सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १३ असार २०८१, २१ : ४७
बिहीबार, १३ असार २०८१

आज मिति २०८१ साल असार महिनाको १३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् ।  

परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा  बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए ।  बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् ।

नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२. रास्वपामा अन्तरविरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछाने र महामन्त्री डा. मुकुल ढकालबिचको विवाद सतहमा आएको छ । गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर महामन्त्री ढकालले पार्टीको अवस्थाबारे प्रतिवेदन बनाएका थिए । सोही प्रतिवेदनपछि उनी र सभापति लामिछानेबिच मतभेद चुलिएको चर्चा यतिबेला व्यापक भइरहेको छ ।

३. एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।

योसँगै वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ ।  त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।

४. एनसीसी र बीआरआईको सवाल

सांसदहरूबिच अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड पहल’ (बीआरआई)बारे मतभेद देखिएको छ ।

एमसीसी सम्झौता भएर कार्यान्वयनमा गइसकेको छ भने बीआरआई सम्झौताको चरणमा छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसदहरूले यी दुवै परियोजनाबारे आफूअनुकुल व्याख्या र विश्लेषण गर्दै समर्थन र विरोधमा अभिव्यक्ति दिएका हुन् ।

५. देवकोटालाई बैठकमा रोकियो

सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् ।

देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् ।

६. तीन दलको बैठक

प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् । टीआरसीलगायतका विषयमा सहमति जुटाउन तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

बिहीबार बसेको बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी थिए ।  यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी थिए ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली,  एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु सहभागी भएका हुन् ।

७. खड्काको बढुवा

नेकपा माओवादी केन्द्रले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (अर्घाखाँची) लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको हो ।

८. प्रदेश समाचार

कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने आन्तरिक सहमति गरेको हो ।

सार्वजनिक नगर्दै सुदूरपश्चिम सरकारको कार्यक्रम पुस्तिका (रातो किताब) लिक भएपछि सत्तारुढ दलले नै सरकारको विरोध गर्न थालेका छन् ।

कतिपयले छलफलमा नलग्दै अति महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गरिएको भन्दै आपत्ति जनाइरहेका छन् भने कतिपयले सार्वजनिक गरिएको रातो किताबमा आफ्ना योजना नपरेको भन्दै विरोध जनाइरहेका हुन् ।

९. असारे विकास

आर्थिक वर्षको अन्त्यमा सरकारले भुक्तानीलाई तीव्रता दिएको छ । असार १ गते यता ११ दिनमा मात्र सरकारले ५१ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएको छ । यो भनेको दैनिक औसत ४ अर्ब ६६ करोड बराबरको भुक्तानी हो ।

यो पनि

१०. ऋण प्रवाहमा खोट

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले मिलेमतोमा डुप्लिकेट करचुक्ता प्रमणपत्र स्वीकार गरेर ऋण प्रवाह गरेको भेटिएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठसहित सञ्चालक समितिका ७ जना सदस्यहरू मिलेर काभ्रे घर भएका रवीन्द्र चौलागाईं र निजको पारिवारिक कम्पनीहरूमा ऋण प्रवाह गरेका हुन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप