आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

बिहीबार, १३ असार २०८१, २३ : ४४
बिहीबार, १३ असार २०८१

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा पेस गरेको अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेस गरेको प्रदेश सरकारको आर्थिक सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभाको बैठकले बहुमत सहित पारित गरेको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बिच सत्तारुढ दलका बहुमत सदस्यहरूको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ । बजेटमा नेपाली कांग्रेस ३७, राप्रपाका १३ र नेकपाकाका ३ सहित ५३ सांसदहरू विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ५६ जना सांसदहरू बजेटको पक्षमा रहेका थिए ।

प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गर्दै बजेट पारित गरिएको हो । बैठकमा कांग्रेस सांसद प्रभात तामाङ, कृष्णकुमार तामाङ, छिरिङदोर्जे लामा, रामकृष्ण चित्रकार, रमेशकुमार महत, श्रीराम लामिछाने, पुकार महर्जन, नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईं, सृजना सायजुले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको थियो ।

कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड  रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप