आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
सम्बन्ध

नेपाल र चीनबिच किन बढ्दैछ उच्चस्तरीय भ्रमण ?

बिहीबार, १३ असार २०८१, १८ : ५३
बिहीबार, १३ असार २०८१

काठमाडौँ । नेपाल–चीनबिच उच्चस्तरीय भ्रमणमात्र होइन, सानातिना भ्रमण पनि बाक्लिएको छ । नेपालका राष्ट्रपतिदेखि लिएर अधिकांश प्रधानमन्त्री, मन्त्रीहरू, सांसद तथा शीर्ष नेताहरूदेखि लिएर कतिपय पार्टीका साधारण नेताहरू पनि चीन भ्रमण गरिसकेका छन् ।

अहिलेका उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको भ्रमण गरिसकेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपालले पटकपटक चीनको भ्रमण गरिसकेका छन् ।

एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (माले) का प्रायः शीर्ष नेताले चीनको पटकपटक भ्रमण गरेका छन् । कांग्रेस, जसपा, रास्वपालगायतका दलका नेताले पनि चीनको भ्रमण गरिसकेका छन् ।

उच्च तहदेखि अधिकृत तहसम्मका कर्मचारी, प्राध्यापकदेखि वकिल, पत्रकार, विद्यार्थीलगायत विभिन्न तह तप्काका व्यक्तिले चीनको भ्रमण गरिसकेका छन् ।

एउटा तथ्याङ्क अनुसार सन् २०२३ मा चीन सरकारको विभिन्न निमन्त्रणामा एक हजार तीन सय जना नेपालीले चीनको भ्रमण गरेका छन् । २०२४ त्यो सङ्ख्या निकै बढ्ने अनुमान गरिएको छ ।

नेपालबाट हुने यस्ता भ्रमणको सबै खर्च चीनले नै बेहोर्दै आएको छ । चिनियाँहरू नेपालमा आफ्नै खर्चमा आउँछन् भने नेपालबाट चीनमा हुने भ्रमणका लागि पनि आफैँ खर्च गरेर लगिरहेको हुन्छ ।

चीनबाट पनि नेपालमा भ्रमण हुने गरेको छ । तर नेपालबाट चीनमा हुने भ्रमणको तुलनामा चिनियाँ राजनीतिज्ञ र कर्मचारी, पेसाकर्मीको नेपाल भ्रमण भने कम नै देखिन्छ ।

यी भ्रमणको मुख्य उद्देश्य नै चीनले नेपालमा आफ्नो सम्बन्ध जनस्तरमा विस्तार गर्ने चाहनामा आधारित रहेको नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए । जनआस्था सप्ताहिका सम्पादकसमेत रहेका श्रेष्ठले यसरी भ्रमण हुनुको अर्को कारण भूराजनीति पनि रहेको बताए । तर त्यसभन्दा मुख्य कारण जनस्तरको सम्बन्ध विकास गर्ने उद्देश्य नै रहेको उनको भनाइ छ ।

नेपाल र चीनबिच धेरै पुरानो सम्बन्ध छ । चीनले यहाँ सानाठुला परियोनाहरूमा हात हालेको छ । ठुला राजमार्ग, जलविद्युत आयोजनादेखि लिएर सडक सञ्जालमा चीनको ठुलो योगदान छ तर जनस्तरमा सम्बन्ध नभएका कारण चीन कताकता पछाडि परेको देखिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

बीआरआइभन्दा एमसीसीको सम्झौता धेरैपछि भए पनि एमसीसी कार्यान्वयनमा आइसक्यो तर बीआरआइ अझै कार्यान्वयनमा आउन सकेको छैन । त्यसले गर्दा चीन झस्केको उनको भनाइ छ । ‘सायद हरेक क्षेत्रमा सम्बन्ध नभएर होला, जनस्तरसम्म एक अर्कालाई नबुझेर होला, भाषा, संस्कृति नबुझेर होला, एक अर्कालाई राम्रोसँग नबुझेर होला,’ उनले भने, ‘यी समस्या भएको बुझाइ चीनको छ । त्यही भएर हरेक क्षेत्रमा आफ्नो सम्बन्ध विस्तार गर्न चीन लागिपरेको छ ।’

 

 उच्चस्तरीय भ्रमणहरू

मंगलबार रातिमात्र नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा २९ सदस्यीय टोली १० दिनका लागि चीन भ्रमणमा निस्केको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनीहरू सो भ्रमणमा गएका हुन् । टोलीका नेता रिमालले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग भेटघाट गरिसकेका छन् । टोलीमा सबै जना एमालेका नेता छन् ।

uml

जेठ २८ गते एमाले, माओवादी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका २९ जनाको अर्को टोली चीन गएर असार ७ गते नेपाल फर्किसकेको छ । जेठ ९ गते माओवादी केन्द्रका नेतृ एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि चीन भ्रमणमा पुगेकी थिइन् ।

त्यसअघि एमालेकै नेतृ डा.अञ्जना शाक्य नेतृत्वको एक टोली चीन भ्रमण गरेर फर्किएको थियो । माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नौ दिने भ्रमण सकेर चैत १९ गते नेपाल फर्केका थिए । उनले २०८० सालमा दुई पटक चीनको भ्रमण गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २०८० कात्तिक २१ गते १५ जनाको टोली चीन भ्रमणमा गएर फर्केको थियो । त्यसअघि जेठ ५ गते माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन गएर फर्केको थियो ।

त्यसपछि साउन २५ गते माओवादीका महासचिव देव गुरुङ चीन भ्रमणमा गए । त्यस लगत्तै भदौ १७ गते एमालेका महासचिव शंकर पोखरलेको नेतृत्वमा २२ सदस्यीय टोली चीन गएर फर्कियो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड असोज ६ गते चीन पुगेका थिए भने असोज १३ गते उनी नेपाल फर्केका थिए ।  

प्रधानमन्त्री प्रचण्ड फर्केपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल असोज २९ गते चीन गएर कात्तिक ६ गते फर्के ।  

माओवादी केन्द्रमा उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन असार २७ गते चीन भ्रमणमा जान लागेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि चीन भ्रमण जाने तयारीमा छिन् ।

अन्य नेताहरूको पनि चीन भ्रमणको तयारी चलिरहेको छ । नेपालबाट चीन भ्रमण गर्नेमा अधिकांश कम्युनिस्ट पृष्ठभूमिका छन् । फाट्टफुट्ट रूपमा कांग्रेसलगायत अन्य दलका नेताहरू पनि चीन जाने गरेका छन् ।

चीन भ्रमणमा दलका नेताहरू मात्र होइन, निजामती कर्मचारीदेखि लिएर विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरू पनि जाने गरेका छन् ।

चिनियाँ पक्षको नेपाल भ्रमण

चीनका राष्ट्रपति सी चीनफिङदेखि लिएर प्रधानमन्त्री, विभिन्न मन्त्रीदेखि लिएर चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले पनि नेपालको भ्रमण गरिसकेका छन् । चीनका विभिन्न प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू एकपछि अर्को गरी नेपाल भ्रमणमा आएका छन् ।

बुधबारमात्र चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ आफ्नो तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किसकेका छन् । उपविदेशमन्त्री वेइडोङ मंगलबार सम्पन्न नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुनका लागि नेपाल आएका थिए ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ राष्ट्रिय सम्मेलनका उपाध्यक्ष बाटेर जेठ २९ गते नेपाल भ्रमणमा आएर फर्किसकेका छन् । जेठ ३० गते नै चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ नेपाल भ्रमण आएका थिए । उनी लुम्बिनीसम्म पुगेका थिए । गत पुस १९ गते चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साइ युगाङको नेतृत्वमा चीनको टोली नेपाल आएको थियो ।

गत वर्ष चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यनचाउ र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्याले नेपालको छुट्टाछुट्टै भ्रमण गरेका थिए । पोलिटब्युरो सदस्य युआन २५ सदस्यीय टोलीको नेतृत्व गरेर नेपाल भ्रमणमा आएका थिए । २०८० पुस १९ गते नेकपा एकीकृत समाजवादीको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तीय कमिटीका उपसचिव सी युगाङको नेतृत्वमा अर्को टोलीले नेपालको भ्रमण गरेको थियो ।

गत मंसिर ९ गते चीनले पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस–क्रन्ट्री प्रतियोगिताको आयोजना गरेको थियो । त्यसका लागि ७४ जनासहित १०४ जना चिनियाँ नेपाल आएका थिए । त्यसमा १७ जना स्वास्थ्यकर्मी नै थिए । यो प्रतियोगिताको सहआयोजक चीनकै यूनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल संघ पोखरा थियो भने सहयोगीमा १३ संघसंस्था रहेकोमा ९ वटा चाइनिज नै थिए । कोभिड–१९ को महामारीपछि २०७९ चैतमा चीनबाट पहिलो पटक चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ दूतावासले सन् २०२४ को नयाँ वर्ष नेपालमा साताव्यापी रूपमा मनाएको थियो । काठमाडौँदेखि पोखरासम्म विभिन्न कार्यक्रम मनाउँदा चीनबाट थुप्रै कलाकार आएका थिए । उनीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा.कल्याणराज शर्माले चीनले नेपालमा आफ्नो सम्बन्ध स्थापित गर्नका लागि यस्ता थुप्रै सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको बताए । जनताप्रति आफ्नो विश्वास जगाउन कहिले खेलकुद त कहिले सांस्कृतिक कार्यक्रम त कहिले विभिन्न महोत्सव तथा विचार गोष्ठी गर्दै आएको उनले बताए । चीनले नेपालमा जेजति गरिरहेको छ ती सबै नेपालसँग बलियो सम्बन्ध बनाउनका लागि मात्र रहेको उनको भनाइ छ ।

शर्माले भने, ‘जति आउजाउ हुन्छ, त्यति नै सम्बन्ध बलियो हुन्छ । आउन जान बन्द भयो भने भएका सम्बन्ध पनि विस्तार हुँदैन । त्यही भएर चीनले दुवैतर्फका भ्रमणहरूलाई तीव्रता दिएको हो ।’

यसमा भूराजनीतिको के स्वार्थ छ भन्ने आफूलाई थाहा नभए पनि सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध बनाउनका लागि चीनले हरसम्भव प्रयास गरिरहेको उनले बताए । उनले नेपाल–चीनबिच विभिन्न सम्झौता भइरहेको चर्चा गर्दै ती सम्झौताले दुवै देशको जनस्तरमा कस्तो प्रभाव पार्छ, त्यसलाई त्यहाँको जनताले कसरी बुझेको छ भन्नेबारे पनि चीनले ध्यान दिने गरेको बताए ।

हरेक सम्झौतापछि चीनले त्यसलाई फलोअप गर्दै आएको र त्यसमा बहस चलाउने गरेको बताउँदै अध्यक्ष शर्माले चीनले नेपालसँग विशेष सम्बन्ध बनाउन चाहेको बताए ।

तर नेपाल चीन मिडिया फोरमका अध्यक्ष श्रेष्ठले नेपालमा अमेरिका, भारत, युरोपियन युनियनको उपस्थितिले चीन झस्केको बताए । नेपालसँग चीनको १४ वटा सीमा नाका छन् र ती सबै तिब्बतसँग जोडिएका छन् । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चीनले नेपालको हरेक क्षेत्रमा आफ्नो सम्बन्ध विस्तार गर्न चाहेको उनले बताए ।

तिब्बतालाई लिएर चीन सधैँ सुरक्षाप्रति चिन्तित हुन्छ र त्यो नेपाल पक्षबाट बढी खतरा देखिएको कारण यहाँका जनतालाई विश्वासमा लिनका लागि चीन लागिपरेको उनले बताए ।

भारतभन्दा पुरानो सम्बन्ध नेपालको चीनसँग रहेको उनले बताए । अरनिको, भृकुटी, अंशुवर्मादेखिको पालादेखि नै नेपाल–चीन सम्बन्ध रहेको चर्चा गर्दै उनले त्यो सम्बन्धलाई चीनले अझै विस्तार गर्न लागेको बताए । चीनले नेपालमा थुप्रै विकास गर्न चाहन्छ तर विभिन्न क्षेत्रबाट बेलाबेलामा अवरोध आउने गरेको कारणले पनि चीनले नेपालसँग हरेक क्षेत्रमा आफ्नो सम्बन्ध बनाउन चाहेको उनको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप