आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

बजेट विनियोजन प्रणाली परिवर्तन गर्छौ : मन्त्री थपलिया

बिहीबार, १३ असार २०८१, २१ : ०१
बिहीबार, १३ असार २०८१

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट विनियोजनको मोडल परिवर्तन गर्नुपर्ने बताएका छन् । परम्परागत रूपमा बजेट कार्यक्रम आउने गरेकाले त्यसको सुधार आवश्यक रहेको उनले बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश सरकारको बजेटमाथिको उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थपलियाले प्रदेशसभाका अधिकांश सांसदहरूको मत बजेट विनियोजन प्रणालीको परिमार्जनमा रहेको बताए । सोही आधारमा बजेट प्रणाली परिवर्तनमा अर्थ मन्त्रालयले काम गर्ने उनको भनाई छ ।

प्रदेश सरकारले चैतसम्ममा कार्यक्रम निर्धारण गर्नेगरी बजेट विनियोजनको परिमार्जित प्रणाली विकासमा मन्त्रालयले भूमिका खेल्ने उनले बताए । सो प्रणालीलाई प्रदेश सरकारको सम्पत्तिको रूपमा रहने गरी बजेट सन्तुलित बनाउन प्रयोग गर्ने उनले बताए । प्रदेश सरकारले सर्वदलीय समिति बनाएर बजेट निर्माण प्रक्रियालाई व्यवस्थित गर्न काम गर्ने मन्त्री थपलियाले बताए ।

उनका अनुसार प्रदेशका नागरिकको आवश्यकता र स्रोतका आधारमा बजेट सन्तुलित आएको छ । प्रदेश सरकारले बजेटको स्रोत निर्धारण गरे अनुसार राजस्व बाँडफाँडतर्फ जेठ मसान्तसम्म अनुमानित रकमको ५९ अर्ब ३१ करोड रुपैयाँ (९४.५९ प्रतिशत) प्रदेश सञ्चित कोषमा जम्मा भइसकेको उनले बताए । आन्तरिक आयतर्फ अनुमानको ८७.५ प्रतिशत रकम प्राप्त भइसकेको उनको भनाई छ ।

संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान बापतको रकममध्ये २५ प्रतिशत प्राप्त हुन बाँकी रहेको मन्त्री थपलियाले बताए । संघीय सरकारबाट बाँडफाँड हुने मूल्य अभिवृद्धि कर अनुमानभन्दा १० प्रतिशतले वृद्धिहुने देखिएको र समानीकरण अनुदान २.८७ प्रतिशत वृद्धि हुने उनको भनाई छ । उनका अनुसार प्रदेश सरकारको अनुमान भन्दा ३.६६ प्रतिशत बढी आए प्राप्त हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप