आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
परीक्षाफल

एसईई नतिजा : विद्यार्थी होइन, सरकार फेल !

शिक्षण सिकाई सुधार नहुँदासम्म नतिजामा सुधार आउँदैन : शिक्षाविद्
बिहीबार, १३ असार २०८१, २० : १०
बिहीबार, १३ असार २०८१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजालाई लिएर सरोकारवालाहरूले चिन्ता र चासो व्यक्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ४७.८७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।  ५२.१३ प्रतिशत विद्यार्थी ‘एनजी’ अर्थात अनुत्तीर्ण भएका छन् ।

शिक्षाविद् डाक्टर विष्णु कार्कीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको विद्यार्थी नभएर सरकार फेल हुनु भएको प्रतिक्रिया दिए ।

‘यो नतिजाबारे शिक्षामन्त्रीलाई नै सोध्नुपर्छ । शिक्षामन्त्री नचाहिने काममा हात हाल्दै हिँड्नुभयो । नतिजा खस्किँदै गर्दा शिक्षकको पछि लाग्नुभयो । शिक्षकले झोला बोक्यो भनेर हिँड्ने हो कि गुणस्तर सुधार गर्नतिर लाग्ने हो ? यस्ता गम्भीर विषयमा हात हाल्नुपर्थ्यो,’ उनले भने ।

कक्षा १० को एसईई खारेज गर्नुपर्नेमा उल्टै सरकारले नै हल्ला गर्दै हिँडेको उनको भनाइ छ । ‘हामीले विगतदेखि नै खारेज गर्नुपर्छ भन्दै आएका हौँ । कक्षा १२ सम्म माध्यमिक शिक्षा भनेको हो । तर, अझै पनि एसईई भनिएको छ,’ उनले भने ।

५२ प्रतिशत विद्यार्थीलाई अब कक्षा ११ पढ्न पाउँदैनस् भनिएको भन्दै उनले सरकारलाई लाज लाग्नुपर्ने तर्क गरे । ‘एउटै तहमा तँ पढ्न पाउँदैनस् भन्ने हो ? त्यसो हो भने कक्षा ९ किन पढ्यो ? कक्षा ८ किन पढ्यो ? किन फेल गरियो ? फेल गराउन पढाएका हौँ ? एउटै तहमा फेल गराउन पाउँदैन ?’ उनले प्रश्न गरे ।  

फेल भएको भनिएका विद्यार्थीहरूमा विभिन्न खालको मानिस असर पर्ने उनको भनाइ छ । यसले विद्यार्थी तथा अभिभावकको मात्रै नभई समग्र शिक्षा प्रणालीमा नै असर पर्ने बताए । 

अहिलेको नतिजाले शिक्षामा गरिएको लगानी खेर गएको उनको भनाइ छ । ५२ प्रतिशत विद्यार्थी फेल हुन भनेको शिक्षा प्रणाली नै असफल भएको भन्दै यसले अहिलेसम्म गरेको लगानी खेर गएको बताए ।

विद्यार्थीहरूको लर्निङ एचिभमेन्टमा ध्यान दिनुपर्नेमा शिक्षामन्त्री अन्यत्रै लागेको उनको बुझाइ छ ।

‘यो नतिजाले शिक्षा प्रणालीको पिक्चर दिन्छ । समग्र शिक्षा प्रणालीले नै काम गरिरहेको छैन । शिक्षकलाई मात्र दोष दिएर हुँदैन । समग्र शिक्षा प्रणाली नै काम गरिरहेको छैन,’ उनले भने, ‘शिक्षकले झोला बोक्यो भनेर मात्रै हिँडिरहेका छौँ । यो पनि ठिकै विषय हो । तर, यसमा शिक्षकले झोला बोक्न छोड्यो भने शिक्षाको गुणस्तर सुध्रिन्छ भनेर ग्यारेन्टी पनि दिन सकिँदैन ।’

भर्ना भएका अधिकांश विद्यार्थीलाई पास हुने ग्यारेन्टी गर्नुपर्ने अहिलेको चिन्तनको विषय रहेको उनको भनाइ छ । ग्रेडिङ सिस्टममा पनि पास फेल भन्ने हो र ? भन्दै उनले राज्यलाई प्रश्न गरे । 

‘हामीले त नतिजा निकालिदिने हो । लिने÷नलिने बजारलाई छोडिदिने हो । लेटर ग्रेडिङ राख्ने हो भने पास फेल केही नभन भनेको हो,’ उनले भने ।

कक्षा १० मा पढेको विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भन्ने गैरमानवीय र गैरकानुनी विषय भएको उनको भनाइ छ । 

परीक्षाको प्रणाली नै पटक पटक परिवर्तन हुनुले समेत शिक्षा प्रणाली समस्या परिरहेको बताए । ‘परीक्षा प्रणाली मनगढन्ते हिसाबले फेलबदल गरिरहेका छौँ । परीक्षा प्रणाली नेपालको लागि मात्र होइन । यो संसारकै लागि हुने हो । यहाँ पास भएको विद्यार्थी बाहिरकाले स्वीकार गर्छ कि गर्दैन भन्ने कुरा हो । कसैलाई मन लाग्यो भन्दैमा फेरबदल गर्न मिल्दैन । विगतको विभिन्न कारणले पढाइ भएनन् । पढाइ इम्प्रुभ गर्नुपर्छ,’ उनले भने ।

धेरै भन्दा धेरै टेष्ट लिएर विद्यार्थीको सिकाई नबढ्ने भन्दै उनले त्यसका लागि पेडागोजिकल इम्प्रुभ हुनुपर्ने बताए ।

अर्का शिक्षाविद् डाक्टर विनय कुसियतले शिक्षण सिकाई सुधार नहुँदासम्म नतिजामा सुधार आउन नसक्ने बताए । विद्यालय तह, शिक्षण सिकाई जस्ता विषयमा सुधार नगरी नतिजा राम्रो आउन नसक्ने उनको भनाइ छ। शिक्षण सिकाइका लागि शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने, सूचना प्रविधि मार्फत पठनपाठन गर्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीहरूको रुचि अनुसार सिकाई नभएको खण्डमा नतिजा राम्रो आएन भन्नुको कुनै अर्थ नहुने उनको भनाइ छ । शिक्षा क्षेत्रमा गरिएको लगानी समेत प्रयाप्त नभएको बताए ।

‘लगानी जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । शिक्षामा छुट्याएको बजेटको ८० प्रतिशत बजेट चालू खर्चमै जान्छ । पुजिगत खर्च जम्मा २० प्रतिशत मात्रै हुन्छ अनि शिक्षामा कसरी सुधार हुन्छ ?’ उनले प्रश्न गरे ।

अब नतिजाको सुधार ल्याउनको लागि बाल विकासदेखि नै ध्यान दिनुपर्ने बताए । ‘शिक्षण सिकाई प्रभावकारी बनाउन कक्षाकोठामा सुधार गर्नुपर्ने, शिक्षण तरिकामा सुधार गर्नुपर्याे । तलैबाट सुधार गर्नुपर्छ,’ उनले भने ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सिकाइको आधारमा नै नतिजा आएको बताए । नतिजा कमजोर आउनुमा विद्यार्थी भन्दा पनि शिक्षा प्रणाली कमजोर भएको उनको भनाइ छ ।

‘जस्तो सिकाइएको थियो, त्यस्तै नतिजा आयो । विद्यालयमा जे सिकाइएको थियो, त्यही आधारमा नतिजा आएको हो । विद्यार्थीले जे सिके त्यही लेखे र नतिजा पनि त्यही आधारमा आयो,’ भण्डारीले भने ।

अर्बौंको लगानी गरेर यस्तो नतिजा आउनु दुःखदायी भएको बताए । शिक्षण सिकाई पद्धतिका कारण विद्यार्थीहरू धेरै फेल भएको देखिएको उनको भनाइ छ । फेल÷पास गराउने पद्धतिले बालबालिकाहरूमा फेरि मनोवैज्ञानिक असर पर्ने उनको भनाइ छ ।

परीक्षा प्रणालीमा हुने पटक पटकको फेरबदलको कारण समेत यस्तो नतिजा आइरहेको बताउँदै उनले भने, ‘२÷३ वर्षमा परीक्षा प्रणालीमा फरबदल भइरहेको छ । संसारमै कहीँ नभएको सिस्टम हाम्रोमा हुन्छ । हरेक वर्षजसो नीति परिवर्तन गरिरहेका छन् ।’

यस्तो नतिजा आउनुको पछाडि स्थानीय सरकार बढी जिम्मेवार रहेको उनको भनाइ छ । ‘माध्यमिक तह सम्मको शिक्षाको दायित्व स्थानीय सरकारमा छ । स्थानीय सरकार समेत सुधार गर्नेतर्फ अघि बढेको देखिएन । सुधार हुनुपर्नेमा हरेक वर्ष जति लगानी गरेपनि यस्तै देखियो,’ उनले भने ।

विद्यार्थीहरूको रुचि तथा क्षमताको आधारमा नभई परम्परागत शैलीमा नै पठनपाठन हुँदा समेत विद्यार्थीले राम्रो गर्न सकेको उनको भनाइ छ । नतिजा सुधार गर्नका लागि कक्षा १० मात्रै सुधार गरेर नहुने भन्दै त्यसका लागि बालविकास देखिनै सुधार गर्नुपर्ने र विद्यार्थीमैत्री वातावरण बनाउनुपर्ने बताए ।

सरकारको दाबी नतिजा सुधारोन्मुख

नतिजा कमजोर देखिएपनि सरकारले भने नतिजा सन्तोषजनक रहेको बताएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले विगतको तुलनामा नतिजा समग्रमा राम्रो रहेको बताए । एनजी आउने ट्रेण्ड घट्नुका साथै ग्रेडेड विद्यार्थी बढेको उनको भनाइ छ ।

‘कतिपय विषयमा कुनै विषय कुनै विद्यार्थी एनजी हुने, कुनै विषयमा कुनै विद्यार्थी एनजी हुने भएकाले समग्रमा ग्रेडेड हुने विद्यार्थी बढेका छन् । राम्रो ग्रेडेड आउने विद्यार्थी बढेका छन् । यो राम्रो हो,’ अध्यक्ष शर्माले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) डाक्टर दीपक काफ्लेले परीक्षाको नतिजा नीतिगत सुधारको एजेण्डा भएको बताए ।

‘परीक्षाको नतिजा भनेको नीतिगत सुधार गर्ने एजेण्डा हो । त्यो हिसावले आज आएको नतिजाको विश्लेषण गर्छौ । बोर्डमा छलफल गरेर सरकारलाई सुझाव दिन्छौँ । विद्यालयका सुधारको एजेण्डामा गम्भीर भएर छलफल गर्नेछौं । बोर्डको चाडै बैठक बसेर काम अगाडि बढाउँछौँ । र सुधार गर्नुपर्ने विषय अघि बढाउँछौँ,’ सचिव काफ्लेले भने ।

परीक्षाको नतिजा सधैँ सुधारको विषय हुने भएको यसमा शैक्षिक व्यवस्थापनि तथा विद्यालयले गर्नुपर्ने सुधारका विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने बताए ।

‘यो म्याथमेटिकल विषय होइन । यो सामाजिक विषय हो । त्यसैले आउँदा दिनहरूमा शैक्षिक व्यवस्थापनमा र विद्यालयहरूले शिक्षण पद्धति सुधार गर्नको लागि केही न केही सूचना दिएको छ । यसमा हामी सुधार गर्छौ,’ सचिव काफ्लेले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप