आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
राजनीति

अबको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने प्रचण्डको घोषणा

बिहीबार, १३ असार २०८१, २३ : १६
बिहीबार, १३ असार २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउन लागेको जानकारी दिएका छन् । स्थायी कमिटीबाट ठोस योजना बनाएसँगै केन्द्रीय समिति बैठक बोलाएर सोही बैठकबाट विशेष महाधिवेशनको मिति तय गरिने प्रचण्डले बताए । 

बिहीबार राति एसिया प्रदेश सङ्गठन समितिस्तरीय विशेष प्रशिक्षण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले छिट्टै स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउँदै छु । त्यो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिन्छ । छिट्टै तोकिन्छ । विशेष महाधिवेशनसम्म पुगेर वैचारिक, राजनीतिक, सांस्कृतिक सबै ढङ्गले पार्टीलाई जनाधारित बनाउने कोसिस हुन्छ ।’ त्यसका लागि समर्पित भएर लाग्न उनले एसिया महादेशका जनप्रगतिशील मञ्चहरूलाई आह्वान गरे । 

प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउँदै देश र जनताको पक्षमा समर्पित गर्नुपर्नेमा जोड दिँदै गुटबन्दीका सोचहरू कमजोर बन्दै गएको पनि बताए ।  ‘मैले पार्टी एकताबद्ध बनाउनका लागि मिहिनेत गरिरहेको छु । पार्टी बलियो भयो भने मात्रै देश र जनताका लागि अझ योगदान दिन सकिन्छ’, प्रचण्डको भनाइ थियो । 

प्रशिक्षण कार्यक्रममा आफ्नो संक्षिप्त रिपोर्टिङ प्रस्तुत गर्दै एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले आफू मातहतको सङ्गठन एकताबद्ध रहेको र थप मजबुत बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । त्यसप्रति खुसी व्यक्त गर्दै प्रचण्डले सबैभन्दा धेरै नेपाली रहेको क्षेत्र रहेकाले सङ्गठन पनि सोहीअनुसार थप चलायमान बनाउन निर्देशन दिएका थिए । 

‘पार्टीलाई जति एकताबद्ध गर्न सक्यो त्यति नै देश पनि समाजवादतिर लैजान सकिने कुरा हो । एकताको विकल्प छैन’, उनको भनाइ थियो ।   

यस्तै प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रवासमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोशमा आबद्ध गर्ने र उनीहरूको भविष्य सुनिश्चित गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको पनि बताए ।  यस्तै गैरआवासीय नेपाली नागरिकतासम्बन्धी देखा परेका कठिनाइहरू समाधान गर्न पनि आफू लागिपरेको प्रचण्डले बताए । 

प्रतिक्षण कार्यक्रममा एसिया प्रदेश सङ्गठन समितिकी इन्चार्ज तथा उपाध्यक्ष पम्फा भुसाल, सहइन्चार्ज ओम शर्मासहित जनप्रगतिशील मञ्चका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप