पार्टी लाइनभन्दा अलि बाहिरजाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै एउटा टिम ‘नवयुग’ नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट संलग्न हुनुहुँदोरहेछ,मदन भण्डारी ।
नवयुग त निकाल्यौँ भूमिगत रूपमा तर बजारमा लान र प्रशासनको आँखामा वैधानिकताको धुलो छ्याप्न सम्पादक,प्रकाशकको नाम राख्नैपथ्र्यो । त्यसैले नेकपा मालेको सर्ट फर्म ‘नेत्रकमल पाठक,मानेडाँडा लेकथुम’ भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो ।
फागुन ७ देखि त जनआन्दोलन सुरु भइहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना,कालीमाटीको ‘दृष्टि’ कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौँ ।
मोटोमोटो ज्यान,हँसिलो, मिठो बोल्ने,त्यस्तो पात्रलाई हामीले पार्टीको ठुलै नेता भनेर अनुमान त लगायौँ, तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताका रूपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! कति नै थिए र सङ्कटका घडीमा काँध थाप्ने गरी प्रकट हुने वफादार,अनुशासितबुध्दिजीवी र कलमजीवी सिपाहीहरू !
त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौँ । मोटोमोटो ज्यान, हँसिलो, मिठो बोल्ने, त्यस्तो पात्रलाई हामीले पार्टीको ठुलै नेता भनेर अनुमान त लगायौँ, तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताका रूपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन ।
एक नम्बर वरीयताको नेता भईकन पनि सबैसँग बस्ने,खाने,मन माझ्ने, घमण्ड नगर्ने,ठुुलो नपल्टिने,राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताका रूपमा छेउमै पाउनु ७०० रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रानिम्ति गर्वको विषय थियो । विद्यार्थी राजनीति गर्ने,त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिस्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँजस्तो लाग्ने,संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा हामीलाई ऊर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ,यतिन्जेल हामीसँग रम्ने उहाँ पार्टीको महासचिव नै हुनुहुँदो रहेछ । अब विदेशीसँग भेटघाट बाक्लिन थाले ।
त्यससँगै वागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मीतव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा लगाउने तर पार्टीको नेताहरूलाई भने संस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरू पनि हुनुहुन्थ्यो, तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो,हामी जे गर्दैछौँ,पार्टीका लागि गर्दै छौँ र यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ, जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । त्यसबाट गुनासो उठ्न स्वतः नपाउने नै भयो । शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इन्जिन दह्रो भइदिँदारेलका डब्बाहरू ऊर्जारूपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहेजस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मिठो भोगाइ हो मेरो जीवनको ।
एकदिनको सम्झना छ,मदनले भिजिटिङ कार्ड बनाउनुपर्यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुवै काम एक ठाउँबाट हुने गर्छ भन्ने लागेको थियो होला उहाँलाई,त्यसैले भिजिटिङ कार्ड बनाइदिन आग्रह गर्नुभएको । तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोस यही छ कि मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिनँ,न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ, तर पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै गर्व गर्छु । उहाँले आशालाग्दो,भर्खर उदाएको पत्रकार हो,यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेसन)को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायत कार्यक्रममा सरिक गराउनुभयो ।
दृष्टिभित्रकै एउटा टिम ‘नवयुग’ नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट संलग्न हुनुहुँदोरहेछ, मदन भण्डारी ।
म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरूसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी,केशवलाल श्रेष्ठसँगै हुनुहुन्थ्यो । पुरानो दिल्लीको एउटा धर्मशालामा वास बसेको,सँगै सादगी भोजन गरेको,हाइफाइवाला होटल, वातानुकूलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसँग ।
त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षबिच कञ्चनपुर गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ हुँदै फर्केको याद पनि ताजा छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो । अशोक राई,सीपी मैनालीहरूको एउटा धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरूका बिचमा लाइनका हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उत्साहसँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन,त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको क्षण झलझली सम्झिरहन्छु ।
पाँचौँ महाधिवेशनका बेला प्रचारका क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नो एक भोट पनि नहालीकनराति नै निस्केर घर जानुभयो । सीपी मैनाली, मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (बाग्मती प्रदेश पूर्वसभामुख) लगायत एउटा पङ्क्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्वमहासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतिको टाउको’ भनिराख्नुहुन्थ्यो ।
यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे व्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ,त्यसको अगाडि ‘जनताको’ शब्द थप्न लगाउनुभयो । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक–एक शब्द टिप्दै तयार पार्न लगाएको ‘कालीदासको क नपढी जनताको बहुदलीयजनवाद बुझिन्न’ शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ ।
पार्टीको आधिकारिक पूर्वप्रकाशन भईकन पनि ‘प्रकाश साप्ताहिक’ महाधिवेशनताका सीपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका बिच मोहनचन्द्र अधिकारी र सीपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसो गर्दा सन्तुलन रहन्छ,पेसागत मर्यादा देखिन्छ,एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्दै निर्देशन दिनुभयो,जुन मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो ।
जीवनमा मलाई अफसोस यही छ कि मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिनँ, न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ, तर पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै गर्व गर्छु ।
एक दिन नक्सालको डेरामा खैरो कोट र कालो टोपीमा सजिएर उहाँले घाम ताप्दैदृष्टि पढ्दै गर्नुभएको थियो ।त्यही अवस्थामा विजय सैँजु र मैलेतस्बिर खिच्यौँ, जुन अहिले पनि प्रयोग हुन्छ बेला बेला ।संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, पछि उहाँ राष्ट्रपति र महासचिव हुनुभयो, उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपीओली,मुकुन्द न्यौपाने, वाचस्पति देवकोटा,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो । तर पछि के कारणले हो,म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ,लेख्थ्यौँ र देशवासीलाई सुसूचित गथ्र्यौं । अहिलेजस्तो जहाँकहीँबाट फ्याट्ट सेन्ड या पोस्ट गर्नलाई उतिबेला इमेल, फेसबुक कहाँ थियो र!
उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो । जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । उताबाट न्युज कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने,अनि मैले त्यसआधारमा न्युज बनाउने भन्ने सहमति भएको थियो ।
अफसोस, अमर लामाबाट आउने भनिएका महासचिव र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रूपमा,प्रधान सेनापति गडुल शमशेरका मुखबाट सुन्नुपर्यो । त्यसपछिका प्रसङ्गहरू त सबैसामु छर्लङ्गै छन् ।
उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ,न्युयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ,खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै काम इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोसिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ,त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिनँ । कारक र कारण जेसुकै होस्,यति जिम्मेवारी पूरा गर्ननसकेकामा चाहिँ मलाई खेद छ,दुःख छ । घरीघरी लाग्छ,त्यति सानो काम पनि किन गर्न सकिनँ होला !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई