आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

विपद् प्रभावितको घरमै पुगेर राहत

बिहीबार, १३ असार २०८१, २२ : २६
बिहीबार, १३ असार २०८१

काठमाडौँ । वर्षाका कारण भएका विपद्‌बाट आफन्त गुमाएका परिवारलाई तत्काल राहत दिने सरकारी निर्णय कार्यान्वयनलाई तीव्रता दिइएको छ ।  गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनाबाट प्रभावित परिवारलाई सकेसम्म छिटो राहत दिने सरकारको योजनाअरूप जिल्लाहरुमा निर्देशन दिइएको छ । सोही आधारमा विपद् प्रभावित जिल्लाले राहत वितरण थालिसकेको प्राधिकरणले जनाएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले आज जिल्लाको मादी गाउँपालिका–५ स्थित घरमा ढिस्को खसेर मृत्यु भएका १३ वर्षकी आयुष्मा रानाभाटका परिवारलाई रु दुई लाख राहत उपलब्ध गराएको छ ।

कास्कीका प्रजिअ पाण्डेले पीडित परिवारलाई तत्काल राहत दिने सरकारी योजना कार्यान्वयन गर्न घटना घटेको २४ घण्टा नबित्दै राहत उपलब्ध गराइएको जानकारी दिए । यही असार ११ गते रातिदेखि परेको अविरल वर्षाका कारण मादी गाउँपालिका–५ निवासी प्रकाश रानाभाटको तीन कोठे कच्ची घरमा बुधबार राती माटोको ढिस्को खसेको थियो । ढिस्को खस्दा कोठामा सुतिरहेकी १३ वर्षिया छोरी आयुष्माको मृत्यु भएको थियो । आयुष्माकी हजुरआमा ७० वर्षीय लालमायालाई सकुसल उद्धार गरिएको थियो । 

पोखरा महानगरपालिका–२७ आरुपाटा निवासी हरि सुनारको ढुङ्गा माटोले बनेको दुई कोठे कच्ची घरमा माटोको ढिस्को खस्दा घरमा सुतिरहेका उनका तीन वर्षिय छोरा अनमोल सुनारको मृत्यु भएको थियो । उनको परिवारलाई पनि राहत दिने तयारी भइरहेको प्रजिअ पाण्डेले बताए ।

मृतककी आमा वर्ष २७ की रितु सुनार घाइते भई हाल गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत रहेकी छन् । प्रजिअ पाण्डेले गण्डकी मेडिकल कलेजसँगको समन्वयमा घाइतेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । यही असार ११ र १२ गते देशभरका विपद्जन्य घटनामा १८ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २८ जनाले ज्यान गुमाइसकेको गृह मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप