आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ सम्पन्न

बिहीबार, १३ असार २०८१, १९ : २८
बिहीबार, १३ असार २०८१

सुर्खेत । लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।

उक्त सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए । उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो । 

आव २०७९/८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो । आव २०७९/८० को अन्तिमा प्रिफिजिबिलिटी’ अध्ययनका लागि  सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित इटिको–टिएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो । ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रिफिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ । 

‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए । जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ । 

अध्ययनअनुसार सुरुङ बनाउन करिब रु ३५ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने छ ।  

सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका  इन्जिनियर दीपक एकामीले बताए । कर्णाली प्रदेशको सबैभन्दा बिच भागमा जाजरकोट पर्छ । जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले सुरुङ मार्ग निर्माण भएमा साविकको कर्णालीको चौतर्फी विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । 

जाजरकोट र जुम्ला मात्र नभई कर्णालीकै समृद्धिसँग जोडिएको यो मार्गलाई छिटो निर्माण चरणमा लैजानुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए । यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लानुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप