आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

सक्कली प्रचण्डलाई भेट्ने क्यान्सर पीडित नक्कली प्रचण्डको धोको

बिहीबार, १३ असार २०८१, १९ : ४४
बिहीबार, १३ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम विगत एक वर्षभन्दा लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका छन् ।

बालकलाकारको रूपमा कलाकारिता सुरु गरेका उनले रंगमञ्च, सानोपर्दा र स्टेज कार्यक्रमहरूमा राम्रो प्राथमिकता पाइरहेका थिए । तर क्यान्सरका कारण उनी पछिल्लो समय कलाकारितामा फर्किन सकेका छैनन् । 

कलाक्षेत्रका सहकर्मी, विभिन्न संघसंस्थालगायतले गरेको आर्थिक सहयोगबाट अहिलेसम्म उनी आफ्नो उपचार गराउँदै आइरहेका छन् । तर ती सहयोग पर्याप्त हुन सकेको छैन ।

क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाखभन्दा बढी रकम खर्च गरिसकेका उनी थप उपचारका लागि आइतबार भारत जाने तयारीमा छन् । तर त्यहाँ कसरी उपचार गर्ने उनले सोच्नै सकेका छैनन् । अहिलेसम्म गौतमले कलाकर्मी, साथीभाइ र शुभचिन्तकबाट आर्थिक सहयोग पाउँदै आएपनि सरकारी तवरबाट कुनैपनि सहयोग पाउन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डसम्म कुरा पुग्दा सहयोग गर्ने आश्वासन पाएको थाहा पाएपनि अहिलेसम्म कुनैपनि सहयोग पाएको छैनन् । त्यसैले भारत जानुपूर्व एकपटक प्रचण्ड भेट्न पाए हुन्थ्यो भन्ने धोको उनमा छ । । तर त्यो वातावरण बन्न नसकेको उनी बताउँछन् ।

‘म १२, १३ वर्षदेखि प्रचण्डको अभिनय गर्दै आएको छु । उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ । के सहयोग भयो । सबैले सोध्नु हुन्छ’, उनले भने, ‘सहयोग गर्ने कुरो पनि गर्नु भएको छ । माया पनि गर्नु हुन्छ । तर अहिलेसम्म भेट्न पाएको छैन ।’ उपचारका लागि डिल्ली जानु अगाडि एकपटक भेट्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ । 

‘यो रोग यस्तो रैछ । आफै उपचार गर्न सम्भव नहुने रहेछ । हिजोसम्म कलाकारिता गर्थे, खान लाउन पुगेकै थियो’, उनले अगाडि भने, ‘कुन बेला के पर्छ भन्न नसकिने रहेछ । मेरो जीवनमा अचानक सुनामी आयो ।’ आफूले अहिलेसम्म हिम्मत नहारेको उनी बताउँछन् ।

‘म नक्कली प्रचण्ड भनेर सबैतिर चिनिन्छु । तर सक्कली प्रचण्ड एकपटक भेट्न पनि पाएको छैन र उहाँबाट सहयोग पनि मिलेको छैन’, उनले दुखेसो पोखे, ‘मेरो पहिचान उहाँबाट छ । उहाँबाटै अहिलेसम्म सहयोग मिलेको छैन । त्यसैले एकपटक उहाँलाई भेट्न चाहन्छु ।’ प्रधानमन्त्री प्रचण्ड सबैलाई माया गर्ने मान्छेको रूपमा आफूले चिनेको बताउने उनमा आफूलाई पनि माया गर्ने विश्वास छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप